काठमाडौं- नेपाल फर्मास्यूटिकल एसोसिएसनले फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै रौतहटको राजपुरमा अनुगमनमा गएका टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा नल्याएमा कडा कदम चाल्न बाध्य हुने जनाएको छ।
‘आक्रमणमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन हामी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रौतहट र नेपाल प्रहरी सँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि राज्य एस घटनाका दोषीहरुलाई कानुनी कठघरामा ल्याउन तदारुकताका साथ नलागे हाम्रो एसोसिएसन कडा कदम चाल्न बाध्य हुने छ।’
फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्। घटनामा फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका थिए।
एसोसिएसनले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनाले स्वास्थकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरुको मनोबल गिराउने काम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
एसोसिएसनले दर्ता बिना सञ्चालित फार्मेसीप्रति शून्य सहनशीलता रहने र सदैव कानुनी र वैज्ञानिक ढंगले सञ्चालित फार्मेसीहरूको पक्षमा रहने विषय पनि विज्ञप्ति मार्फत प्रस्ट पारेको छ।
‘बिना दर्ता औषधि कारोबार गर्ने व्यक्तिहरूले व्यवसायिक मर्यादा भङ्ग गर्दै आम नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेका छन्, जुन क्षम्य छैन। साथै, हाम्रो एसोसिएसन अनुगमन प्रक्रिया अझ सशक्त र सुरक्षित बनाउन राज्य संग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
रौतहट जिल्ला, राजपुर नगरपालिका–४ मा २०८२ साल जेठ ५ गते औषधि व्यवस्था विभाग, क्षेत्रीय कार्यालय वीरगञ्ज प्रमुख तथा नेपाल फर्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष श्री शम्भु शाहको नेतृत्वमा, नेपाल प्रहरी सम्मिलित फार्मेसी अनुगमन टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरी दुई जना फर्मासिस्ट साथीहरु घाइते भएको घटनाप्रति हाम्रो एसोसिएसनको गहिरो चिन्ता र दुःखका साथ घोर भर्सना सहित घाइतेसाथीहरुको स्वास्थ्य लाभाको कामना गर्दछौं । कानूनी राज्य विहीनताको आभास गराउने गरि घटेको यस घटनाले स्वास्थकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरुको मनोबल गीराउने काम गरेको छ ।
हाम्रो एसोसिएसन यसै प्रेस विज्ञप्ति मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण पनि गराउन चाहन्छौ । साथै आक्रमणमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन हामी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रौतहट र नेपाल प्रहरी सँग जोडदार माग गर्दछौ। यदि राज्य एस घटनाका दोषीहरुलाई कानुनी कठघरामा ल्याउन तदारुकताका साथ नलागे हाम्रो एसोसिएसन कडा कदम चाल्न बाध्य हुने छ ।
साथै दर्ता विना सञ्चालित फार्मेसीप्रति हाम्रो एसोसिएसनको शून्य सहनशीलता रहने र सदैव कानुनी र वैज्ञानिक ढंगले सञ्चालित फार्मेसीहरूको पक्षमा यस एसोसिएसन रहने व्यहोरा प्रस्ट पार्न चाहन्छौ । बिना दर्ता औषधि कारोबार गर्ने व्यक्तिहरूले व्यवसायिक मर्यादा भङ्ग गर्दै आम नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेका छन्, जुन क्षम्य छैन। साथै, हाम्रो एसोसिएसन अनुगमन प्रक्रिया अझ सशक्त र सुरक्षित बनाउन राज्य संग जोडदार माग गर्दछ ।
नेपाल फर्मास्यूटिकल एसोसिएसन सधैं फार्मेसी पेशा तथा व्यवसायलाई मर्यादित, पारदर्शी, उत्तरदायी र सुरक्षित बनाउन प्रतिबद्ध छ। हामी देशभरका फार्मेसी व्यवसायीहरूलाई सम्बन्धित कानुन, नियमन र आचारसंहिता अनुसार व्यवसाय सञ्चालन गर्न आह्वान गर्दछौं। एक स्वस्थ्य समाज निर्माणका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी बोध गर्न आवश्यक छ। यस्ता आपराधिक तथा गैरकानुनी गतिविधि विरुद्ध सम्पूर्ण सरोकारवाला तथा सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं।
सामाग्री श्रोत :
swasthyakhabar

