काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन पालना गर्नुपर्ने बताए ।
“डिजिटल प्लेटफर्मको जुन खालको विधेयक संसदमा दर्ता भएको छ, त्यसमा असहमति छ रे । नेपालको कस्तो खालको कानुन बनाउने, कस्तो खालको संविधान बनाउने भनेर मेटाले भन्ने कि हामीले भन्ने ? त्यो घमण्ड राखेर बस्ने हो भने प्रतिबन्ध लाग्छ । होइन, हामी चल्छौँ भन्ने हो भने दर्ता हुन आउनुपर्छ,” मन्त्री गुरुङले भने ।
सञ्चार मन्त्रालयले यसअघि चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै एक महिनाभित्र दर्ता हुन सामाजिक सञ्जाल कम्पनीहरूलाई आह्वान गरेको थियो । उक्त म्याद आउँदो आइतबार सकिँदैछ ।

‘एक महिना पुग्न दुई तीन दिन बाँकी छ । कोही आउँदैन,’ गुरुङले भने ।
उनले सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्न नभई नियमनका लागि ल्याइएको दोहोर्याए ।
मन्त्री गुरुङले भनेको कुरा उनकै शब्दमा
“…जसले जे लेखे पनि भएको छ । आईडी ढाँटेर, फेक आईडी बनाएर मनपरी लेखिराछन् । सामाजिक सद्भाव भड्काइरहेका छन् । जातीय सद्भाव टुक्राइरहेका छन् । धार्मिक सहिष्णुता भत्काइरहेका छन् । पहिले पनि हामीले तीन महिनाको सूचना जारी गरेका थियौँ । दर्ता गर्न आउ भनी । अहिले (पछिल्लो सूचना अनुसार) एक महिनाको म्याद सकिन २-३ दिन बाँकी छ । कोही आउँदैन । मेटा जसले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम चलाउँछ, त्यो अहिलेसम्म दर्ता हुन किन आउँदैन ? नेपाल सरकारलाई नै टेर्दैन उसले । तेरो कुल जीडीपीभन्दा हाम्रो जीडीपी बढी । तेरो वार्षिक बजेटभन्दा हाम्रो धेरै गुणा बढी भन्ने अहंकार, घमण्ड छ । डिजिटल प्लेटफर्मको जुन खालको विधेयक संसदमा दर्ता भएको छ, त्यसमा असहमति छ रे । नेपालको कस्तो खालको कानुन बनाउने, कस्तो खालको संविधान बनाउने भनेर मेटाले भन्ने कि हामीले भन्ने ? त्यो घमण्ड राखेर बस्ने हो भने प्रतिबन्ध लाग्छ । होइन, हामी चल्छौँ भन्ने हो भने दर्ता हुन आउनुपर्छ ।”
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १८:२४
सामाग्री श्रोत :
टेक पाना