२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

भागदौडमा ११ जनाको ज्यान गएपछि एक्सको ट्रेन्डिङमा ‘अरेस्ट कोहली’

काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’मा पछिल्लो २४ घण्टादेखि #ArrestKohli र #ShameOnRCB ह्याशट्याग ट्रेन्डिङमा छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) विजयी बनेसँगै उत्सव मनाउने क्रममा भागदौड मच्चिँदा ११ जनाको ज्यान जानुका साथै सयौँ घाइते भएपछि भारतमा यस्तो अभियान चलेको हो । 

बुधबारको उक्त घटनापछि आरसीबीका ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहली आफ्नी श्रीमती अनुष्का शर्मासँगै मुम्बई विमानस्थलमा देखिएका थिए । कोहलीको लन्डन उडानअघि हतारमा उत्सव मनाउन खोज्दा यस्तो घटना निम्तिएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।

आरसीबीले १८ वर्षको लामो प्रतीक्षापछि मङ्गलबार पञ्जाब किङ्ग्सलाई हराएर आफ्नो पहिलो आईपीएल उपाधि उचालेको थियो । त्यसको भोलिपल्ट टिमले आफ्ना समर्थकसँग खुसियाली साट्न चिन्नास्वामी स्टेडियममा एक कार्यक्रम आयोजना गरेको थियो । तर, त्यही कार्यक्रमको उत्सव दुःखद् घटनामा परिणत भयो ।

स्टेडियमभित्र र बाहिर समर्थकको भीड अनियन्त्रित हुँदा र टिकट वितरणमा भएको अलमलले गर्दा भागदौड मच्चियो । उक्त भागदौडमा परी ११ जना समर्थकले ज्यान गुमाए भने कैयौँ घाइते भए । वर्षौँदेखि आफ्नो प्रिय टिमको जितको उत्सव मनाउन प्रतीक्षा गरिरहेका समर्थकका लागि यो खुसियाली क्षणभरमै त्रासदीमा बदलियो ।

यो घटनापछि देशभर आक्रोश फैलियो । यसको मुख्य जिम्मेवार को हो ? टिम ? खेलाडी ? फ्रेन्चाइज ? आयोजक ? क्रिकेट बोर्ड ? प्रहरी ? वा सरकार ? लगायतका प्रश्न उठिरहेका छन् । भीड व्यवस्थापन र समन्वयमा भएको कमजोरीलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ र एक-अर्कालाई दोष दिने क्रम चलिरहेको छ ।

बेङ्गलुरु प्रहरीले सुरुमा विजय उत्सव मनाउन अनुमति दिन आनाकानी गरेको खुलासा भएपछि समर्थक झनै आक्रोशित भएका थिए ।

एक ‘एक्स’ प्रयोगकर्ताले #ArrestKohli ह्याशट्याग राख्दै लेखेका छन्, “के विराट कोहलीले ज्यान गुमाएका फ्यानका परिवारलाई भेटे ? के उनले लन्डन यात्रा केही समय रोकेर ती लोयल फ्यानका परिवारलाई भेट्न सक्दैनथे ? उनी यति अमानवीय कसरी हुन सक्छन् ? कि उनी आफ्नो मानवीयता दीपावलीको विज्ञापनमा मात्र देखाउँछन् ?”

अर्का प्रयोगकर्ताले त्यसरी नै ह्याशट्यागसहित लेखेका छन्, “फ्रेन्चाइज लिग जित्दा उनी रोए । तर आफ्नै फ्यानको मृत्यु हुँदा उनको आँसु कहाँ गयो ? विराट कोहली, तिमीले हाम्रो मनबाट सबै सम्मान गुमायौ । लन्डन जान हतार गर्ने उनको निर्णयले फ्यानको ज्यान गयो ।”

त्यस्तै अर्का एक प्रयोगकर्ताले थपेका छन्, “उनीहरूले विजय जुलुस मागे । तर, सडक उत्सवले होइन, रगतले रातो भयो । मानिसहरू मरे । तर कोहली ? केही नभएजस्तो गरी लन्डन गए । यो जित होइन, यो एउटा दाग हो । त्रासदीमा डुबेको ट्रफी ।”

यद्यपि केही समर्थकले भने कोहलीको बचाउ गरेका छन् । उनीहरूले यो दुःखद घटनाका लागि खेलाडीलाई दोष दिनु अन्यायपूर्ण भएको बताएका छन् । एक समर्थकले लेखेका छन्, “जब उनी शतक बनाउँथे, सबैले उनको नामको जयजयकार गर्थे । अहिले भीड व्यवस्थापनको दोष उनलाई दिइरहेका छन् । विराट कोहली कार्यक्रम सकिएपछि मात्र गएका हुन् । यो घृणित नाटक बन्द गर । #ArrestKohli — केका लागि ? सास फेरेकोमा ?”

आरसीबीको ऐतिहासिक जितलाई यो दुःखद घटनाले छायामा पारेको छ । खेलाडीले समर्थकप्रति सहानुभूति देखाउन चुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १८:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट