काठमाडौँ । एप्पलले आईफोन १८ सिरिजको लन्चलाई दुई चरणमा विभाजन गर्ने भएको छ ।

कम्पनीको आपूर्ति श्रृंखला (सप्लाई चेन) स्रोतलाई उद्धृत गर्दै द इन्फर्मेसनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२६ मा आईफोन १८ का प्रो संस्करणहरू फल (शरद ऋतु) मा सार्वजनिक हुने र कम मूल्यका आईफोन १८ र आईफोन १६ई को नयाँ संस्करण सन् २०२७ को स्प्रिङ (वसन्त ऋतु) मा मात्र बजारमा आउने छ ।
एप्पलले सन् २०२६ मा फोल्डेबल आईफोन पनि सार्वजनिक गर्न सक्ने रिपोर्टमा उल्लेख छ । यसै वर्ष आउने भनिएको आईफोन १७ एयरको नयाँ संस्करण पनि सन् २०२६ मा आउने सम्भावना रहेको जनाइएको छ ।
रिपोर्ट अनुसार, एप्पलले आईफोन उत्पादनमा चीनमाथिको निर्भरता कम गर्न भारतमा सस्तो आईफोन १८ मोडेलहरू उत्पादन गर्ने परीक्षण समेत गर्ने योजना बनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीतिका कारण कम्पनीको मुनाफामा परेको असरलाई कम गर्न एप्पलले यो कदम चाल्न लागेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १६:३७
सामाग्री श्रोत :
टेक पाना