काठमाडौँ । ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको आरोपसहितको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्यसप्रति आपत्ति जनाउँदै आफूविरुद्ध सुनियोजित चरित्रहत्या भइरहेको आरोप लगाएकी छन् ।

श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूले कसैलाई अख्तियारमा उजुरी दिन भनेको वा निर्देशन दिएको कुरा पूर्णतः गलत र भ्रामक भएको दाबी गरिन् ।
सार्वजनिक भिडिओमा सांसद श्रेष्ठले ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको, उजुरीको निवेदन लेखिदिएको र त्यसमा गृहमन्त्री रमेश लेखकको समेत नाम उल्लेख गर्न लगाएको आरोप लगाइएको थियो ।
“मेरो निर्देशनमा यस्तो काम भयो भन्ने अफवाहप्रति खेदप्रकटसहित खण्डन गर्दछु । यो मेरो चरित्रहत्या गर्न गरिएको सुनियोजित प्रयास हो,” उनले भनेकी छन् ।

“जनप्रतिनिधिको हैसियतले जनताको गुनासो सुन्नु मेरो कर्तव्य हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “मैले उहाँहरूको समस्या सुनेर कानुनी उपचारतर्फ जान सुझाव दिएलगत्तै संसद भवनतर्फ लागेकी थिएँ ।”
उनले व्यक्तिले व्यक्तिलाई ठगी गरेको मुद्दा अख्तियारको क्षेत्राधिकारमा नपर्ने र यस्तो सुझाव दिनु पीडितलाई थप पीडा दिनुसरह हुने तर्क गरेकी छन् । “असम्बन्धित निकायमा उजुरी गर्दा पीडित पुनः पीडित हुन्छन् र पैसा फिर्ता पाउने प्रक्रियामा कुनै प्रगति हुँदैन । यस्तो सुझावले उल्टै पीडितलाई थकाउने काम मात्र हुन्छ,” उनले भनेकी छन्।
सांसद श्रेष्ठले यस्तो गलत कार्य रास्वपाको कार्यालयमा भएको हो भने त्यसबारे छानबिन हुनुपर्ने मागसमेत गरेकी छन् । उनले यस विषयमा पार्टीका कार्यवाहक सभापतिलाई ध्यानाकर्षण गराइसकेको र पार्टीले सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको जानकारी दिएकी छन् ।
उनले मानव तस्करी जस्तो जघन्य अपराधसँग जोडिएको भिजिट भिसा प्रकरणलाई विषयान्तर गर्न र पीडकलाई जोगाउन यस्ता गतिविधिहरू भएको हुन सक्ने आशंका व्यक्त गरेकी छन् । “न्यायमा अड्चन गराउने तथा पीडकहरूलाई जोगाउन गरिने कुनै पनि किसिमका प्रयासहरूप्रति मेरो गम्भीर आपत्ति छ,” उनले भनेकी छन् ।
यसअघि संसदमा बोल्दै गृहमन्त्री रमेश लेखकले रास्वपालाई संकेत गर्दै पार्टी कार्यालय किर्ते र जालसाँजीपूर्ण पीडित तयार गर्ने थलोमा परिणत हुँदै गएको आरोप लगाएका थिए । पार्टी कार्यालयमा नक्कली पीडित बोलाएर आफ्नो विरुद्ध जाहेरी दर्ता गराउने काम भइरहेको भन्दै उनले यस्ता काममार्फत राजनीतिक उद्देश्य पूरा गर्न नलाग्न चेतावनी दिएका थिए ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ ७:३९
सामाग्री श्रोत :
टेक पाना