काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही २०८२ साल वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना झुटो भएको स्पष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बोर्डले निर्धारित समयमै परीक्षा सञ्चालन हुने र नक्कली सूचनाबाट सतर्क रहन आग्रह गरेको हो ।

परीक्षा स्थगितसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै बोर्डले यस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान्ड हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डको वेबसाइट www.neb.gov.np बाट मात्र सार्वजनिक हुने बोर्डले जनाएको छ ।
“बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना