काठमाडौँ । अवरुद्ध भएको चार घण्टापछि मात्र नेपाल सरकारका वेबसाइटहरू सञ्चालनमा आएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) को विद्युत् प्रणालीमा समस्या आउँदा बिहीबार बिहान ८ बजेदेखि नै सरकारका महत्त्वपूर्ण वेबसाइटहरू खुल्न छोडेका थिए ।

केन्द्रले आफ्नो विद्युत् प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्विच (एटीएस) मा समस्या सिर्जना हुँदा विद्युत् आपूर्तिमा व्यवधान आएको उल्लेख गरेको छ । त्यसको मर्मत गर्न भन्दै बिहान ८ बजेदेखि करिब २ घण्टाका लागि सेवा अवरुद्ध हुने उल्लेख गरिएको भए पनि करिब १२ः३० बजेतिर मात्र वेबसाइटहरू खुल्न थालेका हुन् ।
‘अप’ गर्दा डीएनएसमा लोड पर्ने भएकाले केही साइटहरूमा अझै समस्या रहेको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले बताए । “अब क्रमशः सबै साइटहरू नियमित रूपमा सञ्चालनमा आउँछन्,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १३:१

सामाग्री श्रोत :
टेक पाना