काठमाडौँ । स्पेसएक्सको विशाल रकेट स्टारशिपको नवौं परीक्षण उडान असफल भएको छ । टेक्ससको स्टारबेसबाट मंगलबार साँझ (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) प्रक्षेपण गरिएको ४०३ फिट अग्लो रकेट केही समयमै अनियन्त्रित भई टुक्रिएर समुन्द्रमा खसेको हो । यसअघिका दुई परीक्षण उडानमा यस्तै दुर्घटना भएको थियो ।
एलन मस्क नेतृत्वको स्पेसएक्सले उडानपछि केही नक्कली स्याटलाइट छोड्ने योजना बनाएको थियो । तर रकेटको ढोका पूर्ण रूपमा नखुलेपछि त्यो योजना असफल भयो ।
उडानका क्रममा यान अन्तरिक्षमा पुग्ने क्रममा अनियन्त्रित ढंगमा घुम्न थालेको थियो । त्यसपछि यानमा इन्धन चुहावट भई नियन्त्रण गुम्यो र अन्ततः हिन्द महासागरमा टुक्रियो । स्पेसएक्सले यान अनपेक्षित रूपमा टुक्रिएको पुष्टि गर्दै अर्को परीक्षणका लागि डेटा विश्लेषण गर्ने बताएको छ ।
यसपटकको परीक्षणमा पहिले जस्तै ‘चपस्टिक’ नामक उपकरण प्रयोग गरेर बुस्टर समात्ने योजना थिएन । बुस्टरसँग सम्पर्क गुमेपछि त्यो पनि टुक्रिएर गल्फ अफ मेक्सिकोमा खसेको बताइएको छ ।
यसअघि भएका दुई परीक्षण पनि क्यारिबियन क्षेत्र पार गर्न नपाउँदै असफल भएका थिए । कुनै मानवीय क्षति भने भएको छैन । उडानका लागि संघीय उड्डयन प्रशासनले गत हप्ता अनुमति दिएको थियो र उडान समय हवाई यातायात कम हुने समयमा तय गरिएको थियो ।
यो रकेट भविष्यमा चन्द्रमा र मंगल यात्राका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ । नासाले सन् २०२७ मा दुई अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमाथि पुर्याउन स्टारशिप प्रयोग गर्ने तयारी गरिरहेको छ । त्यसका लागि स्पेसएक्सले अझै धेरै प्रगति गर्नुपर्ने देखिएको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।