टक्सार (भोजपुर)। प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एकसहित नेपालका सात टोलीले सहभागिता जनाउने भएका छन्।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, एलएक्स सिटी मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ।
जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ। भोजपुर नगरपालिका–७, कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने थप रकम सहप्रायोजकहरूबाट संकलन गरिने आयोजक संस्थाले जनाएको छ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए।

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौंले त्रिभुवन आर्मी क्लबलाई ‘पेनाल्टी सुट’मा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो। गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लबखोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल संघको सहभागिता थियो।
सामाग्री श्रोत :