
काठमाडौँ । बेन्को नेपालले आफ्ना दुई स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले आफ्नो बजेट स्मार्टफोन बेन्को भी९० प्लस र बेन्को भी९१ सी मोडेलको मूल्य घटाएको हो ।
११ हजार दुई सय ९९ रुपैयाँ पर्ने बेन्को भी९० प्लसको मूल्य घटेर १० हजार तीनसय ९९ रुपैयाँ कायम भएको छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.५६ इन्चको एचडी डिस्प्ले दिइएको छ । यस्तै फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिईएको छ ।
एन्ड्रोइड १३ मा आधारित यो फोनमा युनिसक टी६०६ अक्टा कोर प्रोसेसर पाउन सकिन्छ । इन्ट्रि लेभलको गेमिङ फोन भनेर दाबी गरिएको यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ जसले १८ वाटको टाइपसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । फोनमा सुरक्षाका लागि फेसअनलक, साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर पनि दिइएको छ । यस्तै यसमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज पाउन सकिन्छ ।
यसैगरी बेन्को भी९१ सीको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँबाट घटेर ११ हजार छ सय ९९ रुपैयाँ कायम गरिएको छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.५६ इन्चको डिस्प्ले दिइएको छ । यस्तै यसमा युनिसक टी६०६ अक्टाकोर प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । रेन्ब ह्वाइट र स्पेस ग्रे कलरमा उपलब्ध यो फोन ४+४ जीबी र्याम सहित १२८ जीबी स्टोरेज भेरियन्टमा पाउन सकिन्छ । फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा स्मार्ट विन्डो, फास्ट साइड माउन्टेड फिङ्गरप्रिन्ट अनलक लगायतका अन्य फिचर पनि पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १३:२३
सामाग्री श्रोत :
टेक पाना
हेटौंडा– बागमती खोलामा राखिएका डाइभर्सनका ह्युमपाइप बाढीले बगाउँदा कान्ति लोकपथ पुन: अवरुद्ध भएको छ ।
डाइभर्सन बनाएर आइतबार दिउँसो पौने १ बजे लोकपथ सञ्चालनमा ल्याइएको थियो । शनिबार राति परेको पानीले ललितपुरको बागमती गाउँपालिका-२ बगुवातर्फको डाइभर्सन बगाएको थियो ।
डाइभर्सनमा ह्युमपाइप राखेर सञ्चालनमा ल्याएको ३ घण्टा बित्न नपाउँदै खोलाले ह्युमपाइप बगाएर लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
लोकपथ मर्मतको काम भइरहेकाले वैशाख १८ देखि जेठ १ सम्म प्रत्येक दिन ६ घण्टा १० बजेदेखि दिनको ४ बजेसम्म बन्द गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
इलाम । यहाँको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गर्दै यसले यस क्षेत्रको खानेपानी समस्या समाधानमा उल्लेख्य टेवा पुग्ने बताए।
उनले देशका विभिन्न ग्रामीण बस्तीमा शुद्ध खानेपानीको अभाव पूर्ति गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको र सोहीअनुसार यहाँ आयोजना सम्पन्न भएको बताए।
मन्त्री यादवले प्रत्येक नेपालीका घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताए। उनले भने,“खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ। सरकारले त्यस्ता समस्या समाधानका लागि ठोस योजनाअघि सारेको छ। खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौँ।”
मन्त्री यादवले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने उल्लेख गरे।
“विपद्का कारण भत्किएका र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गर्न स्थानीय तह र उपभोक्ताको सहलगानीमा एकीकृत रूपमा आयोजना सञ्चालन गर्नेछौँ”, उनले भने।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका निर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले यस आयोजनाअन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ परिवारका ११ हजार ७६९ जना प्रत्यक्ष लाभान्वित हुने बताए।
उनका अनुसार हालसम्म कूल २५० घरधुरी यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजनाअन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ। प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना ‘पम्पिङ’ तथा ‘ग्राभिटी’ दुवै प्रणालीमा आधारित रहेको निर्देशक श्रेष्ठले बताए।
यस आयोजनाको क्षेत्रफल १८ दशमलव आठ वर्ग किलोमिटर रहेको छ। आयोजनाको निर्माण आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको थियो।
आयोजनाको लागत रु ३७ करोड ७२ लाख रहेको र त्यसमा १० प्रतिशत स्थानीय समुदायको साझेदारी रहेको आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनले जानकारी दिए।
कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, कोशी प्रदेशसभा, सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेललगायतका उपस्थिति रहेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KEIIT) मा नेपाली छात्राहरूको शृङ्खलाबद्ध मृत्युप्रति राष्ट्रिय सभामा गम्भीर चासो व्यक्त गरिएको छ । आइतबार बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले सो विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिन सरकारलाई आग्रह गरेका हुन् ।
सांसदहरूले किटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि पनि सरकारले स्पष्ट छानबिन र जवाफ नदिएको आरोप लगाउँदै सो विश्वविद्यालयका लागि एनओसी दिने प्रक्रिया तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किटमा बारम्बार नेपाली विद्यार्थीमाथि घटना हुँदा पनि सरकार मौन रहेको बताए ।
“यसरी घटनाहरू दोहोरिनु नेपालप्रतिको दुर्व्यवहार हो,” उनले भने, “अब उक्त कलेजलाई एनओसी दिनुहुन्न ।” त्यस्तै सांसद मदनकुमारी साहले समेत सो विश्वविद्यालयमा जान चाहने विद्यार्थीहरूलाई एनओसी दिन नहुने बताउँदै अभिभावकहरूलाई सचेत रहन अनुरोध गरेकी छिन् । उनले लम्सालको मृत्यु आत्महत्या नभई संस्थागत समस्या भएको दाबी गर्दै भनिन्, “जहाँ सुरक्षा छैन, त्यहाँ एनओसी दिनु हुँदैन । सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।”
सांसद गंगा कुमारी बेलबासेले यसअघि मृत्यु भएकी प्रकृति लम्सालको पनि अहिलेसम्म छानबिन प्रतिवेदन नआएको भन्दै गृहमन्त्री समक्ष रिपोर्ट माग गरिन् । सांसद सुमित्रा बीसीले उमेर र शैक्षिक अवस्था हेरेर मात्र एनओसी दिने प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखेकी छिन् ।
हाल किटमा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या करिब १२०० रहेको बताइएको छ । सांसदहरूले सो कलेजमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति नभएकाले अब त्यसतर्फ सरकारले गम्भीर कदम चाल्नुपर्ने बताएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १४:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।
रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
वैशाख । रौतहट स्थित विभिन्न दल परित्याग गरी तीनसय जना नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका-१, जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३०० जना मानिस विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले संयुक रुपमा नवप्रवेशी लाई स्वागत गरेका थिए।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शेख कलीमुलालगायत नेतागणको उपस्थिति रहेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । सरकारका लागि प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले दुई जनालाई कैद सजाय सुनाएको छ । गैरकानुनी लाभ आर्जन गरेको ठहर गर्दै अदालतले आइतबार विकल पौडेल र अकबर हुसेनलाई एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।
‘हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम’ सम्बन्धी परियोजनामा कार्डमा आधारित प्रेस मसिनरी सफ्टवेयर तथा हार्डवेयर र कागजमा आधारित प्रेस मसिनरी सफ्टवेयर तथा हार्डवेयरको खरिदसँग यो प्रकरण जोडिएको छ । सरकारले कार्डमा आधारित प्रणालीका लागि ३० करोड र कागजमा आधारित प्रणालीका लागि ४६.६५ करोड गरी कूल ७६.६५ करोड बजेट विनियोजन गरेको थियो । दुई छुट्टाछुट्टै कार्यक्रम भए पनि उनले विनियोजित कूल बजेटलाई एउटै प्याकेज बनाई खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर खरिद प्रक्रिया अगाडि बढाएका थिए । कागजमा आधारित र कार्डमा आधारित छुट्टाछुट्टै प्रिन्टिङ मसिन खरिद गर्न छुट्याइएको बजेटबाट उनले दुई ओटा कागजमा आधारित प्रिन्टिङ मसिन खरिद गरेको ठहर अदालतको छ ।
उक्त परियोजनाको समग्र खरिद प्रक्रियामा प्रायः सबै चरणमा पौडेल आफैँ सक्रिय थिए । बजेट माग गर्ने, खरिदको प्राविधिक स्पेसिफिकेसन बनाउने, लागत अनुमान तयार गर्ने, बोलपत्र सम्बन्धी कागज तयार पार्ने, उल्लिखित कागजातहरू स्वीकृत गर्ने, प्रि-बिड मिटिङ राखी संशोधन गर्ने र बोलपत्र मूल्याङ्कन समितिको संयोजक भई पौडेल आफैँले काम गरेका थिए । यति मात्र नभई प्राविधिक मूल्याङ्कन उपसमिति गठन गरी सो समितिको संयोजकमा पनि उनी आफै बसेका थिए ।
उक्त उपसमितिबाट प्रतिवेदन आफैँलाई दिई सो प्रतिवेदन उपर निर्णय लिने तथा ठेक्का सम्झौता गर्ने, बोलपत्र मूल्याङ्कनको विषयमा पुनरावलोकनका लागि परेका निवेदनहरूमा जवाफ दिने र सार्वजनिक खरिद गर्दा विषय सम्बद्ध प्राविधिक जनशक्तिको सहभागीतामा समेत अनावश्यक हस्तक्षेप गरी अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रिया एवं सार्वजनिक खरिदका स्थापित मूल्य मान्यता विपरीतका काम पौडेलले गरेका थिए ।
यस किसिमको उनको सक्रियतालाई अदलतले खरिद प्रक्रियाका प्रत्येक चरणबद्ध कार्यमा इमान्दारीता, जवाफदेहीता र कानुनको परिपालना नगरी बदनियतपूर्वक संलग्नताको रूपमा व्याख्या गरेको छ । खरिद कार्यमा अतिरिक्त रूपमा गठन गर्नुपर्ने खरिद इकाई गठन समेत गरिएको थिएन । खरिद माग सङ्कलन, सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन नै नगरी अधिक मूल्यमा संवेदनशील आईटी सिस्टम खरिद गरी प्रयोग विहीन अवस्थामा राखेको निष्कर्ष विशेष अदालतले निकालेको छ ।
प्रिन्टिङ प्रेसको खरिद कार्यमा भुक्तानी भएको ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ राज्यलाई हानी नोक्सानी भएको ठहर गर्दै अदालतले सो रकमलाई बिगो कायम गरेको छ । त्यस्तै फैसलामा म्याक्स इन्टरनेसनल र उक्त कम्पनीका सीईओ अकबर हुसेनले उक्त खरिद कार्यको प्रारम्भदेखि नै पौडेलसँग मिलेमतो गरेको बताइएको छ । हुसेनले आफू र आफ्नी श्रीमतीको नाममा दर्ता रहेको कम्पनी मार्फत स्पेसिफिकेसन र दरभाउ उपलब्ध गराई उक्त खरिद कार्य आफ्नो कम्पनीमार्फत गराउनका लागि सम्पूर्ण कार्य गरे गराएका थिए । यो परियोजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा चलाएको थियो ।
कसलाई के सजाय भयो ?
अदालतले पौडेललाई मुख्य कसुरदार तथा म्याक्स इन्टरनेसनल र कम्पनीका सीईओ हुसेनलाई कसुरको मतियार ठहर गरेको छ । अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुरदार ठहर गरेको छ । पौडेललाई १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबर जरिबाना गरी सो बिगो रकम असुल उपर गर्ने हुने ठहर गरेको छ । यसको अर्थ पौडेलले बिगो र जरिबाना गरी कूल २७ करोड १७ लाख पाँच हजार १६० रुपैयाँ भुक्तान गर्नुपर्नेछ । साथै उनलाई कसुरको प्रकृतिको आधारमा एक वर्ष ६ महिना र पदीय हैसियतको भूमिकाको हैसियतमा रहेकाले थप ६ महिना गरी २ वर्ष कैद सजाय सुनाइएको छ ।
यसैगरी, म्याक्स इन्टरनेसनल प्रालि र त्यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनलाई पनि भ्रष्टाचार निवारण ऐन अनुसार कसुरदार ठहर गरिएको छ । यसमा हुसेन र उनको कम्पनी दुवैलाई १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जनही जरिबाना र सोही बराबर जनही बिगो असुल उपर हुने फैसला अदालतले सुनाएको छ । यसको अर्थ म्याक्स इन्टरनेसनल र हुसेन दुवैको गरेर २७ करोड १७ लाख ५ हजार १६० रुपैयाँ बिगो र त्यति (२७ करोड १७ लाख ५ हजार १६० रुपैयाँ) नै बिगो गरी कूल ५४ करोड ३४ लाख १० हजार ३२० रुपैयाँ बुझाउनु पर्नेछ ।
साथै हुसेनलाई एक वर्ष ६ महिना कैद सजाय समेत हुनेछ । पीडित संरक्षण ऐन, २०६४ अनुसार म्याक्स इन्टरनेसनल प्रालि र अकबर हुसेनले थप रूपमा जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ (दुवैको गरेर एक करोड ८ लाख ६८ हजार २०६ रुपैयाँ) पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ ।
अरूले भने पाए सफाई
यस मुद्दामा प्रतिवादी बनाइएका सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्गबहादुर थापाले भने सफाई पाएका छन् । अदालतले उनीहरूलाई खरिद कार्यमा कुनै निर्णायक भूमिका नरहेको भन्दै सफाइ दिएको हो ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ २१:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निचोड निकालेको छ ।
आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थीरतालाई खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामर्थ्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको बताए ।
यस्तै, बैठकले सरकारको नीति तथा कार्यक्रम बिगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ । नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरुले दिएको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगाएतमा ध्यान दिनुपर्ने सुझाव आएको उनले बताए ।
त्यस्तै, स्रोतको अधिकतम ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे । बैठकले सरकारले शिक्षक र चिकित्सकहरुसंग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरिएको ज्ञवालीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा थप सकृयता बढाएको छ। त्यसको लागि २४सै घण्टा सीमा गस्ती गर्ने र सीमाना भएर आवतजावत गर्नेहरूको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ गरिहरेको छ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नको लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यलाई समेत तिव्रता दिइएको छ। यसका साथै सीमामा आवतजावत गर्नेसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाईका साथ गरिएको छ।
यसैगरी हालै बाहिनीपतिको जिम्मेवारी प्राप्त गरेका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनको लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका थिए। सोही अनुसार सीमा जोडिएका बाहिनी मुख्यालयहरुले समेत यसलाई उच्च प्राथमिकतामा राखी सवै जिल्लाहरुमा सुक्ष्म रुपमा खबर संकलन तथा अप्रेशनल कार्यसमेत गरिरहेका छन्।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा निगरानीको लागि झापाको काकडभिट्टा, पर्साको वीरगंज र रुपन्देहीको बेलहिया नाकामा डग स्क्वाड समेत परिचालन गरेर जाँच गर्ने गरेको छ। यसै गरि बिगत देखिनै कोशी , मधेस , लुम्बिनी र सुदुर पश्चिम प्रदेशको सीमाक्षेत्रमा २४सै घन्टा रहने गरि सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा संचालित लामो दुरिको पट्रोललाई निरन्तरता दिइएको छ।
भारतीय समकक्षीसँगको बाहिनी मुख्यालय, गण, गुल्म र बीओपीस्तरको बैठकमा समेत तेस्रो मुलुकका नागरिकहरुको अवैध आवतजावतलाई रोक्ने बिषय मुख्य एजेण्डाको रुपमा रहेकोले सोही बमोजिम समन्वय गरी निगरानी बढाइएको हो।
यसका साथै सरोकारवाला अन्य निकायसँगको समन्वय र सहकार्यमा सीमानाकामा कडाईका साथ जाँच गर्ने, निगरानी बढाउने तथा अवैध क्रियाकलापमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउनको लागि प्रधान कार्यालयबाट आवश्यक निर्देशन तथा परिपत्रसमेत गरिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । विश्वप्रसिद्ध लगानीकर्ता एवम् बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेटले एप्पलका सीईओ टिम कुकको खुलेर प्रशंसा गरेका छन् । शनिबार बर्कशायर ह्याथवेको वार्षिक सम्मेलनमा आफ्नो मन्तव्य दिँदै बफेटले प्रविधि क्षेत्रका दिग्गज व्यक्ति कुकको खुलेर प्रशंसा गरेका हुन् ।
बर्कशायरले गत वर्ष एप्पलमा रहेको आफ्नो लगानीको करिब दुई तिहाइ हिस्सा बिक्री गरेको थियो । त्यसको केही महिनामै कम्पनीका संस्थापक बफेटले टिम कुकलाई ‘अद्वितीय नेतृत्व क्षमता’ भएका व्यक्तिको संज्ञा दिएका हुन् ।
बफेटले सन् २०१६ देखि २०१८ को बीचमा एप्पलमा करिब ३५ अर्ब डलर लगानी गरेका थिए । बिजनेस इन्साइडरका अनुसार २०२३ को अन्त्यसम्ममा उक्त लगानी बढेर १७३ अर्ब डलर पुगेको थियो । यही तथ्यलाई इङ्गित गर्दै ठट्यौली पारामा बेफेटले भने, “टिम कुकले बर्कशायरका लागि मैलेभन्दा धेरै कमाइदिएका छन् ।” उनको यो भनाइपछि सभाहलमा हाँसो गुञ्जिएको थियो ।
गत वर्षको डिसेम्बर अन्त्यसम्ममा कम्पनीसँग ३० करोड शेयर मात्र बाँकी थियो । उक्त शेयरको मूल्य शुक्रबारको प्रति शेयर २०५ डलर मूल्य अनुसार करिब ६२ अर्ब डलर हुन आउँछ ।
एप्पलका सह-संस्थापक स्टिभ जब्ससँग बफेटले कुकको तुलना गरेका थिए । “मैले स्टिभ जब्सलाई छोटो समयका लागि चिनेको थिएँ,” बफेटले भने, “आईफोनका निर्माताले अवश्य पनि यस्ता कामहरू गरे, जुन अरू कसैले गर्न सक्दैनथ्यो ।”
उनले थपे, “स्टिभ बाहेक अरू कसैले एप्पल बनाउन सक्दैनथ्यो । तर टिमबाहेक अरू कसैले यसलाई आजको अवस्थामा विकसित गर्न पनि सक्दैनथ्यो ।” सन् २०११ मा कुकले एप्पलको नेतृत्व सम्हालेदेखि कम्पनीको शेयर मूल्य १५ डलरभन्दा कमबाट बढेर २०५ डलर पुगेको छ । यो भनेको लगभग १४ गुणाको वृद्धि हो । यसले एप्पलको बजार पूँजीकरण ३० खर्ब डलरभन्दा माथि पुर्याएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १७:२०
सामाग्री श्रोत :
टेक पाना