काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।

धनुषाको धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र.२-०२-००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ तेजनगर बस्ने २१ वर्षीय राजेश खत्वे मण्डलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको स्थानीय क्लिनिक राजाराममा उपचार भइरहेको छ। हाल फरार बयल गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी धनुषाकै मिथिला नगरपालिका-३ लालभित्तिस्थित सडकमा ना.५ ख ६१०० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया दुर्गा देवी महत्तोको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनकुटाको धनकुटा नगरपालिका-९ रूद्रबारीस्थित सडकमा मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को.२ त ७९३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार शहिदभूमि गाउँपालिका-७ बस्ने २० वर्षीय बिबेक बगाले (थापा) को घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-३ बिगेपस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय जोखन कोईरीको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा प्रदेश २-०३-०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय उमेश तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सामाग्री श्रोत :