काठमाडौँ । गुगलले जेमिनाई एडभान्स्ड प्रयोगकर्ताका लागि भिडिओ बनाउने नयाँ सुविधा सार्वजनिक गरेको छ । बुधबारदेखि प्रयोगमा आएको यस सुविधामार्फत अब प्रयोगकर्ताले टेक्स्ट लेखेर भिडिओ बनाउन सक्ने भएका छन् ।

गुगलले भियो टु (Veo 2) नामक भिडिओ मोडेलमार्फत यो सेवा सुरु गरेको हो । जेमिनाईमा प्रयोगकर्ताले आफूले चाहेको दृश्य लेखेर भिडिओ बनाउन सक्नेछन् ।
कम्पनीले आफ्नो ब्लगमा बताए अनुसार यो मोडेलले ७२० पिक्सेल रेजोलुसनसहित ८ सेकेन्ड लामो भिडिओ तयार पार्नेछ । प्रयोगकर्ताले महिना अनुसार सीमित भिडिओ बनाउन पाउनेछन् ।
भिडिओ बनाउन प्रयोगकर्ताले जेमिनाईको मोडेल ड्रपडाउनबाट ‘Veo 2’ छान्नुपर्नेछ । त्यसपछि मनपर्ने दृश्यबारे प्रम्प्ट लेख्न सकिनेछ । जति विस्तृत विवरण लेखिन्छ, भिडिओ उति नै उत्कृष्ट र चाहेजस्तै बन्ने कम्पनीको दाबी छ ।

यही अवसरमा गुगल ल्याब्सले ‘Whisk’ नामक अर्को सुविधा समेत सार्वजनिक गरेको छ । यस सुविधाबाट फोटो तथा टेक्स्ट लेखेर भिडिओ बनाउन सकिनेछ । यो सेवा अहिले ६० भन्दा बढी देशमा सुरु गरिएको छ ।
भिडिओ सुरक्षित बनाउने उद्देश्यले गुगलले ‘SynthID’ नामक डिजिटल वाटरमार्क समेत राखेको छ । जसले भिडिओ एआईबाट बनाइएको हो भन्ने प्रमाण दिन्छ ।
भिडिओ बनाउने यो सुविधा गुगल वन एआई प्रिमियम सदस्यता लिएका प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुने बताइएको छ ।
अनलाइनमार्फत यो सुविधा यहाँ र यहाँ प्राप्त गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १२:२७
सामाग्री श्रोत :
टेक पाना