काठमाडौँ । माइक्रोसफ्टले अब खोलिने सबै नयाँ खाताहरूमा पासवर्ड बिना नै साइन-इन गर्ने प्रणाली अनिवार्य गर्ने भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ब्लग पोस्टमा नयाँ प्रयोगकर्ताले पासवर्ड राख्नुपर्ने आवश्यकता नरहने बताएको हो।

“नयाँ प्रयोगकर्ताहरूले विभिन्न पासवर्डलेस विकल्प प्रयोग गरी खाता खोल्न सक्नेछन्, र उनीहरूले पासवर्ड कहिल्यै प्रयोग गर्नुपर्ने छैन,” माइक्रोसफ्टको ब्लगमा उल्लेख गरिएको छ।
पासवर्डलेस साइन-इन प्रणालीमा बायोमेट्रिक प्रमाणीकरण (जस्तै औँठाछाप वा अनुहार स्क्यान) र प्रयोगकर्ताको डिभाइससँग जोडिएको पिन कोडमार्फत साइन-इन गर्न सकिनेछ । माइक्रोसफ्टका अनुसार यस प्रविधिले साइबर सुरक्षालाई बलियो बनाउनुका साथै प्रयोगकर्ताको लग-इन अनुभवलाई पनि सहज बनाउनेछ।
कम्पनीले पासवर्डलेस प्रविधिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न साइन-इन इन्टरफेस पनि परिमार्जन गरेको छ। नयाँ इन्टरफेसले सबैभन्दा सुरक्षित विकल्प पहिचान गरी प्रयोगकर्तालाई डिफल्ट रूपमा सुझाव दिने बताइएको छ।

हाल पासवर्ड प्रयोग गरिरहेका प्रयोगकर्तालाई पनि पासवर्ड हटाएर पासकी (passkey) प्रयोग गर्न मिल्ने सुविधा दिइएको छ। कम्पनीका अनुसार यो परिवर्तनले लग-इन समय घटाउने, पासवर्ड प्रयोगमा २० प्रतिशतसम्म कमी ल्याउने र फिशिङ तथा व्यक्तिगत विवरण चोरीजस्ता साइबर आक्रमणबाट सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ ९:३
सामाग्री श्रोत :
टेक पाना