कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनी नगरपालिका–७ की २० वर्षीया महिलाको दोधारा चाँदनी अस्पतालमा पहिलोपटक इमरजेन्सी एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।
२०८२ साल असार ५ गते ती महिला आकस्मिक कक्षमा दुई दिनदेखिको पेट दुख्ने, वाकवाक लाग्ने, ज्वरो आउने जस्ता लक्षणसहित भर्ना भएकी थिइन्। प्रारम्भिक रूपमा हेल्थ असिस्टेन्ट सुभाष बुढाले औषधि उपचार गरे तापनि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. रोहित भट्टले वरिष्ठ जनरल प्राक्टिसनर डा. हरिओम केशरीसँग परामर्श गरे।
रगत परीक्षण, भिडियो एक्स-रे र लक्षणका आधारमा “एक्युट एपेन्डिसाइटिस”को पुष्टि भएपछि बिरामीको अवस्था मूल्यांकन गरियो। एल्वाराडो स्कोर ८ देखिएपछि शल्यक्रिया आवश्यक रहेको ठहर चिकित्सकले गरेका थिए। शल्यक्रिया नगरे संक्रमण फैलिने, आन्द्रा फुट्ने, सेप्सिस हुनेजस्ता सम्भावित जटिलताहरूबारे बिरामी तथा उनका अभिभावकलाई राम्ररी जानकारी दिइयो। आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र जान नसक्ने बताएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा इन्फर्म कन्सेन्टसहित शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।
डा. हरिओम केशरीको नेतृत्वमा डा. रोहित वर्मा, एनेस्थेसिया सहायक शंकर कुँवर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनारको सहयोगमा मध्यरातमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो। बिरामीलाई डिस्चार्ज गरिसकिएको छ । तीन पटकको फलोअपमा पनि कुनै जटिलता नदेखिएको अस्पतालले जनाएको छ।
डा. केशरी विगत १५ वर्षदेखि अछाम, खोटाङ लगायत दुर्गम जिल्लामा सेवा दिँदै आएका जनरल प्राक्टिसनर तथा जनस्वास्थ्य विज्ञ हुन्। इमर्जेन्सी केसमा स्पाइनल एनेस्थेसिया दिने अनुभवसमेत रहेका डा. केशरीले दोधारा चाँदनी अस्पतालमा आएपछि प्रसूति, अपरेसन, आकस्मिक सेवा लगायत विभिन्न क्षेत्रमा सुधार ल्याएका छन्।
अस्पतालमा सेवा विस्तार भएसँगै खटिमा वा महेन्द्रनगरसम्म जानुपर्ने आवश्यकतामा कमी आएको छ। डा. केशरीकै नेतृत्वमा हालै एक इमर्जेन्सी सिजेरियन सेक्सन मात्र ४३ सेकेन्डमै सफलतापूर्वक सम्पन्न गरिएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जीवन किरण स्नेहीका अनुसार निकट भविष्यमा हाइड्रोसिल, हर्निया, बवासिर, पिस्टुला, मिनी ल्याप भ्यासेक्टोमी जस्ता शल्यक्रियाहरू थप गर्दै लैजाने योजना छ।
सामाग्री श्रोत :
swasthyakhabar

