काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार बुधबार अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको हो । बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतमाथि टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने खालका सामग्री पोस्ट गर्दै आएको आरोप लागेको छ । विशेषगरी, उनले सत्तारुढ दल र तिनका नेताहरूविरुद्ध भिडिओ बनाउँदै आएकी थिइन् ।
उनी असार १ गते पक्राउ परेकी थिइन् । त्यसपछिको प्रारम्भिक तीन दिनको म्याद सकिएपछि बुधबार पुनः तीन दिनको म्याद थपिएको हो । प्रहरीका अनुसार अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

बस्नेत पक्राउ परेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन् । केहीले उनको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको रूपमा लिएका छन् भने केहीले सामाजिक सञ्जालको दुरुपयोग गरेर नेताहहरूको मानहानि गरेकाले कानुनी कठघरामा आएको टिप्पणी गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १२:०
सामाग्री श्रोत :
टेक पाना