काठमाडौँ–कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै धर्ना दिएका छन्।

आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा उनीहरूले धर्ना दिएका हुन्।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन्।
धर्नामा बसेका एक युवकले भने, ‘भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसक्यो। तर, जान पाएका छैनौं। रोस्टर अवधि २ वर्षको। बाँकी रहेको समयमा जान पाइन भने त भविष्य सकियो नि त !’

कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन्।
झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेको धर्ना दिन पुगेका युवाको भनाइ छ।
सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनले बताए। आफूहरूको माग पूरा नभएसम्म ईपीएस कोरिया शाखामा धर्ना जारी राख्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ