२०८२ श्रावण ११ शनिबार
LATEST NEWS
२०८२ श्रावण ११ शनिबार

काठमाडाैं  –   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौं र चौतारा अस्पताल, चौतारा सिन्धुपाल्चोक बीच स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

दुवै संस्थाबीच स्याटेलाइट क्लिनिकमार्फत विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साउन ९ गतेदेखि लागु हुने गरी समझदारी गरिएको हो।

प्रथम पक्ष ( शुक्रराज ट्रपिकल)ले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानून र स्वीकृत मापदण्डको अधीनमा रही यातायात र खाजा खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउनु पर्ने  बताइएको छ  । स्याटेलाइट क्लिनिक संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्नेछ । स्याटेलाइट क्लिनिक संचालन गर्दा प्रत्येक महिनाको दोश्रो हप्ताको आइतवार र चौथो हप्ताको आइतवार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोग लगाएत अन्य विशेषज्ञ सेवाहरु संचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।


दोश्रो पक्ष (चौतार अस्पताल)ले स्याटेलाइट क्लिनिक सञ्चालन गर्न सहज वातावरण निर्माण गर्ने  बताइएको छ। त्यसैगरी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्नु पर्ने उल्लेख छ।

सम्झौतामा टेकुका तर्फबाट निर्देशक डा युवनिधि बसौला र चौतारका तर्फबाट निमित्त मेसु डा रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्। टेकुका प्रमुख कन्सल्ट्यान्ट डा विमल चालिसे, अस्पताल प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्झौता भएको हो। 

सामाग्री श्रोत :
swasthyakhabar

मटिहानी- प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसुति गृहको उद्घाटन गरेका छन्।

मटिहानी नगरपालिका-८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात प्रधानमन्त्री ओली मटिहानी-६ मा पुगेर प्रसुति गृहको उद्घाटन गरेका हुन्।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसुति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका छन्। पाँच शैयाको प्रसुति गृहको उद्घाटनसँगै यसक्षेत्रका प्रसुति हुने महिला लाभान्वित हुने जनाइएको छ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शैयाको अस्पताल बनाउन नसकिएको बताउँदै पाँच शैयाको प्रसुति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताए।

नवनिर्मित प्रसुतिगृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिँग रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिग कोठा, शौचालय, सोधपुछ लगायतका सुविधा सम्पन्न कोठाहरु रहेका छन्। मटिहानीबासीहरुले प्रसुति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागी राम्रो हुने उनले बताएका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

बाजुरा – बुढीगंगा नगरपालिका–७ स्थित झली घर भएकी २२ वर्षीया पार्वती ल्वारले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छिन्। नियमित स्वास्थ्य जाँच गराएकी पार्वतीलाई सुत्केरी हुने मिति साउन २० गते तोकिएको थियो। तर सो मिति आउनुभन्दा दुई हप्ता अगाडि, साउन ७ गते विहान सुत्केरी व्यथाले च्यापेपछि टाँटे स्वास्थ्य चौकी पुग्ने क्रममा उनले बाटोमै तेस्रो सन्तानको रूपमा छोराको जन्म दिइन्।

पार्वती माइती घर कोटबाडामा आएकी थिइन्, जहाँबाट टाँटे स्वास्थ्य चौकी पुग्न करिब ३० मिनेट लाग्छ। स्वास्थ्य चौकी नपुग्दै व्यथाले च्यापेपछि उनी बाटोमै थचक्क बसिन् र त्यसैबेला बच्चा जन्माइन्। पार्वतीले आमा वा परिवारका सदस्यलाई समेत सुरुमै केही बताइनन्।

घटना भएको जानकारी पाउनेबित्तिकै टाँटे स्वास्थ्य चौकीकी सिअनमी मंगला कुमारी बोहरा नेतृत्वको तीन सदस्यीय स्वास्थ्यकर्मी टोली तत्काल उद्दारका लागि पुगेको थियो। टोलीले स्टेचरमार्फत पार्वती र नवजात शिशुलाई स्वास्थ्य संस्थामा पुर्‍याई सुरक्षित रूपमा सुत्केरी प्रक्रिया सम्पन्न गराएको हो।

१८ वर्ष नपुग्दै विवाह गरेकी पार्वतीले २२ वर्षकै उमेरमा तेस्रो बच्चा जन्माएकी हुन्। विगतमा मानसिक तनावका कारण केही समय औषधी सेवन गरेकी पार्वतीको स्वास्थ्य अवस्था पनि कमजोर रहेको स्वास्थ्य संस्थाको भनाइ छ।

श्रीमान् गणेश ल्वार भारतमा चौकीदारीको काम गर्छन्। गर्भावस्थाको सुरूवातदेखि नै उनी पार्वतीसँग थिएनन्। सासु-ससुरा अलग बस्ने, पोइली घरमा पनि हेरचाह नपाउने र स्वास्थ्य संस्था टाढा पर्ने भएकाले उनी माइती घर आएकी थिइन्।

 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – नक्कली औषधि उत्पादन गरेर अनलाइनमार्फत् बिक्री वितरण गरिएको विषयमा औषधि व्यवस्था विभागले  छानविन प्रक्रिया अगाडि बढाएको छ। 

औषधि व्यवस्था विभागले अवैधरुपमा औषधि बिक्री वितरण गर्दै आएका काठमाडौंको नागार्जुन नगरपालिकामा सञ्चालित औषधि पसलमा छापा मारेको थियो ।  त्यसक्रममा विभागले मोटोपन घटाउने, मदिराको लत छुटाउने, थाइराइड, यौन क्षमता बढाउनेलगायतका विभिन्न प्रकारका नक्कली औषधि उत्पादन र बिक्री वितरण हुँदै आएको फेला पारेको हो। 

विभागले अवैधरुपमा औषधिको बिक्री वितरण गर्ने पसल तत्कालै बन्द गराउनका लागि निर्देशन समेत दिएको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार त्यस्ता धन्दामा संलग्नहरुलाई हाल थुनामा राखिएको छ ।  त्यसको छानविनका लागि विभागले अनुसन्धान अधिकृत समेत तोकिसकिएको जनाएको छ। 

छानबिन गरिसकेपछि  मात्रै  उनीमाथि कार्वाहीको प्रक्रिया अगाडि बढ्ने महानिर्देशक ढकाल बताउँछन्। ‘अनुमती बिना नक्कली औषधि बिक्रीविरणमा औषधि ऐनका विभिन्न दफामा उल्लेख भए अनुसार एक वा धेरै कारवाही हुने भन्ने छानविन समितीको प्रतिवेदन अनुसार प्रस्ताव गरिन्छ’ ,उनले भने ‘कारवाही के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन’ , ‘त्यसका लागि अनुसन्धान सकिनुपर्ने हुन्छ।’  

उनीहरुका बयानका आधारमा विभागले अन्य स्थानमा पनि त्यस्तो धन्दा हुँदै आएको आशंकामा छापा मार्ने कार्यलाई निरन्तरता दिने बताएको छ। हाल नक्कली औषधिको बिक्री वितरण हुँदै आएको आशंकामा औषधि व्यवस्था विभागले नेपालभर अनुगमन कार्य अगाडि बढाइएको  विभागले जनाएको छ। 

हाल सम्म नेपालमा अनलाइन मार्फत् औषधिको बिक्री वितरण गर्न पाउने प्रावधान छैन। यदि कसैले त्यस्तो कार्य गरेमा त्यो कानुन विपरीत भएको ठहर गरिने छ।औषधी ऐन २०३५ को दफा ३४ अनुसार औषधीको अनुचित प्रयोग वा दुरुपयोग गरेमा, औषधिमा मिसावट गरेमा वा अन्य वस्तुलाई औषधि भनी बिक्री गरेमा जरिवानादेखि जन्मकै सम्मको सजाय हुने व्यवस्था उल्लेख छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

सुदूरपश्चिमको डडेल्धुरा अस्पतालले एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाएको छ। स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी निर्देशकबाट सरुवा भएर डडेल्धुरा अस्पताल पुगेकी डा सुधा देवकोटाले शुक्रबार जिम्मेवारी सम्हालेकी हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

विश्वमा औषधि खान नपाएर भन्दा पनि पाएको औषधि सही तरिकाले खान नजानेर/नखाएर स्वास्थ्यमा आउने जटिलताहरू धेरै छन्। नेपालमा झण्डै ६० प्रतिशत नागरिकलाई औषधिको बारेमा सही जानकारी छैन भनिन्छ। आधा जति औषधिहरू सही तरिकाले लेखिँदैन, सही तरिकाले वितरित हुँदैनन्,  त्यसैमा पनि आधा औषधिहरू सही तरिकाले प्रयोग हुँदैन। यस्तो स्थितिमा तपाईं हाम्रो शरीरमा रासायनिक तत्त्व औषधिले कस्तो प्रभाव पारेको होला? सोचौँ त तपाईँ हाम्रो शरीरका बारेमा हामीले नसोचे कसले सोचिदिन्छ?

जब बिरामीले आफ्नो उपचारबारे डाक्टरसँग सोध्न सक्दैन, आफूले प्रयोग गर्ने औषधि बारेमा जानकारी राख्दैन, औषधिका राम्रा नराम्रा पाटाहरूबारे प्रश्न गर्दैन, बजारमा अरु पनि विकल्प भएको बेला सस्तो र सर्वसुलभ औषधि लेख्न भन्दैन, जथाभावी भिटामिन तथा खाद्यपुरक लेखेको थाहा पाउँदैन, तबसम्म हामी यस्तै पीडित हुन्छौँ। सामान्य पेट, टाउको तथा मांसपेशीको दुखाई, ज्वरो, रुघाखोकी, लगायत कैयन समस्यामा औषधि आवश्यक नहुन सक्छ, तर पनि हामी निरन्तर आफू खुसी औषधि खाइरहेका छौं, किन? 

औषधिले शरीरमा कसरी काम गर्छ, कसरी शरीरबाट निष्कासन हुन्छ, औषधिका सकारात्मक तथा नकारात्मक प्रभावहरू, औषधि-औषधि वा औषधि-खाना बीचका अन्तरक्रियाहरू, औषधि आविष्कार प्रक्रिया र लाग्ने समय, प्रतिजैविक प्रतिरोध लगायत हरेक स्वस्थ रहन चाहनेले जान्नैपर्ने कुराहरू हामीले “औषधिको ज्ञान स्वस्थ ज्यान” पुस्तकमार्फत समाज जागरण गरिरहेका छौं, मैले आफ्नो युट्युब र फेसबुक मार्फतबाट निरन्तर त्यस्ता सामग्रीहरु सम्प्रेषण गरिरहेको छु। 

औषधि कम्पनीहरूले आफ्नो औषधि जति सक्यो धेरै बेच्नु छ। यसका लागि उनीहरूले आफ्ना बजार प्रतिनिधि मार्फत डाक्टर, फार्मासिस्ट लगायत हरूलाई  प्रभावमा लिन्छन् र सके सम्म धेरै औषधि लेखाउँछन्। कतिपय अवस्थामा बिरामीलाई औषधि नै आवश्यक हुँदैन। अनावश्यक रूपमा धेरै औषधिहरू/भिटामिनहरू लेखिएका छन्। यस्तो अवस्थामा आखिर मारमा पर्ने तपाईँ हामी हो। सहि उपचार र औषधि पाउँला र रोग निको होला भनेर स्वास्थ्य संस्था र चिकित्सक कहाँ जाने तर बिरामीले उल्टै औषधिको गलत प्रभावबाट स्वास्थ्यमा जटिलता भोग्नुपर्यो भने स्थिति कस्तो होला? अधिकांश स्वास्थ्यकर्मीहरू राम्रा पक्कै होलान् तर तपाईँले दिएको निर्देशन सही तरिकाले मान्नुभएन, आफू खुसी जथाभावी औषधि खाने र बीचैमा छोड्ने गर्नुभयो भने यसका प्रभावहरू के होलान्? 

औषधि तपाईँ हामीले दैनिक रूपमा खाने सामान्य खाना जस्तो होइन। यो एक शुद्ध रासायनिक तत्त्व हो। यसका शरीरमा अनेक राम्रा, नराम्रा तथा कहिलेकाहीँ अत्यन्तै जटिल ज्यानै लिनसक्ने खालका प्रतिक्रियाहरू हुन्छन्। वर्षौ लगाएर विभिन्न परीक्षणहरू पास गरेर औषधिको  आविष्कार हुन्छ र सक्दो धेरैलाई सुरक्षित बनाइएको हुन्छ। तर पनि यसका कैयन साइड इफेक्टहरु हुन्छन्। सामान्य साइड इफेक्ट देखिने बित्तिकै औषधि खान छोडिहाल्नु हुँदैन र सन्चो भयो भन्दैमा बीचैमा पूर्ण डोज नखाई छोड्नु पनि हुँदैन। यसका लागि हरेकलाई औषधिका बारेमा  आधारभूत जानकारी हुन जरुरी छ।

तपाईँ हाम्रो गाउँ टोल घर छिमेकमा गैरकानुनी औषधि पसलहरू वा दर्ता नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाहरू त छैनन्? नेपालमा बेच्नै नमिल्ने औषधिहरू बिक्री वितरण भइरहेका त छैनन्? औषधिहरूको दुरुपयोग भएर कतै लागू औषधको रुपमा प्रयोग भइरहेका त छैनन्? चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्ने औषधिहरू समेत खुला रूपमा बिक्री वितरण भएका त छैनन्? जथाभावी एन्टिबायोटिक वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू बिक्री वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू जथाभावी फ्याकिएका त छैनन्? तोकिएको मूल्यभन्दा महँगोमा बेचिएका त छैनन्? यि सबैका बारेमा सम्बन्धित निकायमा तपाईं हामीले उजुरी नगर्ने, समाजलाई जागृत नगर्ने, रूपान्तरणका लागि तपाईँ हामी तयार नहुने हो भने, आखिर कसले गरिदिन्छ?

नेपाल फार्मेसी परिषद्, नर्सिङ काउन्सिल, नेपाल मेडिकल काउन्सिल आदि निकायमा दर्ता नभएका अयोग्य व्यक्तिहरूले सेवा दिइरहेका त छैन? राज्यका निकायहरू लथालिङ्ग हुँदा तपाईँ हामी झन् जागरुक हुन, सम्बन्धित निकायमा उजुरी गर्न र एक  सकारात्मक सामाजिक आन्दोलन खडा गर्न जरुरी छ। के तपाईँ यसका लागि तयार हुनुहुन्छ?

माथि उल्लेखित पुस्तकको उद्देश्य, औषधिको बारेमा आधारभूत जानकारी दिनु, औषधिको सही प्रयोग, बिक्री वितरण, सही भण्डारण, औषधि औषधि बीच हुने प्रतिक्रियाहरू, औषधि र खानाबीच हुने प्रतिक्रियाहरू, औषधिको मात्रा र उपचार अवधि, एन्टिमाइक्रोबायल प्रतिरोध, शिशु र गर्भावस्था तथा विशिष्ट शारीरिक अवस्थामा  प्रयोग गरिने औषधिहरूको बारे, औषधिका सकारात्मक र नकारात्मक प्रभावहरू, औषधिका सामान्यतया देखिने नकारात्मक प्रभावहरू, औषधिका दुरुपयोगहरू, कस्ता कस्ता औषधि टुक्र्याउन मिल्छ मिल्दैन, खाली पेटमा वा खाना खाएर खाने औषधिहरू, स्वास्थ्य संस्था-स्वास्थ्यकर्मी-बिरामीहरूका काम कर्तव्य र अधिकारहरू, डाक्टरले अनावश्यक औषधि लेखेको कसरी थाहा पाउने, एउटै काम गर्ने महँगोको सट्टा सस्तो औषधि कसरी प्राप्त गर्ने, यदि कुनै गलत अभ्यास भएको भेटिए सम्बन्धित निकायमा उजुरी कसरी गर्ने लगायत अनेक कुराहरूमा उल्लेखित पुस्तकले जानकारी दिने प्रयत्न गरेको छ। 

नेपालमा कैयौँ औषधि पसलहरू दर्ता नगरी चलाइएका घटनाहरू सुनिरहन्छन्, कैयौँ अस्पतालहरू बिनादर्ता सञ्चालन भएका घटनाहरू समाचारमा हामी सुनिरहन्छौं। त्यसैले समग्र समाज नै यस विषयमा जागृत हुन जरुरी छ।  आआफ्नो ठाउँबाट सक्दो योगदान पुर्‍याउन जरुरी छ। आउनुहोस् आज हामीसँगै संकल्प लिउन है? मैले कुनै पनि अनियमितता भएको थाहा पाउने बित्तिकै तत्काल सम्बन्धित निकायमा उजुरी गर्छु। पत्रपत्रिका सामाजिक सञ्जालको उपयोग गरी जानकारी गराउँछु। 

(लेखक डा. दीर्घ राज जोशी औषधीय रसायन विज्ञानमा विद्यावारिधि  प्राप्त तथा भाइरसविरुद्धको औषधि अनुसन्धानमा पोस्टडक्टरल फेलो हुन्। हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकको रूपमा कार्यरत छन्)

सामाग्री श्रोत :
swasthyakhabar

स्वास्थ्य खबरपत्रिका साउन अंक २०८२ (ईपेपर)
सामाग्री श्रोत :
swasthyakhabar

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनी नगरपालिका–७ की २० वर्षीया महिलाको दोधारा चाँदनी अस्पतालमा पहिलोपटक इमरजेन्सी एपेन्डिसाइटिसको सफल शल्यक्रिया  गरिएको छ।

२०८२ साल असार ५ गते ती महिला आकस्मिक कक्षमा दुई दिनदेखिको पेट दुख्ने, वाकवाक लाग्ने, ज्वरो आउने जस्ता लक्षणसहित भर्ना भएकी थिइन्। प्रारम्भिक रूपमा हेल्थ असिस्टेन्ट सुभाष बुढाले औषधि उपचार गरे तापनि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. रोहित भट्टले वरिष्ठ जनरल प्राक्टिसनर डा. हरिओम केशरीसँग परामर्श गरे।

रगत परीक्षण, भिडियो एक्स-रे र लक्षणका आधारमा “एक्युट एपेन्डिसाइटिस”को पुष्टि भएपछि बिरामीको अवस्था मूल्यांकन गरियो। एल्वाराडो स्कोर ८ देखिएपछि शल्यक्रिया आवश्यक रहेको ठहर चिकित्सकले गरेका थिए। शल्यक्रिया नगरे संक्रमण फैलिने, आन्द्रा फुट्ने, सेप्सिस हुनेजस्ता सम्भावित जटिलताहरूबारे बिरामी तथा उनका अभिभावकलाई राम्ररी जानकारी दिइयो। आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र जान नसक्ने बताएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा इन्फर्म कन्सेन्टसहित शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।

डा. हरिओम केशरीको नेतृत्वमा डा. रोहित वर्मा, एनेस्थेसिया सहायक शंकर कुँवर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनारको सहयोगमा मध्यरातमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो।  बिरामीलाई  डिस्चार्ज गरिसकिएको छ । तीन पटकको फलोअपमा पनि कुनै जटिलता नदेखिएको अस्पतालले जनाएको छ।

डा. केशरी विगत १५ वर्षदेखि अछाम, खोटाङ लगायत दुर्गम जिल्लामा सेवा दिँदै आएका जनरल प्राक्टिसनर तथा जनस्वास्थ्य विज्ञ हुन्। इमर्जेन्सी केसमा स्पाइनल एनेस्थेसिया दिने अनुभवसमेत रहेका डा. केशरीले दोधारा चाँदनी अस्पतालमा आएपछि प्रसूति, अपरेसन, आकस्मिक सेवा लगायत विभिन्न क्षेत्रमा सुधार ल्याएका छन्।

अस्पतालमा सेवा विस्तार भएसँगै खटिमा वा महेन्द्रनगरसम्म जानुपर्ने आवश्यकतामा कमी आएको छ। डा. केशरीकै नेतृत्वमा हालै एक इमर्जेन्सी सिजेरियन सेक्सन मात्र ४३ सेकेन्डमै सफलतापूर्वक सम्पन्न गरिएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जीवन किरण स्नेहीका अनुसार निकट भविष्यमा हाइड्रोसिल, हर्निया, बवासिर, पिस्टुला, मिनी ल्याप भ्यासेक्टोमी जस्ता शल्यक्रियाहरू थप गर्दै लैजाने योजना छ।

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट