मोरङ। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको बताएका छन्। कांग्रेस मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवं अन्तरक्रियामा उनले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डो¥याउने जिम्मेवारी रहेको बताए।

नेता लेखकले कांग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल भएको चर्चा गरे। राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उनले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राखे।
‘मुलुकमा राजनीतिक स्थिरता दिन वर्तमान संयुक्त सरकार निर्माण गरिएको हो। नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा १० महिनाको अवधिमा सरकारले वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व संकलनमा सुधार, आयात घटाएर निर्यात वृद्धि गरेको छ। हामी इमान्दारिताका साथ देश विकासमा लागिरहेका छौँ’, मन्त्री लेखकले भने।
उनले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताए। यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरे।

कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी, सचिव मोदराज घिमिरेले जनताका समस्या समाधानतर्फ सरकार क्रियाशील हुनुपर्ने सुझाव दिए।
कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, कार्यकर्ताले कृषि औजार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना, सुकुम्वासी समस्या समाधान गर्नुपर्नेलगायत विषयमा सुझाव दिएका थिए।
सामाग्री श्रोत :
‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’