काठमाडौँ । नागरिक एपबाटै ट्राफिक प्रहरीको सचेतना कक्षा लिन मिल्ने अर्को सातादेखि सुरु हुने भएको छ । यो सुविधा १९ वैशाखमा परेको राष्ट्रिय सूचना प्रविधि दिवस पारेर सञ्चालनमा आउने जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय निकट स्रोतले जानकारी दिएको हो ।

यसका लागि आवश्यक प्राविधिक परीक्षण समेत सम्पन्न भइसकेको नागरिक एपका एक अधिकारीले बताए । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा तयार भएको यो सिस्टम एआईमा आधारित रहेको छ । नागरिक एपमा अनलाइन कक्षा लाइभ गर्न सकिने गरी अपडेट पठाइ सकिएको र उद्घाटन हुने बित्तिकै लाइभ हुने बताइएको छ ।
सेवा सुरु भए पश्चात् नागरिक एपका साथै ज्ञान बजारको र नेपाल प्रहरीको एपबाट समेत सो कक्षा लिन सकिनेछ । सम्बन्धित व्यक्तिको भेरिफिकेसनको काम नागरिक एपले गर्नेछ । जसका लागि व्यक्तिको नाम र मोबाइल नम्बर नागरिक एपबाट भेरिफाई हुने व्यवस्था मिलाइएको छ । ट्राफिक नियम उलङ्घन तथा चिट नम्बर भने नेपाल प्रहरीको सिस्टमबाट लिइनेछ ।
यो सफ्टवेयर सिस्टममा रहेको एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बढी समय अनलाइन कक्षामा नदेखिए आफैँ यकिन गर्न सक्छ । साथै असम्बन्धित व्यक्ति बसेको कुरा समेत यसबाट पहिचान हुने बताइएको छ । ट्राफिक चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र साथमा नभए पनि नागरिक एपमा रहेको लाइसेन्स देखाए पुग्ने व्यवस्था यस अघि नै कार्यान्वयनमा आइसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ २०:१०
सामाग्री श्रोत :
टेक पाना