काठमाडौँ । चीनमा अब स्मार्ट ड्राइभिङ र स्वचालित ड्राइभिङ भन्ने शब्दावलीहरू प्रयोगमा रोक लगाइने भएको छ । रोयटर्समा प्रकाशित एक समाचारका अनुसार चीनका गाडी निर्माता कम्पनीहरूले आफ्नो गाडीको विज्ञापन गर्दा उल्लिखित शब्दहरू प्रयोग गर्न नपाउने भएका हुन् ।

बुधबार बसेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र गाडी निर्माता कम्पनीहरूबिचको बैठकमा मन्त्रालयले यो नियम अनिवार्य रूपमा लागु गरिने जानकारी दिएको हो ।
एक महिना अगाडी साओमीको सबैभन्दा बढी बिक्री भएको एसयू सेमेन सेडान कारको ज्यान जाने दुर्घटनापछि चीन सरकारले सवारी सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राख्दै नियमहरूमा कडाइ गर्ने निर्णय लिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार, उक्त गाडी चालकले ‘एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम’ (ADAS) लाई गाडीको नियन्त्रण दिएको केही सेकेन्डमै ९७ किलोमिटर प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएर सो गाडीमा आगलागी भएको थियो ।
चीनको उद्योग मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै फेब्रुअरीमा नै प्रकाशित भएको नयाँ नियमको बारेमा गाडी निर्माता कम्पनीहरूलाई स्पष्ट रूपमा जानकारी दिइएको पुष्टि गरेको छ । नयाँ नियमअनुसार, गाडी निर्माता कम्पनीहरूले ग्राहकलाई पहिले नै वितरण गरिसकेका गाडीहरूमा अनुमति बिना टाढाबाट सफ्टवेयर अपडेटमार्फत एडीएएस प्रणाली परीक्षण र सुधार गर्न पाउने छैनन् । अब, त्यस्ता प्रविधि प्रयोगमा ल्याउनु अघि पर्याप्त परीक्षण गरी विश्वसनीयता प्रमाणित गरी सरकारी स्वीकृति प्राप्त गर्नुपर्नेछ ।

गाडी निर्माता कम्पनीहरूले स्मार्ट ड्राइभिङ तथा एडीएएस प्रविधिलाई सवारी बिक्रीका लागि प्रमुख आकर्षणको रूपमा देखाउने गरेका छन् । यस्तै फिचरलाई लिएर कम्पनीहरूले गाडीको मूल्य समेत निर्धारण गर्ने गरेका छन् ।
यस्ता प्रवृत्तिलाई रोक्न चिनियाँ नियामकहरू विद्युतीय गाडीमा उपलब्ध हुने प्रविधिमा कडाइ गरिरहेका छन्, किनभने यो क्षेत्र अपेक्षाकृत छिटो वृद्धि भइरहेको छ । यसका साथै, ब्याट्री सुरक्षासम्बन्धी नियमहरूमा पनि कडाइ गरिँदैछ । नेपालमा बिक्री हुने अधिकांश विद्युतीय सवारी पनि चीनमै निर्मित हुन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ ११:५
सामाग्री श्रोत :
टेक पाना