२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

बाढी-पहिरो आउनु पहिले सूचना दिने डिभाइस राख्न सोलुखुम्बुमा स्थलगत अध्ययन

काठमाडौँ । बाढी र पहिरोको पूर्वसूचना प्रणाली विकास गर्न जापानी र नेपाली प्राविधिक टोलीले सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा स्थलगत अध्ययन सम्पन्न गरेका छन् । एसिया-प्यासिफिक टेलिकम्युनिकेसन (एपीटी) मार्फत जापान सरकारको अनुदानमा सञ्चालित परियोजनाअन्तर्गत टोलीले सम्भावित परीक्षणस्थलहरूको अवलोकन गरेको हो ।

उक्त प्रणालीमा इन्टरनेट अफ थिङ्स (आईओटी) मा आधारित सेन्सर, क्यामेरा र अन्य प्रविधिको प्रयोग गरी बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपको समयमै सूचना प्राप्त हुने बताइएको छ । यसका लागि क्षेत्रगत ज्ञान भएका विज्ञहरूसँग परामर्श गरेर पूर्वसूचना प्रणालीमा आवश्यक पारामिटरहरू निर्धारण गर्ने र त्यस अनुरूप डेटा सङ्कलन तथा प्रणाली विकास गरिने उक्त परियोजनामा संलग्न अनुसन्धानकर्मी डा. वेद काफ्ले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

जापानको सरकारी अनुसन्धान एजेन्सी एनआईसीटीमा अनुसन्धान प्रबन्धक समेत रहेका उनले सोलुखुम्बुमा फिल्ड परीक्षणका लागि यसै वर्षभित्रै एक प्रोटोटाइप तयार पारिने योजना रहेको उल्लेख गरे । उनका अनुसार स्थलगत भ्रमणका क्रममा सेन्सर र उपकरणहरू जडान गर्न मिल्ने सम्भाव्य स्थानहरूको अवलोकन गरिनुका साथै भूगोल, समाज र इतिहाससम्बन्धी जानकारी समेत सङ्कलन गरिएको छ ।

परियोजनामा नेपाल सरकार विशेषगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीतिगत सहयोग प्रदान गरिरहेको छ । मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिवद्वय कोश हरि निरौला र आदेश खड्का तथा फोकल पर्सन उपसचिव कृष्ण सुवेदीले यस परियोजनामा सहकार्य गरेका छन् ।

स्थानीयस्तरमा माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईसहित उपाध्यक्ष, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि अधिकृत, रोजगार संयोजन अधिकृतलगायतको सहकार्य रहेको छ ।

परियोजनामा आईसीटी फर डेभलपमेन्ट संस्थाका अध्यक्ष मनोहर भट्टराई, उपाध्यक्ष डा. भूषण राज श्रेष्ठ, सीईओ पवन शाक्य, सीटीओ अभिमन्यु पाण्डे, बोर्ड सदस्य सुरज डंगोल र व्यवस्थापनमा संलग्न व्यवसायी नूतन श्रेष्ठको समेत भूमिका रहेको जनाइएको छ ।

जापानका तर्फबाट केडीडीआई फाउन्डेसनका तोशीहिरो कानेको र तोशीकाजु युरुगी तथा एनसीआईटीका यासुनोरी ओवादाले भ्रमणमा सहभागिता जनाएका थिए । १५ घण्टाको काठमाडौंदेखि सल्लेरीसम्मको यात्रा र त्यसपछिको पहाडी यात्रा कठिन भएपनि उनीहरूको धैर्यता र समर्पण उल्लेखनीय रहेको परियोजनाका सहभागीहरूले जनाएका छन् ।

परियोजनाको पहिलो चरण सम्पन्न भइसकेको र आगामी चरणमा प्रणाली जडान तथा परीक्षण कार्य अघि बढाइने जनाइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १९:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट