
धनगढी । अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन्। गत असारमा मामा नाता पर्नेबाट भारतको सुरतमा बलात्कृत भएकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी हुन्।
उनी बलात्कृत भएको गत फागुन महिनामा मात्रै थाहा भएको थियो। त्यतिबेला उनको गर्भ २५ सातामाथिको रहेको पुष्टि भएको थियो। बालिकाले २९ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी हुन्।
भारतबाट केही महिनाअघि घर फर्किएका अभिभावकले छोरीको पेट ठूलो देखेपछि गत फागुन २ गते बयालपाटा अस्पतालमा जाँचका लागि लगेका थिए। सोही क्रममा उनको भेटमा २५ सातामाथिको गर्भ रहेको पत्ता लागेको हो।
अभिभावकलाई बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामले २५ सातामाथिको गर्भपतन गराउन नसक्ने बताएपछि बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कैलालीले हेर्ने गरी सुरक्षित आवास गृहमा राखिएको थियो।

बलात्कारका आरोपित भने अहिलेसम्म फरार अवस्थामा रहेका छन्। झण्डै ५० वर्षीय आरोपितविरुद्ध अछाम प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता छ।

प्रहरीमा जाहेरी दिएको दुई महिना बित्दा पनि अरोपित पक्राउ परेका छैनन्। जिल्ला प्रहरी कार्यालय अछाम भने आरोपित पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको बताएको छ।
सामाग्री श्रोत :
५० वर्षीय पुरुषबाट बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी














