विश्वमा औषधि खान नपाएर भन्दा पनि पाएको औषधि सही तरिकाले खान नजानेर/नखाएर स्वास्थ्यमा आउने जटिलताहरू धेरै छन्। नेपालमा झण्डै ६० प्रतिशत नागरिकलाई औषधिको बारेमा सही जानकारी छैन भनिन्छ। आधा जति औषधिहरू सही तरिकाले लेखिँदैन, सही तरिकाले वितरित हुँदैनन्, त्यसैमा पनि आधा औषधिहरू सही तरिकाले प्रयोग हुँदैन। यस्तो स्थितिमा तपाईं हाम्रो शरीरमा रासायनिक तत्त्व औषधिले कस्तो प्रभाव पारेको होला? सोचौँ त तपाईँ हाम्रो शरीरका बारेमा हामीले नसोचे कसले सोचिदिन्छ?
जब बिरामीले आफ्नो उपचारबारे डाक्टरसँग सोध्न सक्दैन, आफूले प्रयोग गर्ने औषधि बारेमा जानकारी राख्दैन, औषधिका राम्रा नराम्रा पाटाहरूबारे प्रश्न गर्दैन, बजारमा अरु पनि विकल्प भएको बेला सस्तो र सर्वसुलभ औषधि लेख्न भन्दैन, जथाभावी भिटामिन तथा खाद्यपुरक लेखेको थाहा पाउँदैन, तबसम्म हामी यस्तै पीडित हुन्छौँ। सामान्य पेट, टाउको तथा मांसपेशीको दुखाई, ज्वरो, रुघाखोकी, लगायत कैयन समस्यामा औषधि आवश्यक नहुन सक्छ, तर पनि हामी निरन्तर आफू खुसी औषधि खाइरहेका छौं, किन?
औषधिले शरीरमा कसरी काम गर्छ, कसरी शरीरबाट निष्कासन हुन्छ, औषधिका सकारात्मक तथा नकारात्मक प्रभावहरू, औषधि-औषधि वा औषधि-खाना बीचका अन्तरक्रियाहरू, औषधि आविष्कार प्रक्रिया र लाग्ने समय, प्रतिजैविक प्रतिरोध लगायत हरेक स्वस्थ रहन चाहनेले जान्नैपर्ने कुराहरू हामीले “औषधिको ज्ञान स्वस्थ ज्यान” पुस्तकमार्फत समाज जागरण गरिरहेका छौं, मैले आफ्नो युट्युब र फेसबुक मार्फतबाट निरन्तर त्यस्ता सामग्रीहरु सम्प्रेषण गरिरहेको छु।
औषधि कम्पनीहरूले आफ्नो औषधि जति सक्यो धेरै बेच्नु छ। यसका लागि उनीहरूले आफ्ना बजार प्रतिनिधि मार्फत डाक्टर, फार्मासिस्ट लगायत हरूलाई प्रभावमा लिन्छन् र सके सम्म धेरै औषधि लेखाउँछन्। कतिपय अवस्थामा बिरामीलाई औषधि नै आवश्यक हुँदैन। अनावश्यक रूपमा धेरै औषधिहरू/भिटामिनहरू लेखिएका छन्। यस्तो अवस्थामा आखिर मारमा पर्ने तपाईँ हामी हो। सहि उपचार र औषधि पाउँला र रोग निको होला भनेर स्वास्थ्य संस्था र चिकित्सक कहाँ जाने तर बिरामीले उल्टै औषधिको गलत प्रभावबाट स्वास्थ्यमा जटिलता भोग्नुपर्यो भने स्थिति कस्तो होला? अधिकांश स्वास्थ्यकर्मीहरू राम्रा पक्कै होलान् तर तपाईँले दिएको निर्देशन सही तरिकाले मान्नुभएन, आफू खुसी जथाभावी औषधि खाने र बीचैमा छोड्ने गर्नुभयो भने यसका प्रभावहरू के होलान्?
औषधि तपाईँ हामीले दैनिक रूपमा खाने सामान्य खाना जस्तो होइन। यो एक शुद्ध रासायनिक तत्त्व हो। यसका शरीरमा अनेक राम्रा, नराम्रा तथा कहिलेकाहीँ अत्यन्तै जटिल ज्यानै लिनसक्ने खालका प्रतिक्रियाहरू हुन्छन्। वर्षौ लगाएर विभिन्न परीक्षणहरू पास गरेर औषधिको आविष्कार हुन्छ र सक्दो धेरैलाई सुरक्षित बनाइएको हुन्छ। तर पनि यसका कैयन साइड इफेक्टहरु हुन्छन्। सामान्य साइड इफेक्ट देखिने बित्तिकै औषधि खान छोडिहाल्नु हुँदैन र सन्चो भयो भन्दैमा बीचैमा पूर्ण डोज नखाई छोड्नु पनि हुँदैन। यसका लागि हरेकलाई औषधिका बारेमा आधारभूत जानकारी हुन जरुरी छ।
तपाईँ हाम्रो गाउँ टोल घर छिमेकमा गैरकानुनी औषधि पसलहरू वा दर्ता नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाहरू त छैनन्? नेपालमा बेच्नै नमिल्ने औषधिहरू बिक्री वितरण भइरहेका त छैनन्? औषधिहरूको दुरुपयोग भएर कतै लागू औषधको रुपमा प्रयोग भइरहेका त छैनन्? चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्ने औषधिहरू समेत खुला रूपमा बिक्री वितरण भएका त छैनन्? जथाभावी एन्टिबायोटिक वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू बिक्री वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू जथाभावी फ्याकिएका त छैनन्? तोकिएको मूल्यभन्दा महँगोमा बेचिएका त छैनन्? यि सबैका बारेमा सम्बन्धित निकायमा तपाईं हामीले उजुरी नगर्ने, समाजलाई जागृत नगर्ने, रूपान्तरणका लागि तपाईँ हामी तयार नहुने हो भने, आखिर कसले गरिदिन्छ?
नेपाल फार्मेसी परिषद्, नर्सिङ काउन्सिल, नेपाल मेडिकल काउन्सिल आदि निकायमा दर्ता नभएका अयोग्य व्यक्तिहरूले सेवा दिइरहेका त छैन? राज्यका निकायहरू लथालिङ्ग हुँदा तपाईँ हामी झन् जागरुक हुन, सम्बन्धित निकायमा उजुरी गर्न र एक सकारात्मक सामाजिक आन्दोलन खडा गर्न जरुरी छ। के तपाईँ यसका लागि तयार हुनुहुन्छ?
माथि उल्लेखित पुस्तकको उद्देश्य, औषधिको बारेमा आधारभूत जानकारी दिनु, औषधिको सही प्रयोग, बिक्री वितरण, सही भण्डारण, औषधि औषधि बीच हुने प्रतिक्रियाहरू, औषधि र खानाबीच हुने प्रतिक्रियाहरू, औषधिको मात्रा र उपचार अवधि, एन्टिमाइक्रोबायल प्रतिरोध, शिशु र गर्भावस्था तथा विशिष्ट शारीरिक अवस्थामा प्रयोग गरिने औषधिहरूको बारे, औषधिका सकारात्मक र नकारात्मक प्रभावहरू, औषधिका सामान्यतया देखिने नकारात्मक प्रभावहरू, औषधिका दुरुपयोगहरू, कस्ता कस्ता औषधि टुक्र्याउन मिल्छ मिल्दैन, खाली पेटमा वा खाना खाएर खाने औषधिहरू, स्वास्थ्य संस्था-स्वास्थ्यकर्मी-बिरामीहरूका काम कर्तव्य र अधिकारहरू, डाक्टरले अनावश्यक औषधि लेखेको कसरी थाहा पाउने, एउटै काम गर्ने महँगोको सट्टा सस्तो औषधि कसरी प्राप्त गर्ने, यदि कुनै गलत अभ्यास भएको भेटिए सम्बन्धित निकायमा उजुरी कसरी गर्ने लगायत अनेक कुराहरूमा उल्लेखित पुस्तकले जानकारी दिने प्रयत्न गरेको छ।
नेपालमा कैयौँ औषधि पसलहरू दर्ता नगरी चलाइएका घटनाहरू सुनिरहन्छन्, कैयौँ अस्पतालहरू बिनादर्ता सञ्चालन भएका घटनाहरू समाचारमा हामी सुनिरहन्छौं। त्यसैले समग्र समाज नै यस विषयमा जागृत हुन जरुरी छ। आआफ्नो ठाउँबाट सक्दो योगदान पुर्याउन जरुरी छ। आउनुहोस् आज हामीसँगै संकल्प लिउन है? मैले कुनै पनि अनियमितता भएको थाहा पाउने बित्तिकै तत्काल सम्बन्धित निकायमा उजुरी गर्छु। पत्रपत्रिका सामाजिक सञ्जालको उपयोग गरी जानकारी गराउँछु।
(लेखक डा. दीर्घ राज जोशी औषधीय रसायन विज्ञानमा विद्यावारिधि प्राप्त तथा भाइरसविरुद्धको औषधि अनुसन्धानमा पोस्टडक्टरल फेलो हुन्। हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकको रूपमा कार्यरत छन्)
सामाग्री श्रोत :
swasthyakhabar

