काठमाडौं – नक्कली औषधि उत्पादन गरेर अनलाइनमार्फत् बिक्री वितरण गरिएको विषयमा औषधि व्यवस्था विभागले छानविन प्रक्रिया अगाडि बढाएको छ।
औषधि व्यवस्था विभागले अवैधरुपमा औषधि बिक्री वितरण गर्दै आएका काठमाडौंको नागार्जुन नगरपालिकामा सञ्चालित औषधि पसलमा छापा मारेको थियो । त्यसक्रममा विभागले मोटोपन घटाउने, मदिराको लत छुटाउने, थाइराइड, यौन क्षमता बढाउनेलगायतका विभिन्न प्रकारका नक्कली औषधि उत्पादन र बिक्री वितरण हुँदै आएको फेला पारेको हो।
विभागले अवैधरुपमा औषधिको बिक्री वितरण गर्ने पसल तत्कालै बन्द गराउनका लागि निर्देशन समेत दिएको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार त्यस्ता धन्दामा संलग्नहरुलाई हाल थुनामा राखिएको छ । त्यसको छानविनका लागि विभागले अनुसन्धान अधिकृत समेत तोकिसकिएको जनाएको छ।
छानबिन गरिसकेपछि मात्रै उनीमाथि कार्वाहीको प्रक्रिया अगाडि बढ्ने महानिर्देशक ढकाल बताउँछन्। ‘अनुमती बिना नक्कली औषधि बिक्रीविरणमा औषधि ऐनका विभिन्न दफामा उल्लेख भए अनुसार एक वा धेरै कारवाही हुने भन्ने छानविन समितीको प्रतिवेदन अनुसार प्रस्ताव गरिन्छ’ ,उनले भने ‘कारवाही के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन’ , ‘त्यसका लागि अनुसन्धान सकिनुपर्ने हुन्छ।’
उनीहरुका बयानका आधारमा विभागले अन्य स्थानमा पनि त्यस्तो धन्दा हुँदै आएको आशंकामा छापा मार्ने कार्यलाई निरन्तरता दिने बताएको छ। हाल नक्कली औषधिको बिक्री वितरण हुँदै आएको आशंकामा औषधि व्यवस्था विभागले नेपालभर अनुगमन कार्य अगाडि बढाइएको विभागले जनाएको छ।
हाल सम्म नेपालमा अनलाइन मार्फत् औषधिको बिक्री वितरण गर्न पाउने प्रावधान छैन। यदि कसैले त्यस्तो कार्य गरेमा त्यो कानुन विपरीत भएको ठहर गरिने छ।औषधी ऐन २०३५ को दफा ३४ अनुसार औषधीको अनुचित प्रयोग वा दुरुपयोग गरेमा, औषधिमा मिसावट गरेमा वा अन्य वस्तुलाई औषधि भनी बिक्री गरेमा जरिवानादेखि जन्मकै सम्मको सजाय हुने व्यवस्था उल्लेख छ।
सामाग्री श्रोत :
swasthyakhabar

