काठमाडौं । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको भिडिओ एडिटिङ एप क्यापकट निकै प्रभावकारी प्लेटफर्म हो । सामान्यदेखि स्तरीय फ्ल्यागशिपसम्म सपोर्ट हुने यो एप विज्ञापन र वाटरमार्कका कारण कम लोकप्रिय हुँदै गएको छ । शर्ट भिडिओ प्लेटफर्म टिकटकमा जोडिएकाले यो एप धेरैको रोजाइमा परेको थियो ।

त्यसैलाई चुनौती दिन फेसबुकको माउ कम्पनी मेटाले केही समयअघि आफ्नै भिडिओ एडिटिङ एप ‘एडिट्स’ सार्वजनिक गरेको थियो । अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पको दोस्रो कार्याकाल औपचारिक रूपमा सुरु भएकै दिन टिकटकसहित यसको मातृ कम्पनी बाइटडान्सद्वारा सञ्चालित एपहरू अमेरिकामा प्रतिबन्धमा परेका थिए । त्यही मौकामा मेटाले एडिट्स एप घोषणा गरेको थियो ।
यसबाट मेटाले आफ्नो प्रत्यक्ष प्रतिद्वन्द्वी टिकटक र क्यापकटसँग प्रतिस्पर्धा गर्न यो एप ल्याएको प्रष्ट थियो । त्यही एडिट्स एप अहिले विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको छ ।
क्यापकटभन्दा एडिट्स किन उपयुक्त हुनसक्छ ?

टिकटकमा मात्र भिडिओ कन्टेन्ट राख्नुहुन्छ भने तपाईंका लागि क्यापकट नै उपयुक्त हुन सक्छ । उपयुक्त यस सन्दर्भमा कि तपाईंले टिकटकमा आएका टेम्प्लेट प्रयोग गरेर आफ्नो भिडिओमा प्रयोग गर्न सक्नुहुन्छ । तर, त्यसमा पनि वाटरमार्क देखिन्छ । वाटरमार्क हटाउन र झन्झटिला विज्ञापनबाट मुक्ति पाउन तपाईंले एडिट्स प्रयोग गर्न सक्नुहुन्छ ।
क्यापटकमा सयौं ट्रान्जिजन र इफेक्ट्सहरू छन् । तर, अधिकांश प्रिमियम छन् । अर्थात् ती इफेक्स र ट्रान्जिसन प्रयोग गर्न पैसा तिर्नुपर्ने हुन्छ ।
यता एडिट्समा भने मेटाले क्यापकटकै झल्को दिने यूआई र इफेक्ट्स तथा ट्रान्जिसनहरू राखेको छ । एडिट्स एपबाटै इन्स्टाग्राम र फेसबुकमा भाइरल भइरहेका रिल्स हेर्न र तिनै टेम्प्लेट प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा भएको अडियो प्रयोग गर्न सक्नुहुन्छ । यसमा रोचक फिचर के छ भने भिडिओको छेउमा प्लस (+) आइकन छ । त्यसमा ट्याप गरेर उक्त भिडिओ हेर्दा आफूलाई के आइडिया आएको छ त्यही लेख्न सक्नुहुन्छ । पछि त्यही आइडियालाई लिएर आफ्नो कन्टेन्ट बनाउन सकिन्छ ।
त्यस्तै भिडिओका लागि यसमा भएका विभिन्न ट्रान्जिसन तथा इफेक्ट पनि प्रयोग गर्न सकिन्छ । हालसम्म यसमा भएका सबै इफेक्ट र ट्रान्जिसन निःशुल्क उपलब्ध छन् ।
नेपाली प्रयोगकर्ताका लागि क्यापकट किन पनि अनुपयुक्त छ भने यसले देवनागरी भाषा सपोर्ट गर्दैन । डाउनलोड गरेको फन्ट राख्न सकिने भए पनि केही अक्षरमा भने समस्या देखिन्छ । युनिकोड फन्टमा पनि समस्या छन् ।
यता एडिट्समा अहिलेसम्म फन्ट अपलोड गर्ने सुविधा छैन । तर, यसले देवनागरी टेक्स्ट सपोर्ट गर्छ । यसमा भएको डिफल्ट फन्टमा देवनागरी अक्षर आकर्षक नै देखिन्छन् । टेक्स्ट एनिमेसनमा पनि विभिन्न अप्सन पाउन सकिन्छ ।
म्युजिकको सन्दर्भमा भने क्यापकटले टिकटकमा अपलोड भएका म्युजिक सपोर्ट गर्छ । त्यसबाहेक आफैँले म्युजिक अपलोड गरेर पनि प्रयोग गर्न सकिन्छ । टिकटकका लागि त्यहीँको म्युजिक प्रयोग गरेर तयार पारेको भिडिओ फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्दा कपिराइट लाग्ने सम्भावना उच्च हुन्छ ।
यदि तपाईं फेसबुक र इन्स्टाग्रामका लागि भिडिओ बनाउँदै हुनुहुन्छ र कपिराइट नलाग्ने म्युजिक प्रयोग गर्न चाहनुहुन्छ भने एडिट्स एप नै प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक मिम, कमेडी भिडिओ, एक्सप्लेनर भिडिओ आदिका लागि आवश्यक पर्ने साउन्ड इफेक्ट पनि छन् ।
क्यापकट जस्तै एडिट्समा पनि ब्याकग्राउन्ड हटाउने सुविधा छ । त्यस्तै आफ्नै आवाज राखेर विभिन्न इफेक्ट प्रयोग गर्न सकिन्छ ।
यसरी तयार पारिएको एडिट्सको भिडिओ सोझै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सकिन्छ । त्यसबाहेक भिडिओ डिभाइसमै सेभ गरेर अन्य प्लेटफर्ममा शेयर गर्न सकिने सुविधा पनि छ ।
आकर्षक र सामान्य युजर इन्टरफेस, नेपाली टेक्स्टको सुविधा, उयपयुक्त साउन्ड इफेक्ट आदिका लागि एडिट्स प्रयोग गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १४:२४
सामाग्री श्रोत :
टेक पाना