काठमाडौँ । मधेस प्रदेशले सम्पूर्ण यातायात व्यवस्था कार्यालयहरूमा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले यस्तो योजना सार्वजनिक गरेकी हुन् ।

“मधेस प्रदेशका सबै यातायात व्यवस्था कार्यालयमा अटोमेटिक ट्रायल सेन्टर स्थापना र स्मार्ट लाइसेन्सको छपाइको व्यवस्था मिलाइनेछ,” उनले भनेकी छिन् । साथै राजमार्गका विभिन्न स्थानमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापनाका लागि सङ्घीय सरकारसँग समन्वय गरी प्रक्रिया समेत अघि बढाइनेछ ।
यसका साथै विकट क्षेत्रमा बस्ने बिरामीका लागि टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याउने घोषणा समेत प्रदेश सरकारले गरेको छ । स्वास्थ्य सेवा सुलभ रूपमा नपाएका नागरिकका लागि यस्तो सेवा सुरु गरिनेछ ।
“स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित बिरामीहरूलाई सञ्चार प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकको परामर्श उपलब्ध गराउन तथा स्वास्थ्य सेवाको डिजिटल अभिलेख राखी सेवा प्रवाह गर्न टेलिमेडिसिन र ई-हेल्थ प्रणाली सञ्चालन गरिनेछ,” प्रदेश प्रमुख सुवेदीले भनिन् ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २०:५७
सामाग्री श्रोत :
टेक पाना