
झापा। मेचीनगर नगरपालिका–७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा रु पाँच लाख बढी आम्दानी गरेका छन्। उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका हुन्।
थापाले अहिले खरबुजा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको जानकारी दिए। वार्षिक रु ४० हजार तिरेर भाडामा लिइएको जमिनमा खेती गरेको भन्दै गत फागुनदेखि हालसम्ममा रु पाँच लाखको खरबुजा बिक्री भएको उनले बताए। ‘अन्य तरकारीखेती पनि गरेको छु’, उनले भने, ‘तर खरबुजाले जस्तो आम्दानी तरकारीबाट हुन सकेको छैन।’
झापामा गर्मी बढेसँगै खरबुजाको व्यापार बढेको छ। थापाले उत्पादन गरेको खरबुजा बिक्रीका लागि धुलाबारी, काँकरभिट्टा, चारआलीलगायत चोक तथा बजारमा लैजाने गर्छन्। उनले बजारको समस्या नभएको बताउँदै बारीमा आउने व्यापारीलाई भने प्रतिकिलो रु ३० का दरले बिक्री गर्दै आएको जानकारी दिए। मेचीनगर, भद्रपुर र कनकाई नगरपालिका क्षेत्रमा खरबुजाको व्यावसायिक खेती हुँदै आएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । स्मार्टफोन बजारमा प्रतिस्पर्धा फेरि एकपटक व्यक्तिगत स्तरमा पुगेको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी अनरले सामसङको नयाँ ग्यालेक्सी एस २५ एजलाई सार्वजनिक रूपमै निशाना बनाएपछि यी दुई कम्पनीको प्रतिस्पर्धा सतहमा आएको हो ।
सामसङले हालै ‘अहिलेसम्मकै सबैभन्दा पातलो ग्यालेक्सी फोन’ दाबी गर्दै सार्वजनिक गरेको ग्यालेक्सी एस २५ एजलाई अनरले व्यङ्ग्य गरेको छ । सामसङले बजारमा ल्याएको ग्यालेक्सी एस २५ एजको मोटाइ ५.८ एमएम छ । २०० मेगापिक्सेल क्यामेरा, नयाँ स्न्यापड्रागन ८ एलिट चिप, एआई फिचर र ३९०० एमएएच ब्याट्री भएको यो डिभाइसले अहिले व्यापक चर्चा पाइरहेको छ । सामसङले फोनलाई ‘अति पातलो’ घोषणा गरेपनि अनरले यसलाई सहजै स्वीकारेको छैन ।
सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीले आफ्नो अनर म्याजिक भी थ्री फाइभजी फोल्डसँग एस २५ एजलाई तुलना गरेको छ ।
अनरका अनुसार यो मोडेल अनफोल्ड गर्दा यसको मोटाइ ४.३५ एमएम हुन्छ । यो सामसङको एस २५ एजको तुलनामा १ एमएमभन्दा बढी पातलो हो । अनर यतिमा नरोकिएर एस २५ एजको फिचरमा पनि प्रश्न उठाएको छ । पातलो बनाउने नाममा सामसङले फिचरमा सम्झौता गरेको अनरको आरोप छ ।
अनरले आफ्नो पातलो डिभाइसमा ५१५० एमएएच क्षमता ब्याट्री समावेश गर्न सफल भएको कुरामा जोड दिएको छ । कम्पनीले फोनको पर्फमेन्स र उपयोगितमा कुनै सम्झौता नगरी पातलो फोन ल्याएको दाबी गरेको छ । यसको विपरीत सामसङको एस २५ एजमा ३९०० एमएएच क्षमताको ब्याट्री छ ।
Why thin if you’re making compromises to get there?#HONOR pic.twitter.com/toarI7G3If
— HONOR (@Honorglobal) May 14, 2025
अनरको ट्यागलाइन नै ‘कुनै सम्झौता नगरी सबैभन्दा पातलो फोन ल्याउने’ भन्ने आशयको छ । स्मार्टफोन निर्माताले एक अर्काको कम्पनी र प्रडक्टको खिल्ली उडाउनु नौलो कुरा भने होइन ।
सामसङ र एप्पलले पनि एकअर्कालाई व्यङ्ग्य गर्दै मिम सार्वजनिक गरेको इतिहास छ । खासगरी फोनमा हेडफोन ज्याक नहुनुदेखि क्यामेरा बम्प र चार्जिङ ब्रिकको खिल्ली उडाउनेसम्मका घटनामा सामसङ र एप्पल एकअर्कासँग जिस्किरहेका हुन्छन् । अनरले पनि यसअघि आफ्ना प्रतिस्पर्धीलाई यस्तै किसिमले निशाना बनाइसकेको छ ।
सामसङ ग्यालेक्सी एस २५ एज शक्तिशाली स्न्यापड्रागन ८ जेन ४ एलिट प्रोसेसर छ । यसमा २०० मेगापिक्सेल क्यामेरा छ । तर, ब्याट्री भने ३९०० एमएएच मात्र छ । ग्यालेक्सी एस २५ एज पछि सामसङ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गर्ने तयारीमा छ ।
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १५:१६
सामाग्री श्रोत :
टेक पाना
वालिङ (स्याङ्जा)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राखेका छन्।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए।
आगामी निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे। ‘वर्तमान अवस्थामा नागरिकमा निराशा बढिरहेकाले दुई ठूला दलबीच सहमति भई सरकार गठन भएको छ’, उनले भने, ‘वर्तमान सरकार जनता केन्द्रित भई काम गरिरहेको छ।’
‘पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ, धेरै पछाडि लैजानुहुँदैन’, उनले भने, ‘२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मंसिरमा पार्टीको अधिवेशन गर्नुको विकल्प छैन।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राखेका थिए।
सामाग्री श्रोत :
एजेन्सी– अमेरिकाका दुई राज्यका केही क्षेत्रमा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ ।
अमेरिकी राज्य केन्टकीका अधिकारीका अनुसार आँधीले १४ जनाको मृत्यु भएको छ । यस्तै मिसौरीमा सात जना र तीमध्ये सेन्ट लुईका पाँच जना रहेको बीबीसीले जनाएको छ ।
शनिबार बिहान केन्टकीको दक्षिण पूर्वमा स्थित लोरल काउन्टीमा यो आँधी आएको थियो । अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।
मिसौरीका अधिकारीहरुका अनुसार शुक्रबार आएको आँधीका कारणा पाँच हजार घरहरुमा क्षति पुगेको छ । कयौं घरका छतहरु उडाएको छ । बिजुली पनि अवरुद्ध भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । पछिल्लो समय पातलो फोनको चर्चा व्यापक बढ्दै गएको छ । स्मार्टफोन निर्माता कम्पनीले प्रयोगकर्ताको ध्यान खिच्न पातलोभन्दा पातलो फोन सार्वजनिक गर्ने होडबाजी गरिरहेका छन् ।
सधैं चर्चामा रहने ब्रान्ड सामसङ र एप्पल पनि यही दौडमा छन् । २०२५ को सुरुवातमा सामसङले आफ्नो बहुप्रतिक्षित एस २५ सिरिज सार्वजनिक गर्यो । त्यस कार्यक्रमको अन्तिममा कम्पनीले एस २५ एजको डेमो सार्वजनिक गरेको थियो । एस २५ एज त्यही फोन हो, जुन सामसङको ग्यालेक्सी सिरिज अन्तर्गतकै सबैभन्दा पातलो फोन हो ।
१३ मेमा यो फोन सार्वजनिक भइसकेको छ । केही देशमा यो फोन बिक्रीका लागि पनि उपलब्ध भइसकेको छ । नेपालमा पनि चाँडै नै भित्रिने अनुमान छ ।
त्यस्तै एप्पलले पनि यसै वर्ष आफ्नो पातलो मोडेल सार्वजनिक गर्दैछ । यसबारे थुप्रै विवरण लिक भइसकेका छन् भने केही फिचरले चर्चा पाइरहेका छन् ।
तपाईं पनि पातलो फोनको पारखी हुनुहुन्छ र सामसङको एस २५ एज खरिद गरिहाल्ने वा आईफोन १७ एयर पर्खिने भन्ने द्विविधामा हुनुहुन्छ भने यहाँ हामी फिचरको चर्चा गर्दैछौं । यहाँ उल्लेख भएका फिचरलाई आधार मानेर तपाईं सामसङको पातलो फोन पर्खिने वा १७ एयर पर्खिने भन्ने निर्णय लिन सक्नुहुन्छ:
सामसङ एस २५ एजमा के के छन् फिचर ?
यो फोन कत्ति पातलो छ भने यसको मोटाइ जम्मा ५.८ एमएम छ । यो भनेको एस २५ अल्ट्राको तुलनामा ३० प्रतिशत पातलो हो । त्यही भएर यो फोन ३० प्रतिशत पातलो अनि २५ प्रतिशत जति हलुका पनि छ । कम्पनीले यसमा गतिलो टाइटानियम धातु प्रयोग गरेको छ भने स्क्रिनमा पनि गोरिल्ला ग्लास सेरामिक टु छ । यो मजबुतीका लागि उपयुक्त मानिन्छ । यसमा १२० हर्ज रिफ्रेस रेटको ६.७ इन्च ओलेड डिस्प्ले दिइएको छ ।
अब क्यामेराको कुरा गर्दा एस २५ अल्ट्राको जति यसमा छैन । यसमा दुई ओटा क्यामेरा कम छन् । अर्थात् ३ गुणा र ५ गुणा टाढाको फोटो खिच्ने (जुम) क्यामेरा र लेजर अटोफोकस भन्ने लेन्स छैन । तर अल्ट्रावाइड क्यामेराचाहिँ छ । यसले निकै फराकिलो फोटो खिच्छ । अल्ट्रामा ५० मेगापिक्सेलको हुन्छ भने यसमा १२ को मात्रै छ । तैपनि यसको अल्ट्रावाइडमा अटोफोकस छ । यसले गर्दा नजिकैको सानो-सानो चिजको फोटो (म्याक्रो शट) खिच्न सजिलो हुन्छ ।
मुख्य क्यामेरा त अल्ट्राकै जस्तो २०० मेगापिक्सेलको छ । तर फोन पातलो बनाउन लेन्सलाई अलि च्याप्टो पारेकोले फोटोको क्वालिटी हल्का नरम आउन सक्छ भनिएको छ । यसमा भएको स्न्यापड्रागन ८ एलिट प्रोसेसरले फोटोलाई स्तरीय बनाउन, फोनको पर्फमेन्स सुधार गर्न र एआई फिचर सजिलै चलाउन सक्छ । र्याम भने यसमा १२ जीबी छ ।
अरु फिचरको कुरा गर्दा सामसङको स्टाइलिस एस पेन यो मोडेलमा छैन । स्क्रिनमा पनि अल्ट्रामा जस्तो घाममा हेर्दा धेरै नटल्किने खालको विशेष लेप (एन्टि-रिफ्लेक्टिभ कोटिङ) छैन । स्पिकरको आवाज पनि अल्ट्राको जति दमदार छैन । ब्याट्री पनि ३९०० एमएएच क्षमताको छ । अल्ट्रामा ५००० एमएएचको हुन्छ । चार्जरको सन्दर्भमा भने यसले २५ वाटको फास्ट चार्जर सपोर्ट गर्छ । तैपनि सामसङको फोटोबाट नचाहिने चिज हटाउने (अब्जेक्ट इरेजर) अनि फोटोलाई मिलाउने (जेनेरेटिभ एआई एडिटर) जस्ता एआई फिचर यसमा पाइन्छ । अझ एउटा खतरा नयाँ चिज के छ भने रियल-टाइम भिजुअल एआई ! यसले जेमिनाई लाइभबाट भिडिओ कलमै सामान चिनेर त्यसको बारेमा बताइदिन्छ । जस्तै कफी बनाउने मेसिन देखाएर ‘यसमा कफी कहाँ हाल्ने हो ?’ भनेर सोध्न पनि मिल्छ ।
मूल्यको कुरा गर्दा यो एस २५ एजको सुरुवाती मूल्य १०९९ डलर (करिब डेढ लाख रुपैयाँ) रहेको छ ।
आईफोन १७ एयरमा के के फिचर होलान् ?
अहिलेसम्म बाहिरिएका विभिन्न जानकारीलाई आधार मान्ने हो भने यसमा ६.६ इन्चको ओलेड डिस्प्ले हुनेछ । पहिलो पटक कम्पनीले बेस मोडेलमा प्रोमोसन डिस्प्ले उपलब्ध गराउने जनाएको छ । अर्थात् यस मोडलमा पनि १२० हर्ज रिफ्रेशरेट पाउन सकिन्छ ।
यसको मोटाइको कुरा गर्नुपर्दा ५.५ एमएम पातलो हुनेछ । त्यस्तै यो आल्मुनियमले ढाकिएको हुनेछ । यसमा कम्पनीले आफ्नो नयाँ शक्तिशाली चिप ए१९ प्रयोग गर्ने बताइएको छ । यही चिपका कारण कम्पनीको एआई फिचर एप्पल इन्टेलिजेन्स प्रयोग गर्न पाइनेछ । त्यस्तै र्यामको सन्दर्भमा यसमा १२ जीबी र्याम हुनेछ ।
अगाडिपट्टि २४ मेगापिक्सेलको क्यामेरा हुनेछ भने पछाडिपट्टि ४८ मेगापिक्सेलको वाइड क्यामेरा हुनेछ । बाहिरिएका जानकारी अनुसार यसमा एप्पल वाईफाई ७ समावेश हुनेछ । ब्याट्रीको जानकारी भने अहिलेससम्म बाहिर आइसकेको छैन । यद्यपि कम्पनीले फोन पातलो बनाउने भनेकाले सामसङ ग्यालेक्सी एस २५ एज जत्तिकै ल्याउने अपेक्षा गरिएको छ । यसले ३५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ भने यसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २३ हजार रुपैयाँ) हुने बताइएको छ ।
तुलना
विशेषता
|
ग्यालेक्सी एस२५ एज
|
आईफोन १७ एयर
|
कुन राम्रो ?
|
डिस्प्ले साइज
|
६.७ इन्च ओएलईडी डिस्प्ले
|
६.६ इन्च ओएलईडी डिस्प्ले
|
ग्यालेक्सी एस२५ एज (ठुलो)
|
रिफ्रेस रेट
|
१२० हर्ज रिफ्रेस रेट
|
१२० हर्ज प्रोमोशन
|
दुबै उस्तै
|
मोटाइ
|
५.८ मिलिमिटर
|
५.५ मिलिमिटर
|
आईफोन १७ एयर (पातलो)
|
बडी मेटेरियल
|
टाइटेनियम बडी
|
एल्युमिनियम बडी
|
ग्यालेक्सी एस२५ एज (टाइटेनियम सामान्यतया बढी प्रिमियम)
|
चिप
|
स्न्यापड्रागन ८ एलिट
|
ए१९ चिप
|
दुबै उच्च-स्तरीय (पर्फमेन्स फरक हुन सक्छ)
|
र्याम
|
१२ जीबी र्याम
|
१२ जीबी र्याम
|
दुबै उस्तै
|
एआई
|
ग्यालेक्सी एआई
|
एप्पल इन्टेलिजेन्स
|
दुबैको आफ्नै एआई विशेषता छ
|
फ्रन्ट क्यामेरा
|
१२ मेगापिक्सेल
|
२४ मेगापिक्सेल
|
आईफोन १७ एयर (उच्च मेगापिक्सेल)
|
वाइड क्यामेरा
|
२०० मेगापिक्सेल
|
४८ मेगापिक्सेल
|
ग्यालेक्सी एस२५ एज (उच्च मेगापिक्सेल)
|
अल्ट्रावाइड क्यामेरा
|
१२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा
|
उल्लेख छैन
|
ग्यालेक्सी एस२५ एज (यो सुविधा भएकोले)
|
वाई-फाई
|
वाई-फाई ७
|
एप्पल वाई-फाई ७ चिप
|
दुबै उस्तै (दुबै वाई-फाई ७)
|
ब्याट्री
|
३,९०० एमएएच
|
–
|
बाहिरिएको छैन । यसमा सामसङ नै अगाडि हुने देखिन्छ ।
|
वायर्ड चार्जिङ
|
२५ वाट फास्ट वायर्ड चार्जिङ
|
३५ वाट फास्ट वायर्ड चार्जिङ
|
आईफोन १७ एयर (छिटो चार्जिङ)
|
रिलिज मिति
|
१३ मे २०२५
|
सेप्टेम्बर २०२५
|
ग्यालेक्सी एस२५ एज (सार्वजनिक भइसकेको छ)
|
सुरुवाती मूल्य
|
$१,०९९
|
$८९९
|
आईफोन १७ एयर (सम्भावित कम सुरुवाती मूल्य)
|
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ २१:१७
सामाग्री श्रोत :
टेक पाना
गोरखा। जिल्लाको गोरखा नगरपालिका–१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ। पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो।
छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो। काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो। त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो। अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ।
‘हामीले नौ दिन लगाएर उत्खनन गर्यौँ’, विभागका अधिकृत अधिकारीले भने, ‘यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा, ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो। तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन्। इँटा, ढुङ्गा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ।’ यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उनले बताए।
सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए। ‘गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ’, अधिकारीले भने, ‘अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर, अझै सकिएको छैन। अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ।’
उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ। ‘जग हेर्दा इँटा, ढुङ्गाबाट निर्माण भएको र झिङ्गटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ’, उनले भने।
विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिए। ‘दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ । यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ’, उनले भने।
हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए। तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ।
सामाग्री श्रोत :
काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् ।
त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याइन् ।
यसैगरी मन्त्री डा राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गरे । सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा मन्त्री डा राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन् ।
उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपाल सरकारको आग्रहलाई बेवास्ता गर्दै अधिकांश ठुला सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा सूचीकृत हुन आनाकानी गरिरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७८ मंसिर १५ गतेदेखि दर्ताका लागि आह्वान गरे पनि झन्डै दुई वर्षको अवधिमा जम्मा चार ओटा प्लेटफर्म सूचीकृत भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न सार्वजनिक कार्यक्रममा सामाजिक सञ्जालहरू सरकारको आग्रहलाई निरन्तर बेवास्ता गरिरहेको उल्लेख गर्दै आएका छन् । मन्त्री गुरुङका अनुसार मन्त्रालयले पटकपटक सूचना जारी गरेर दर्ता हुन आग्रह गर्दा पनि मेटा, एक्स, लिङ्क्डइन जस्ता प्रमुख प्लेटफर्महरूले दर्ता गर्न चासो देखाएका छैनन् ।
तर सामाजिक सञ्जालहरू सरकारको आग्रहको अवज्ञा होइन, नेपालको नीति र निर्देशिकाका मापदण्डका कारण दर्ताबाट पछि हटिरहेका हुन् भन्ने तर्क पनि उठिरहेको छ । एसिया इन्टरनेट कोएलिसन (एआईसी) ले तत्कालीन सञ्चारमन्त्री रेखा शर्मालाई पत्र पठाउँदै सामाजिक सञ्जाल निर्देशिकाप्रति आफ्नो साझा धारणा प्रकट गरेको थियो । उक्त पत्रमा सामाजिक सञ्जालहरू किन नेपालमा दर्ता हुन सक्दैनन् भन्ने कारणहरू उल्लेख गरिएको थियो ।
यस विषयलाई नजिकबाट नियालिरहेका अधिवक्ता बाबुराम अर्यालका अनुसार सामाजिक सञ्जाल कम्पनीहरू हालको निर्देशिका अन्तर्गत दर्ता हुन तयार छैनन् । “उनीहरूको भनाइमा यो निर्देशिका स्थापित मानक प्रक्रिया होइन । त्यसैले उनीहरू संसदीय प्रक्रियाबाट बनेको स्पष्ट कानुनअनुसार अघि बढ्न चाहन्छन्,” उनले भने ।
उनले अगाडि भने, “उनीहरूले ‘मोरिटोरियम पिरियड (मोहलत अवधि) पाऊँ’ भनेका हुन् । यसको अर्थ उनीहरूले सो अवधिसम्मका लागि म्याद थप गर्न अनुरोध गरेका हुन् ।”
सामाजिक सञ्जालहरूले कानुन कार्यान्वयन गर्ने निकायलाई सहयोग गरिरहे पनि सरकारले अपेक्षा गरेको सहयोग विधि अन्तर्राष्ट्रिय कानुनी मान्यता र प्रयोगकर्ताको गोपनीयताको मापदण्डसँग मेल नखाने तर्क गरिएको छ । मन्त्री शर्मालाई पठाइएको पत्रमा सामाजिक सञ्जाल सञ्चालकहरूले यसबारे आफ्नो धारणा राखेका छन् ।
“एआईसीको भनाइ अनुसार उनीहरूले ल इन्फोर्समेन्टलाई सहयोग गरिरहेकै छन् । तर, कानुन पालना गर्ने निकायले जुन तरिकाले उनीहरूबाट सहयोगको अपेक्षा गरिरहेको छ, त्यो प्रक्रिया कानुनी तथा अन्तर्राष्ट्रिय मापदण्ड वा कानुनअन्तर्गत पर्दैन,” उनले भने, “त्यसैले सामग्री हटाउने (कन्टेन्ट रिमुभल) सन्दर्भमा प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन हुने गरी आफूहरूले काम गर्न नसक्ने उनीहरूको तर्क छ ।”
सरकारले नेपालमै नेपाली नागरिकलाई सम्पर्क व्यक्ति (प्वाइन्ट अफ कन्ट्याक्ट) राख्नुपर्ने प्रावधान राखेको छ । तर, अर्यालका अनुसार सम्पर्क व्यक्ति प्राविधिक विषय भएकाले यसले मात्र समस्या समाधान हुँदैन । कम्पनीहरूले वैकल्पिक रूपमा २४ घण्टा सेवा दिने ‘ग्लोबल फोकल कन्ट्याक्ट’ व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । तर, स्थानीय सम्पर्क व्यक्तिमार्फत कानुनी दायित्व सिर्जना गर्ने कुरा व्यवहारिक नहुने सामाजिक सञ्जालहरूको धारणा छ ।
त्यस्तै, कम्पनीहरूले आफ्नो ‘कम्युनिटी स्ट्यान्डर्ड’ विपरीतका सामग्री आफैं हटाइरहेको भए पनि सरकारबाट अभिव्यक्ति स्वतन्त्रता विपरीत हुने गरी सामग्री हटाउन दबाब दिइएमा त्यो अस्वीकार्य हुने तर्क गरिएको छ । “सामग्री हटाउने प्रक्रिया र कस्तो सामग्री हटाउने वा नहटाउने भन्ने सन्दर्भमा कम्युनिटी स्ट्यान्डर्डको समेत ख्याल नगरी अभिव्यक्ति स्वतन्त्रतालाई नै अपराधीकरण गर्ने गरी सामग्री हटाउन गरिने अनुरोध सैद्धान्तिक रूपमै गलत हुने उनीहरूको धारणा छ,” अर्यालले भने ।
अन्तर्राष्ट्रिय अभ्यासमा देवानी मानिने विषयलाई नेपालले फौजदारी प्रकृतिको मानेर सामग्री हटाउन लगाउने र न्यायिक परीक्षणबिना प्रशासनिक निकायले आदेश दिने कुरा पनि मानकभित्र नपर्ने सामाजिक सञ्जालको धारणा रहेको अर्यालले उल्लेख गरे । उनले भने, “उनीहरूको भनाइमा अन्तर्राष्ट्रिय प्रचलनमा देवानी मानिने विषयलाई नेपालले फौजदारीकरण गरी सामग्री हटाउन निर्देशन दिनु तथा न्यायिक परीक्षण (जुडिसियल भेटिङ) को प्रक्रिया पूरा नगरी प्रशासनिक निकायले सामग्री हटाउन आदेश दिनु जस्ता कामले स्थापित अन्तर्राष्ट्रिय मापदण्डभित्र पर्दैनन् ।”
नेपालमा ४० भन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । हालसम्म सञ्चार मन्त्रालयमा सूचीकृत हुनेमा भाइबर, विटक, टिकटक र निम्बज छन् । यी माध्यम नेपालको कानुन अनुसार सूचीकृत भएका हुन् । यता मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेड्स सूचीकरण भएका छैनन् । त्यस्तै विश्वकै धनाढ्य व्यक्ति एलन मस्कको सामाजिक सञ्जाल एक्स, स्न्यापच्याट, लिङ्क्डइन, विच्याट, युट्युब, टेलिग्राम, ट्रुथ, ग्रेटर, रेडिट, लाइन लगायतका सञ्जाल पनि नेपालमा सञ्चालित छन् । यी पनि नेपालको कानुन अनुसार सञ्चार मन्त्रालयमा सूचीकृत हुन मानिरहेका छैनन् ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका ल्याइएको हो । सोही बमोजिम सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले आफ्नो प्लेटफर्म मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । यस निर्णयसँगै मन्त्रालयले सूचना प्रकाशित गर्यो ।
त्यस सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र सूचीकरण हुनुपर्ने भनिएको थियो । त्यसका साथै नेपालभित्र सम्पर्क बिन्दु तोक्नुपर्ने व्यवस्था थियो । त्यस्तै आवासीय गुनासो सुन्ने अधिकारी नियुक्त गर्नुपर्ने भनिएको थियो । र, स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था पनि अनिवार्य गरिने उल्लेख गरिएको थियो । त्यो निर्देशन विश्वकै खर्बपतिका सामाजिक सञ्जालले मानेका छैनन् ।
पहिलो पटकको निर्देशन नमानेपछि दोस्रो पटक सञ्चार मन्त्रालयले ६ भदौ ०८१ को बैठकको निर्णय कार्यान्वयनका सुनिश्चितताको लागि भन्दै ताकेता गरेको थियो । त्यो ताकेता पनि पालना भएन । २२ अक्टोबर २०२४ मा केही ठुला सामाजिक सञ्जाल प्लेटफर्मका चिफ अपरेटिङ अफिसर (सीओओ) लाई सम्बोधन गरी उक्त प्लेटफर्म सञ्चार मन्त्रालयमा सूचीकरण तथा निर्देशिकाको कार्यान्वयन साथै सरकारको निर्णय कार्यान्वयनका लागि ईमेलमार्फत पत्राचार गरिएको थियो ।
सोही निर्देशिकाको परिपालनाको सुनिश्चितताको लागि २१ माघ २०८१ मा गोरखापत्र राष्ट्रिय दैनिक र द राइजिङ नेपालमा सूचना प्रकाशन गरी सूचीकरणको लागि आह्वान गरियो । र, अन्तिम पटक ७ चैत २०८१ मा सूचीकरणको लागि ३० दिनको समयावधि दिई पुनः सूचना प्रकाशित गरेको थियो । यस अवधिसम्म पनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम थप कुनै पनि सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक मन्त्रालयमा सूचीकृत हुन आएका छैनन् ।
सञ्चार मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि सामाजिक सञ्जाल दर्ता हुन नआएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एक साता भित्र दर्ता हुन नआए कानुनअनुसार बन्द गरिने चेतावनी पटकपटक दिँदै आए पनि केही गर्न सकेका छैनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन, तर निर्देशिका पालना नगर्नेहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक तथा प्रयोगकर्ता दुवैको हितलाई ध्यानमा राखी कसैलाई असुविधा नहोस् भन्ने मनसायले मन्त्रालयले पटक–पटक ताकेता गर्दै आएको उनले बताए । “विगत एक वर्षको अवधिमा हामीले तीन पटक सूचना प्रकाशित गरिसकेका छौं,” उनले भने, “तीन–चार महिनाको अन्तरालमा हामीले सामाजिक सञ्जाल सूचीकरण गर्न सूचना जारी गरेका थियौं । यो अवधिमा ‘निम्बज’ नामक एउटा प्लेटफर्मबाहेक अरूले सूचीकरण प्रक्रिया पूरा गरेका छैनन् ।”
फेसबुक व्यापक प्रयोग हुने भएकाले मेटा सूचीकरणमा आए सरकारलाई सजिलो हुने प्रवक्ता ठाकुर सुनाउँछन् । यसकै लागि मन्त्रालयले मेटालाई दुई पटक ईमेलमार्फत पत्राचार गरेको पनि उनले बताए । “एकपटक सिंगापुरमा रहेको मेटाको टोलीसँग भर्चुअल बैठक पनि भएको थियो,” उनले थपे, “उहाँहरूले उच्च निकायमा जानकारी गराउने प्रतिक्रिया दिनुभयो । त्यसपछि हालसम्म सम्पर्कमा आउनुभएको छैन ।”
सामाजिक सञ्जाल सञ्चारको महत्त्वपूर्ण माध्यम भएको र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय भएकाले सरकार सिधै बन्द गर्ने मनस्थितिमा नभएको, तर अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याइएको उनले उल्लेख गरे ।
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ २०:३५
सामाग्री श्रोत :
टेक पाना
भक्तपुर। वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको उक्त अस्पतालमा बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो।
उक्त स्क्यान मेसिन (उपकरण)बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिने अस्पताल प्रशासनले जनाएको छ। यसअघि मेसिन भक्तपुर अस्पतालमा ल्याएसँगै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठले मेसिन जडान क्षेत्रको अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याएर आमनागरिकलाई सहज र सुलभ सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिएका थिए।
स्वास्थ्यमन्त्री थापाले भने, ‘यो वीर अस्पतालपछिको दोस्रो अस्पताल भए पनि विगतमा राज्यले बेवास्ता गर्दा पछाडि परेको थियो। अस्पतालले विस्तारै विकासको गति लिएको छ। मन्त्रालयको बजेट र पहलमा सिटी स्क्यान सञ्चालनमा आएको छ। आगामी दिनमा अस्पताल आउने बिरामी र यहाँका जिल्लावासीले सिटी स्क्यान गर्न काठमाडौं धाउनु पर्दैन।’
अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए।
मन्त्री थापाले भने, ‘भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका छौँ। यो मेसिन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ। यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्नेछ।’
कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो।
भक्तपुर अस्पतालमा सञ्चालनमा आएको सिटी स्क्यानमा १० वर्षसम्म कुनै समस्या नआउने र समस्या आइहाले तत्काल कम्पनीले मर्मत गर्नेगरी सम्झौता भएको सचिव डा गौतमले जानकारी दिइन्।
उनले भनिन्, ‘सिटी स्क्यान दिने कम्पनीले अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ‘ग्यारेन्टी’ गर्दै सम्झौता गरेको छ, मेसिन सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीसमेत १० वर्षसम्म पुग्नेगरी व्यवस्था गरेको छ, कम्तीमा १० वर्षसम्म यो मेसिन ढुक्कसँग सञ्चालन हुन्छ।’
उनले अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० शैय्याको डायलोसिस कक्ष तयार पारिएको जनाउँदै केन्द्रीय सरकारले डायलोसिस मेसिन सहयोग गरे दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सकिने बताइन्।
अस्पतालका कार्यकारी निर्देशक डा भट्टले सिटी स्क्यान जडान गरी परीक्षण सम्पन्न गरिएको बताउँदै आइतबार बिहान उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आउने उल्लेख गरे। उनले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने बताए।
सामाग्री श्रोत :
भक्तपुर अस्पतालः स्थापनाको एक सय एक्काइस वर्षमा सिटी स्क्यान सेवा सुरू
अछाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावललाई सहकार्यको प्रस्ताव राखेका छन् ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर प्रचण्डले रावलसँग फोन संवाद भएको पनि बताए ।
अछाम नेता रावलको गृहजिल्ला हो । त्यहाँ पुगेर प्रचण्डले भने, ‘म यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं कोकोसँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’
उनले भीम रावलसहित इमानदार कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने बताए ।
प्रचण्डले भने, ‘मैले यहाँबाट पनि भीम रावलसहित देशभक्त इमानदार कम्युनिष्टहरुलाई सहकार्य गर्न अपिल गर्न चाहन्छु, अन्त भौतारिरहनु जरुरी छैन । केही फाइदा हुनेवाला छैन । भीमजीप्रति मैले संवादसहित यो अपिल गर्न चाहन्छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ