काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बेच्ने समयसीमा नजिकिँदै गर्दा ‘ओन’ (Own) नामक नयाँ विकेन्द्रीकृत सामाजिक सञ्जाल एप सुरु गरेको छ । मङ्गलबारदेखि बेटा संस्करणमा उपलब्ध यो एप टिकटकको विकल्पका रूपमा आएको छ, जसमा छोटा भिडिओ, टेक्स्ट पोस्ट र तस्बिरका साथै डाइरेक्ट मेसेजिङ (डीएम) जस्ता सामान्य सामाजिक सञ्जालका सुविधा छन् ।

‘ओन’ को मुख्य विशेषता भनेको यसले ब्लकचेन प्रविधि र टोकन इकोनोमीको प्रयोग गरी बजारमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्य राखेको छ । अन्य सामाजिक सञ्जालहरूभन्दा फरक, यसमा कन्टेन्ट क्रियटरहरूले फलोअर सङ्ख्या वा पोस्ट सङ्ख्याको कुनै न्यूनतम आवश्यकता बिना नै आम्दानी सुरु गर्न सक्नेछन् ।
एपका सीईओ आमिर कल्तक र सीओओ काटिया जाइट्सेभले यसको विकास गरेका हुन् । जसले यसअघि वेब थ्री कम्पनी लेक्जिटको सह-स्थापना गरेका थिए । टिन्डर (Tinder) र बम्बल (Bumble) जस्ता प्रमुख डेटिङ एपहरूमा काम गरिसकेकी सारा मिक (सीओओ) पनि यस एपकी सह-निर्माता हुन् ।
$OWN टोकन र विश्वव्यापी भुक्तानीको अवसर

‘ओन’ को प्रमुख विशेषता भनेको ‘$OWN’ नामक टोकन हो, जुन भिडिओ इङ्गेजमेन्ट (video engagement) को आधारमा क्रियटरहरूलाई पुरस्कृत गरिन्छ र यो पूर्ण रूपमा व्यापार योग्य छ । यो एप बेस लेयर २ ब्लकचेनमा सञ्चालित छ, जसले सुरक्षित कारोबार र कन्टेन्टको स्वामित्व सुनिश्चित गर्दछ ।
कल्तकको भनाईमा यसले विश्वभरका क्रियटरहरूका लागि एउटा ठुलो परिवर्तन ल्याउनेछ । किनकि उनीहरूले आफ्नो स्थानको परवाह नगरी टोकनहरू कमाउन सक्नेछन् । कल्तकले टेकक्रन्चसँग भनेका छन्, “विश्वभरका अधिकांश क्रियटरहरूले प्रमुख सामाजिक प्लेटफर्महरूमा आफ्नो लोकेसनका कारण मनिटाइजेसनमा पहुँच पाउँदैनन् । ओनमार्फत हामीहरूले एक यस्तो प्रणाली बनाएका छौँ, जसले समान अवसर प्रदान गर्दछ र विश्वव्यापी रूपमा क्रियटरहरूका लागि वास्तविक आम्दानीको सम्भावना खोल्दछ ।”
क्रियटरहरूलाई वितरण गर्न प्लेटफर्मको केही आम्दानी एक्स्चेन्जबाट $OWN टोकन खरिद गर्ने कार्यमा प्रयोग गरिन्छ । कल्तकले यो कदमले क्रियटरहरूलाई निष्पक्ष रूपमा पुरस्कृत गर्दा खुला बजारमा टोकनको लागि सधैँ माग सिर्जना गर्ने र यसले दीर्घकालीन मूल्य स्थिरता र दिगोपनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
आम्दानीका अन्य स्रोत र आकर्षक लाभ
‘ओन’ मा क्रियटरहरूले टिपिङ, स्पोन्सरशिप र ‘ओन शप’बाट पनि कमाउन सक्छन्, जुन टिकटकमा रहेको शप जस्तै हो । क्रियटरहरूले अन्य प्लेटफर्महरू भन्दा यसबाट ५०% बढी कमाउन सक्ने बाचा गरेको छ । विशेष गरी, टिपिङको हकमा ‘ओन’ ले आम्दानीको २०% मात्र लिन्छ, जबकि टिकटकले ५०% लिन्छ । स्पोन्सरशिपको हकमा क्रियटरहरूले ९०% आम्दानी राख्छन् र ‘ओन’ ले १०% मात्र लिन्छ । ‘ओन शप्स’ मा भने क्रियटरहरूलाई ९५% आम्दानी प्राप्त हुन्छ, ओनले केवल ५% मात्र लिन्छ । यसरी क्रियटरहरू कम्पनीले अधिकतम लाभ प्रदान गर्ने योजना बनाएको छ ।
कन्टेन्ट लाइसेन्सिङ पनि आम्दानीको अर्को महत्त्वपूर्ण स्रोत हो । ब्लकचेनमा ट्य्राक गरिएको प्रमाणित स्वामित्व र स्रोतका कारण क्रियटरहरूले आफ्नो अधिकार कायम राख्दै आफ्नो सामग्रीको लाइसेन्स दिन सक्छन् । उदाहरणका लागि, क्रियटरहरूले आफ्नो सामग्री ब्रान्डहरूलाई मार्केटिङ अभियानहरूमा प्रयोगका लागि बिक्री गर्न सक्छन् र ९०% आम्दानी कमाउन सक्छन् । जब कि ‘ओन’ ले यसबाट १०% मात्र कमिसन लिन्छ ।
नयाँ र्याङ्किङ सिस्टम र पारदर्शिता
यो एपको र्याङ्किङ प्रणाली पनि निकै रोचक छ । दर्शकहरूले रेडिटजस्ता प्लेटफर्महरूमा रहेको अपभोट वा डाउनभोट जस्तै यसमा पनि कन्टेन्ट माथि वा तल एरो थिचेर भोट दिन सक्छन् । धेरै अपभोट पाउने क्रियटरहरू लिडरबोर्डमा माथि चढ्न सक्छन् र बढी एक्स्पोजर प्राप्त गर्न सक्छन् ।
सारा मिकले टेकक्रन्चसँग भनेकी छिन्, “आफ्नो सामग्रीको स्वामित्व, उपभोक्ताको एजेन्सी, विश्वव्यापी समान भुक्तानी, भाइरल हुने समान अवसर, अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्ने, र आत्म-अभिव्यक्ति र निष्पक्ष भुक्तानी मार्फत मानिसहरूलाई सशक्त बनाउने कुराहरू हालको सामाजिक सञ्जालका समस्याहरूलाई सच्याउने दिशामा छन् ।”
उपलब्धता र आगामी योजना
‘ओन’ एप हाल एप्पलको एप स्टोर र गुगल प्ले स्टोर मा नि:शुल्क रूपमा उपलब्ध छ । कम्पनीले ४०,००० भन्दा बढी मानिस वेटलिस्टमा रहेको दाबी गरेको छ । हालसम्म, यो स्टार्टअपले सारा मिक, माइकल टर्पिन (ट्रान्सफर्म भेन्चर्स), साबा क्यापिटल, बेस स्पिन क्यापिटल, र स्टोका ग्लोबल लगायतका लगानीकर्ताहरूबाट ५० लाख डलरभन्दा बढी रकम जुटाएको छ ।
टोकन समेत समावेश मनिटाइजेसन फिचर आगामी जुलाई र सेप्टेम्बरको बीचमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसैबिच, ‘ओन शप’ अक्टोबर र डिसेम्बरको बीचमा बेटाको रूपमा रोल आउट हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १९:०
सामाग्री श्रोत :
टेक पाना