२०८२ जेष्ठ ५ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ ५ आईतवार

सत्ता समीकरण परिवर्तनको प्रयास जारी

काठमाडौं। संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको वर्तमान सत्ता गठबन्धन परिवर्तनको प्रयास जारी छ।

मुख्यगरी प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकार परिवर्तनको निरन्तर प्रयासमा रहेका छन्।

वर्तमान गठबन्धन परिर्वतनको प्रयासमा प्रचण्डलाई अन्य विपक्षी दलहरूले पनि अप्रत्यक्ष ढंगले साथ दिइरहेका छन्। त्यसो त सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र ठूलो पंक्ति सरकारका काम कारबाहीप्रति रुष्ट छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण कांग्रेसका प्रभावशाली नेताहरू समेत वर्तमान सरकार लामो अवधि जान नहुने निष्कर्षमा पुग्न थालेका छन्।

सत्तारूढ दलको प्रमुख घटक कांग्रेसभित्रको असन्तुष्टि र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्षको एकपछि अर्को प्रयासका बाबजुद सत्ता समीकरणको प्रयासले सार्थकता भने पाउन सकेको छ।

पछिल्लो समय गठबन्धनका दुई दल कांग्रेस र एमालेबीच चुलिएको खटपटकाबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन सम्वाद भएको छ।

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् ।

प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवासँग कुराकानी भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘मैले डडेल्धुरामा न्यानो स्वागत पाएको सुनाए। म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो। डडेल्धुरामा स्वागत भन्नुभएको छ।’

उनले फोन वार्तामा थप के कुराकानी भयो ? भनेर केही खुलाएनन्। प्रचण्डले कांग्रेसका पुराना नेताहरूसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको जानकारी दिए। २०७९ को निर्वाचनपछि प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस पटक-पटक सत्ता साझेदार दलको भूमिकामा छ।

यसबीचमा कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई पालैपालो प्रधानमन्त्रीका रूपमा समर्थन गरेको छ। गतवर्ष असार १७ गते नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार अब १४ महिनापछि कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनेछ । यद्यपि, प्रमुख तीन दलबीच गठबन्धन केन्द्रित विभिन्न गतिविधि भइरहेका छन् ।

माओवादी केन्द्रकै नेताहरू अहिलेको गठबन्धन आफ्नै भारले ढल्ने दाबी गरिरहेका छन् । यिनै आशंकाबीच शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई डडेल्धुरा पुगेर फोन गरेका हुन्।

यसअघि १५ मंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष ओलीले मेची–महाकाली अभियानको सिलसिलामा देउवाकै गृहजिल्ला डडेल्धुरा पुगेर फोनमा कुराकानी गरेका थिए। ओलीकै सोही फोन कूटनीतिअनुसार नै प्रचण्डले शुक्रबार देउवासँग टेलिफोन वार्ता गरेका हुन्।

संयोग त के छ भने ओलीले डडेल्धुराबाट देउवालाई फोन गरेको दिन शुक्रबार थियो। प्रचण्डले पनि शुक्रबार नै फोन गरेका छन्। अर्को दुवै नेताले आफ्नो पार्टीको राजनीतिक अभियान लिएर डडेल्धुरा पुगेको समयमा देउवालाई फोन गरेका हुन्।

अर्को संयोग भनेको दुवै नेताले आफू प्रमुख प्रतिपक्षी दलको नेता रहँदा सत्ताको प्रमुख साझेदार दलको नेताका हैसियतमा रहनुभएका देउवासँग वार्ता गरेका हुन्। २०८० मंसिर १५ गते ओलीले डडेल्धुराबाट देउवालाई फोन गर्दा ओली प्रमुख प्रतिपक्षी दलको नेता थिए। प्रचण्ड पनि अहिले प्रमुख प्रतिपक्षी दलको नेताकै रूपमा छन्।

ओलीले डडेल्धुरा पुगेर देउवालाई फोन गरेको सात महिनापछि ओली-देउवाबीच निर्णायक छलफल भई दुई ठूला दलबीचको गठबन्धन निर्माण भएको थियो । कतै प्रचण्डले पनि यस्तै, राजनीतिक उपलब्धिका लागि फोन कूटनीति अघि सारेका त होइनन् भन्ने आशंका राजनीतिक वृत्तमा उब्जिएको छ।

हिमालय टाइम्स दैनिकबाट


सामाग्री श्रोत :

सत्ता समीकरण परिवर्तनको प्रयास जारी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट