काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) को आयोजनामा आगामी वैशाख २६ गतेदेखि एसियन ई-स्पोर्ट्स च्याम्पियनशिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहकार्य गरी पब्जी मोबाइल गेमको एसियाली प्रतिस्पर्धा हुन लागेको हो ।

तीन दिनसम्म सञ्चालन हुनेछ प्रतियोगितामा नेपालसहित १४ देशका टोलीले प्रतिस्पर्धा गर्ने ईसानका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका पब्जी टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा कुल ५१ टोलीले सहभागिता जनाउने र तीमध्ये नेपालको तर्फबाट डीआरएस गेमिङ नेपाल, होरा ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने ईसानका उपाध्यक्ष हिम विक्रम केसीले जानकारी दिए ।
अनलाइनमार्फत सञ्चालन हुने प्रतियोगितामा कुल पुरस्कार राशि १० लाख रुपैयाँ निर्धारण गरिएको छ । आयोजकका अनुसार शीर्ष ६ स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार प्रदान गरिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:१९
सामाग्री श्रोत :
टेक पाना