काठमाडौं । तपाईंसँग कुनै महत्त्वपूर्ण फोटो छ, तर त्यो धमिलो छ भने त्यसले जति चित्त अरूलाई त्यति दुखाउँदैन होला । आफूसँग भएको पुरानो फोटो वा कुनै राम्रो ठाउँमा खिचेको आफ्नो फोटो छ तर त्यो ब्लर वा भनौँ धमिलो छ भने त्यसले मन खिन्न बनाउँछ । तर, चिन्ता नलिनुहोस् । हामी एउटा यस्तो एपको चर्चा गर्दैछौँ जसले तपाईंले फोटो ब्लर वा धमिलो भएर सामना गरेको समस्या क्षणभरमै समाधान गर्छ । हामीले चर्चा गर्न लागेको एप वा भनौँ प्लेटफर्मको नाम अनब्लर इमेज एआई (Unblur Image AI) हो ।

अनब्लर एआईले फोटोको क्वालिटी बढाउन कसरी काम गर्छ ?
अनब्लर इमेज एउटा यस्तो वेबसाइट हो, जसलाई प्रयोग गर्न साइनअप गरिरहन वा रजिस्टर गरेर अकाउन्ट बनाइरहन पर्दैन । तपाईंले आफ्ना धमिलो फोटो सङ्कलन गरेर उक्त वेबसाइटमा राख्नुभयो भने त्यसले क्षणभरमै तपाईंको फोटोको क्वालिटी बढाइदिन्छ ।
यो साइटमा फोटो एडिट गर्ने अन्य थुप्रै अप्सन पनि छन् । तर, हामी सबैभन्दा पहिले यसमा भएको ‘अनब्लर’ फिचरले कसरी काम गर्छ भन्ने विषयमा चर्चा गर्छौँ । सबैभन्दा पहिले यहाँ क्लिक गरेर अनब्लर इमेजको वेबसाइटमा जानुहोस् ।

त्यसपछि तल देखिएको बक्समा फोटो अपलोड, पेस्ट वा ड्रप गर्नुहोस् । एक पटकमा तीन ओटासम्म फोटो अपलोड गर्न सकिन्छ । तर, एक पटकमा एउटा मात्र फोटो अपलोड गर्दा नतिजा राम्रो पाउन सकिन्छ । फोटो अपलोड गरिसकेको केही सेकेन्डमा तपाईंको फोटो दायाँपट्टि हाई क्वालिटीमा देखिन्छ । बायाँपट्टि भने पहिले फोटो कस्तो क्वालिटीमा थियो भन्ने देखिन्छ । त्यसपछि माथि रहेको डाउनलोडको बटनमा ट्याप गरेर फोटो डाउनलोड गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई उक्त फोटो चित्त बुझेको छैन भने फोटोको माथि क्रस (X) को साइन हुन्छ, त्यसमा क्लिक गरेर हटाउन सक्नुहुन्छ ।
अनब्लर इमेजका अनुसार यसले फोटोको क्वालिटी अझ स्तरीय बनाउन अत्याधुनिक अल्गोरिदमको प्रयोग गर्छ । उक्त अल्गोरिदमले फोटोको पिक्सेललाई विश्लेषण गर्छ । एक पटक फोटो अपलोड गरिसकेपछि त्यसमा भएको एआईले फोकस आउट भएको भाग पत्ता लगाउँछ र सटीक रूपमा एड्जस्ट गर्ने प्रयास गर्छ । त्यसपछि फोटोमा फोकस हुनुपर्ने वस्तुको किनारा हाई क्वालिटीको देखिन्छ, त्यसको टेक्स्चर र डिटेलमा पनि सुधार हुन्छ ।
यो प्रक्रिया अनब्लर इमेजले क्षणभरमै गर्छ । त्यसैले केही सेकेन्डमै फोटोको क्वालिटी बढाउन चाहने प्रयोगकर्ताका लागि यो वेबसाइट उपयुक्त हुन सक्छ । खासगरी फोटोशप जस्ता अत्याधुनिक फिचर भएका सफ्टवेयर प्रयोग गर्दा जति समय लाग्छ, त्योभन्दा धेरै कम समयमा यस प्लेटफर्मले फोटोको क्वालिटी बढाउँछ ।
यो प्लेटफर्म वेब एपमा सजिलै प्रयोग गर्न सकिन्छ । खासगरी ग्राफिक्स डिजाइनिङका क्षेत्रमा नयाँ भएकालाई स्मार्टफोन, ट्याब्लेट वा डेस्कटपमा प्रयोग गर्न सजिलो हुन्छ । यदि तपाईं आफ्नो डेटाबारे चिन्तित हुनुहुन्छ भने यसमा अकाउन्ट साइनअप गरिरहन पर्दैन । तर, अकाउन्ट नबनाउँदा तपाईंले कम फिचर मात्र प्रयोग गर्न पाउनुहुन्छ ।
अनब्लर इमेजबाट फोटोको क्वालिटी बढाउने अन्य तरिका
अनब्लर इमेजमा यस्ता अन्य फिचर छन् जसले तपाईंको फोटोको क्वालिटी बढाउन मद्दत गर्छन् । तपाईंले यसमा उपलब्ध अन्य विभिन्न फिचर प्रयोग गरी फोटोको क्वालिटी बढाउन सक्नुहुन्छ ।
-
अपस्केलरः अनब्लर इमेजले कुनै पनि फोटोलाई ४०००×४००० पिक्सेलसम्म अपस्केल गर्न सक्ने दाबी गरेको छ । यदि कुनै प्रडक्टको क्वालिटी बढाउनु पर्ने छ भने यो फिचर तपाईंका लागि उपयुक्त हुन्छ ।
-
डिन्वाइजरः यदि तपाईंको फोटोमा न्वाइज (ससाना दाग) छ भने फोटो ब्लर देखिन्छ । कम प्रकाश र उच्च आईएसओ भएका फोटोमा न्वाइज देखिन्छ । अनब्लर इमेजको एआई डिन्वाइजर फिचर प्रयोग गरेर फोटोमा भएको न्वाइज हटाउन सकिन्छ ।
-
पुरानो फोटोलाई नयाँ बनाउनेः तपाईंसँग पुरानो ब्ल्याक एन्ड ह्वाइट फोटो छ भने त्यसलाई कलरफुल र हाई क्वालिटीको बनाउन सक्नुहुन्छ । अनब्लर इमेजको एआई डिन्वाइजरले छुटेको भाग र आवश्यक भाग थप्छ ।
-
भिडिओ अनब्लरः यस प्लेटफर्मले भिडिओको क्वालिटी बढाउन मद्दत गर्छ । यसमा एक पटकमा ५०० एमबीभन्दा कम भिडिओलाई निःशुल्क क्वालिटी बढाइदिन्छ ।
अनब्लर इमेजको विकल्पमा अरू के के गर्न सकिन्छ ?
अनब्लर इमेजले एआईको सहायताले विभिन्न फिचर उपलब्ध गराउँछ । तर, तपाईं अझ बढी फिचर भएको प्लेटफर्म खोजिरहनु भएको छ भने यी प्लेटफर्म उपयुक्त हुन्छन् ।
इमेजको क्वालिटी बढाउने सवालमा एडोबी फोटोशप र लाइटरुम उपयुक्त सफ्टवेयर हुन् । त्यस्तै अनलाइन फोटो एडिटर फोटोर पनि ब्लर हटाउन, क्वालिटी बढाउन र फोटोलाई स्तरीय बनाउन सघाउने टुल हो ।
त्यसैगरी हिटपअ फोटो एआई पनि यस्तो टुल हो जसले फोटो अनब्लर गर्न, क्वालिटी बढाउन र समग्र फोटोलाई स्तरीय बनाउन सघाउँछ । त्यसका साथै रेमिनाई र आर्टगुरु पनि निःशुल्क एक क्लिककै भरमा फोटोको क्वालिटी बढाउन सघाउने टुल हुन् । यदि तपाईं क्यान्भाको प्रिमियम वा स्टुडेन्ट प्रयोगकर्ता हुनुहुन्छ भने त्यसमा भएको इमेज अपस्केलर टुलको सहायताले पनि फोटोको क्वालिटी बढाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ २३:१२
सामाग्री श्रोत :
टेक पाना