काठमाडौं । स्मार्टफोन ब्रान्ड मोटोरोलाले आफ्नो नयाँ मोडेल ‘मोटो जी ०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । केही समयअघि मात्र विश्व बजारमा सार्वजनिक भएको यो फोन नेपालमा मोटोरोलाको आधिकारिक बिक्रेता सीजी मोबाइल्सले ‘मस्त छ है’ ट्यागलाइनसहित भित्र्याएको हो ।

सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले यो फोन ल्याएको जानकारी दिएको छ । एन्ड्रोइड १५ मा आधारित फोनमा मिडियाटेक हेलियो जी८१ एक्सट्रिम प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीका अनुसार एन्ड्रोइड १५ मा आधारित इन्ट्री लेभलको यो नै पहिलो स्मार्टफोन हो ।
फोनमा ९० हर्ज रिफ्रेस रेटयुक्त आईपीएस एलसीडी डिस्प्ले छ भने स्क्रिनको सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास ३ जडान गरिएको छ ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । साथै, ५२०० एमएएच ब्याट्री रहेको यो फोन लामो समयसम्म चार्ज टिक्ने कम्पनीको दाबी छ ।

साउण्ड क्वालिटीलाई उत्कृष्ट बनाउन डल्बी एटमसयुक्त ड्युल स्टेरियो स्पिकर प्रयोग गरिएको छ । साथै, फिङ्गरप्रिन्ट सेन्सर सुविधा पनि फोनमा उपलब्ध छ ।
नेपालमा यो फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको छ । प्लम रेड र फरेस्ट ग्रिन गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
विभिन्न अनलाइन तथा अफलाइन स्टोरमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १३:४५
सामाग्री श्रोत :
टेक पाना