काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई पोपको रूपमा प्रस्तुत गर्दै एआईले बनाएको तस्बिर सार्वजनिक गरेपछि विश्वभर आलोचित बनेका छन् । ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट एआईले बनाएको ट्रम्प जस्तो देखिने पोपको फोटो सार्वजनिक भएपछि ट्रम्प आलोचित बनेका हुन् ।
विश्वभरका क्याथोलिक अहिले २१ अप्रिलमा निधन भएका पोप फ्रान्सिसको शोक मनाइरहेका छन् । र, अर्को पोप छनोट गर्ने तयारीमा छन् । यस्तो बेला ट्रम्पले एआईले बनाएको फोटो सार्वजनिक गर्दै आफूलाई पोपका रूपमा प्रस्तुत गरेको भन्दै उनको आलोचना भएको हो ।
बीबीसीका अनुसार न्यूयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले ट्रम्पमाथि आस्थाको खिल्ली उडाएको आरोप लगाएको छ । यसअघि ट्रम्पले पत्रकार सम्मेलनमा ठट्टा गर्दै ‘म पोप बन्न चाहन्छु’ भनेका थिए ।
क्याथोलिक आस्थाको मजाक उडाएको आरोप लाग्ने ट्रम्प पहिलो राष्ट्रपति भने होइनन् । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडनले एक वर्षअघि फ्लोरिडाको टाम्पामा भएको गर्भपतनको पहुँचसम्बन्धी र्यालीमा क्रसको चिन्ह बनाएपछि विवाद उत्पन्न भएको थियो ।
भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले शनिबार पत्रकारसँगको ब्रिफिङमा ट्रम्पको पोस्टबारे प्रश्नको जवाफ दिन अस्वीकार गरे । भ्याटिकनले बुधबारदेखि फ्रान्सिसको उत्तराधिकारी छनोट गर्न कन्क्लेभ आयोजना गर्ने तयारी गरिरहेको छ । ट्रम्पले शुक्रबार राति पोस्ट गरेको तस्बिरमा उनले सेतो क्यासक (लामो पादरी पोशाक) र विशपले परम्परागत रूपमा लगाउने चुच्चो परेको माइट्र (शिरपोश) लगाएका छन् । उक्त तस्बिरमा उनले घाँटीमा ठुलो क्रस लगाएको देखाइएको छ । त्यसका साथै उनी गम्भीर अनुहार भावसहित औँला उठाइरहेका देखिन्छन् ।
न्यूयोर्कका विशपहरूको प्रतिनिधित्व गर्ने न्यूयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले सामाजिक सञ्जाल एक्समा तस्बिरको आलोचना गरेको छ । उक्त समूहले लेखेको छ, “यस तस्बिरमा केही चलाखी वा रमाइलो छैन, राष्ट्रपति महोदय । हामीले भर्खरै हाम्रा प्रिय पोप फ्रान्सिसलाई बिदाइ गरेका छौँ र कार्डिनलहरू सेन्ट पिटरको नयाँ उत्तराधिकारी चुन्न गम्भीर कन्क्लेभमा प्रवेश गर्न लागेका छन् । हाम्रो खिल्ली नउडाउनुहोस् ।”
वामपन्थी झुकाव राख्ने इटालीका पूर्व प्रधानमन्त्री माटेओ रेन्जीले पनि ट्रम्पको पोस्टको आलोचना गरेका छन् । “यो तस्बिरले विश्वासीलाई अपमान गर्छ, संस्थाको अपमान गर्छ र दक्षिणपन्थी विश्वका नेता मजाक गर्नमा रमाइलो मान्छन् भन्ने देखाउँछ,” रेन्जीले एक्समा इटालियन भाषामा लेखेका छन् ।
तर, ह्वाइट हाउसले रिपब्लिकन राष्ट्रपतिले पोप पदको मजाक उडाएको कुनै पनि भनाईलाई अस्वीकार गरेको छ । “राष्ट्रपति ट्रम्प पोप फ्रान्सिसप्रति सम्मान व्यक्त गर्न र उनको अन्त्येष्टिमा भाग लिन इटाली जानुभएको थियो । साथै उहाँ क्याथोलिक र धार्मिक स्वतन्त्रताका कट्टर समर्थक रहनु भएको छ,” अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छिन्
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।