सर्लाही- सर्लाहीको बरथवामा रहेको गोल्डेन अस्पतालमा बिरामी पक्ष र अस्पतालबीच विवाद भएपछि त्यहाँ पुगेका मुख्यमन्त्री सतिशकुमार सिंहले ११ वटा अस्पताल अबैध रुपमा चलेको पाएका छन्। सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सञचालित सबै निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको उनले बताएका छन्। बरहथवा बजारका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अवैध रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन्। मापदण्ड विपरीत रहेका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र दर्ता एवं अन्य प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए।मुख्यमन्त्री सिंहले यसअघि मधेशका विभिन्न सहरका अस्पताल अनुगमनको क्रम बढाएका छन्। धेरै निजी अस्पताल मापदण्ड विपरित पाइएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

