काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा सन्तोष पौडेल चुनिएका छन्। उपाध्यक्षमा उम्मेदवारी दिएका उनलाई एमाले नेताहरुले अध्यक्षमा नियुक्त गरेका हुन्।
राजधानीमा शनिबारदेखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनमा एमाले नेता भानुभक्त ढकाल र कृष्णगोपाल श्रेष्ठले हस्तक्षेप गरेर उनीहरुको चित्तमा परेकाहरुलाई विभिन्न पद बाँडफाँट गरेका छन्।
जसअनुसार अध्यक्षमा उम्मेदवारी दिएका भीमराज सिंह महासचिव पदमा चयन भएका छन्। उनी यसअघि उपाध्यक्ष थिए ।
महासचिवमा उम्मेदवारी दिएकी अमृता बराल उपाध्यक्ष बनेकी छिन्। त्यस्तै रामहरी ढकाल पनि उपाध्यक्ष भएका छन्।
उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसीलाई नियुक्त गरिएको छ।
सुरुमा ९ पदाधिकारी घोषणा गरिएको थियो। हलले नै अस्वीकार गरेपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
अध्यक्ष मण्डलमा रहेका ढकाल, श्रेष्ठले फेरि निर्वाचन समितिलाई समेत पेलेर मनमर्जी गरेका हुन्।
निर्वाचन समितिको बिज्ञप्ति, बैधानिकतामाथि प्रश्न
नेताहरुले मनमर्जी गरेको भन्दै निर्वाचन समितिले बिज्ञप्ति निकालेको छ। समितिले घोषणा गरिएकाहरुलाई निर्वाचित भएको प्रमाण पत्र दिन समेत अस्वीकार गरेको छ।
हाललाई निर्वाचन स्थगित भएको बिज्ञप्ति निकालेको छ। बिज्ञप्तिमा भनिएको छ, ‘सर्वसम्मतीको लागि पहल गर्ने भनि यस निर्वाचन समिति समक्ष पटक-पटक समय माग गर्नुभई निर्वाचन समितिले यथेस्ठ रुपमा समय उपलब्ध गराउँदा गराउँदैको अवस्थामा निर्वाचन समितिलाई कुनै थाहा जानकारी नगराई नदिई एकलौटी तवरवाट नेकपा एमालेको पार्टी विधान तथा नियमावलीको व्यवस्था विपरित हुने गरी नाम घोषणा गरिएको हुँदा उक्त घोषणा पार्टी विधान तथा नियमावली र महासंघको विधान समेतको विपरित भएकोले यस निर्वाचन समितिको बैठकको निर्णय अनुसार हाललाई प्रस्तुत निर्वाचन कार्यक्रम अगाडी वढाउन नसकिएको हुँदा अर्को व्यवस्था नभए सम्मको लागि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको वाँकी निर्वाचन प्रकृया तथा कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।’
सामाग्री श्रोत :
swasthyakhabar

