काठमाडौँ । के तपाईं ट्वाइलेटमा मोबाइल चलाउँदै लामो समय बस्ने गर्नुहुन्छ ? सावधान हुनुहोस्, यो सामान्य बानीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । विशेषगरी युवाहरू ट्वाइलेटमा मोबाइल लिएर जानुलाई सामान्य ठान्छन् । उनीहरूलाई मोबाइल नहेरी आरामपूर्वक बस्नै ‘गाह्रो’ हुन्छ । ट्वाइलेटमा बसेर सामाजिक सञ्जाल हेर्ने, भिडिओ हेर्ने वा लेख पढ्ने बानीले समय बितेको पत्तै हुन्न । तर यसले दीर्घकालीन रूपमा शरीर र मनमा नकरात्मक असर पार्न सक्छ ।

लामो समय ट्वाइलेटमा बस्दा मलद्धार आसपासका मांसपेशीहरूमा अत्यधिक दबाब पर्न जान्छ, जसले कब्जियत, फिस्टुला, फिसर जस्ता रोग निम्त्याउँछ । अपोलो स्पेक्ट्रा अस्पताल, मुम्बईका जनरल सर्जन डा. लकिन वीरा भन्छन् “ट्वाइलेटमा धेरै समय बस्दा गुप्ताङ्ग र वरिपरिका अंगमा संक्रमण हुने सम्भावना उच्च हुन्छ । ट्वाइलेटको वातावरणमा रहेका किटाणुहरू मोबाइलको माध्यमबाट तपाईँको किचन र सुत्ने कोठासम्म पुग्न सक्छन् । यस्ता किटाणुहरू खानपानमार्फत पेटमा गएमा जटिल संक्रमण हुन सक्छ ।”
हालैका एक अनुसन्धान अनुसार २० देखि ६५ वर्ष उमेर समूहका ४५ प्रतिशत मानिस कब्जियतको कारण अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये कैयौँले ट्वाइलेटमा लामो समय मोबाइल प्रयोग गर्ने गरेको बताएका छन् । लामो समय बस्दा शरीरको रक्तसञ्चारमा असर पर्छ, स्नायुमाथि दबाब पर्छ, सुन्निने समस्या आउँछ र विभिन्न दीर्घरोगको जोखिम बढ्छ ।
यस्ता बानीले शारीरिक मात्रै नभइ मानसिक स्वास्थ्यमा पनि असर पार्छ । तनाव, चिढचिढोपन, डिप्रेसन, अनावश्यक रिस उठ्ने, अरूको कुरामा चित्त नबुझ्ने समस्या बढ्न सक्छ । यो बानीले आफन्तसँगको सम्बन्धमा समेत असर गर्न सक्छ । साथै लामो समय मोबाइल हेर्दा शरिरमा भारीपन, घाँटी र पीठ्यु दुख्ने, हातखुट्टा झमझमाउने जस्ता लक्षण देखिन्छन् ।

कोभिड १९ पछि मोबाइल प्रयोग अझ बढी भएको छ । धेरै काम मोबाइलमै हुने भएकाले ट्वाइलेटभित्र पनि काम गर्ने बानी बस्न थालेको छ । तर डाक्टरहरू भन्छन्- यस्तो बानीले मुटुरोग, मधुमेह, मोटोपन, स्ट्रोक, नसा च्यापिने, जोर्नी दुख्ने जस्ता समस्या निम्त्याउँछ ।
मोबाइलको निरन्तर प्रयोगले भोकको मात्रा गडबड गराउँछ, कहिले भोक लाग्दैन, कहिले अत्यधिक लाग्छ । रक्तमा चिनी र इन्सुलिनको सन्तुलन बिग्रन्छ । यसले टाइप २ मधुमेह, कोलेस्ट्रोल बढ्ने, स्ट्रोकजस्ता जोखिम निम्त्याउँछ ।
तर यसबाट बच्ने उपाय पनि छन् । सबैभन्दा पहिले, ट्वाइलेटमा मोबाइल लैजान छोड्नुहोस् । साटोमा किताब वा पत्रिका पढ्ने बानी बसाल्न सकिन्छ । आफैंमा नियम बनाउनुहोस् कि ‘मैले ट्वाइलेटमा ५ देखि १० मिनेटमात्रै बस्नुपर्छ’ । चाहनु भए टाइमर वा अलार्मको प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा सम्झाउने स्टिकर टाँस्नुहोस्, जसले तपाईँलाई समयमै ट्वाइलेटबाट निस्कन सहयोग गर्छ ।
मोबाइल प्रयोगको समय सीमा निर्धारण गर्नुहोस् । मोबाइल नलिइकन ध्यान वा श्वासप्रश्वास अभ्यास गर्नुहोस् ।
थप सजिलो लागे पनि ट्वाइलेटमा मोबाइल चलाउने बानीले तपाईंको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । स्वस्थ जीवनशैलीका लागि साना परिवर्तनहरू महत्वपूर्ण हुन्छन् । आजैदेखि मोबाइल ट्वाइलेट बाहिरै छोड्ने संकल्प गरौँ ।
टाइम्स अफ इन्डिया, बीबीसी लगायतका मिडियाको सहयोगमा तयार पारिएको ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ ११:२३
सामाग्री श्रोत :
टेक पाना