२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

सरकारले बढायो ड्रोन दर्ता शुल्क, अब उडाउनु अघि १० डलरको साटो ५० डलर तिर्नुपर्ने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन दर्ता शुल्क बढाएको छ । यसअघि १३ प्रतिशत भ्याटसहित १० डलर शुल्क लिइरहेकोमा प्राधिकरणले नयाँ निर्णय गर्दै त्यस्तो दर्ता शुल्क ५० डलर पुर्‍याएको हो । 

जसमा १३ प्रतिशत भ्याट समेत समावेश छ । यससँगै अब ड्रोन प्रयोगकर्ताहरूले पहिलो पटक आफ्नो ड्रोन दर्ता गराउन ५० अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।

नेपाल मानव रहित विमान (ड्रोन) सङ्घले भने प्राधिकरणको यो निर्णय जायज नभएको भन्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गरेको छ । प्राधिकरणले यो विषयमा सरोकारवालालाई जानकारी नदिई र कुनै परामर्श समेत नलिई एक पक्षीय रूपमा निर्णय लिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएको हो । 

सङ्घका महासचिव प्रविन भट्टराईको नेतृत्वमा सङ्घले नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे र सचिव विनोद प्रकाश सिंहलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । “सरोकारवालाहरूसँग छलफल नै नगरी प्राधिकरणले एक पक्षीय रूपमा ड्रोन दर्ता शुल्क ४०० गुणाले बढाएको छ । ड्रोन प्रविधि अनुसन्धान, उद्यमशीलता र राष्ट्रिय सुरक्षासम्म जोडिएको क्षेत्र हो ।

यसमा लगाइएको अत्यधिक शुल्कले नवप्रवर्तनशील सोच, स्टार्टअप र युवा प्रयासहरूलाई अवरुद्ध गर्न सक्छ,” सङ्घका महासचिव भट्टराइले भने । “ड्रोन प्रवर्धनका लागि आयोजना गरेको नेपाल ड्रोन इकोसिस्टम कार्यक्रमपछि प्राधिकरणले यस्तो निर्णय लिएको हो । यसले स्टार्टअप कम्पनीहरूलाई सिधै निरुत्साहन गर्नेछ ।”

प्राधिकरणले सुरक्षा सुविधाको विषयमा केही नगरेको, तर शुल्क मात्र उठाउने काम गरेको भन्दै सङ्घले आपत्ति जनाएको छ । हाल गृह मन्त्रालयले तयार गरेको ड्रोन उडान सम्बन्धी कार्यविधि २०७५ लाई लिएर प्राधिकरणले ड्रोन गतिविधि नियमन गरिरहेको छ ।

सङ्घले भने यो व्यवस्थापन पनि नागरिक उड्डयन मन्त्रालयबाट नै हुनुपर्ने कुरामा जोड दिएको छ । प्राधिकरणले एक हप्ता अगाडि यो निर्णय लिएको महासचिव भट्टराईको भनाइ छ । नागरिक उड्डयन मन्त्री पाण्डेले छिट्टै नै सङ्घ र प्राधिकरणबिच दुई पक्षीय छलफल गराउने प्रतिबद्धता जाहेर गरेको उनले सुनाए ।  

“उक्त शुल्क वृद्धिको कारण, प्रक्रिया, तथा दीर्घकालीन उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौँ । साथै, यो विषयमा प्रत्यक्ष छलफल गर्नको लागि मन्त्रालयसँग बैठकको समय माग गर्दछौँ । यस्तो नीति निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अनिवार्य हुनुपर्ने विश्वाससहित हामी बैठकका लागि तत्पर छौँ,” ज्ञापनपत्रमा भनिएको छ । 

यो सँगै सङ्घले नेपाली नागरिक र विदेशी नागरिकका लागि एउटै शुल्क दर निर्धारण हुदाँ समान पहुँच र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा बाधा पुर्‍याएको भन्दै यस विषयमा पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

यता प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने ड्रोन गतिविधिलाई व्यवस्थित गर्नका लागि शुल्क बढाउने निर्णय भएको बताए । “केही दिन भयो बोर्डबाट यो निर्णय आएको । यस विषयमा थप केही तयारीहरू गर्नुपर्नेछ । सो सकिएपछि हामी यसलाई औपचारिक रूपमा लागु गर्नेछौँ,” भुलले भने । “ड्रोन प्रयोगकर्तालाई निरुत्साहन गर्नको लागि भन्दा पनि हामीले यो क्षेत्रलाई व्यवस्थापन गर्नका लागि शुल्क बढाउने निर्णय लिएका हौँ ।”

भुलका अनुसार पहिलो पटक दर्ता गराउँदा ५० डलर तिर्नुपर्ने हुन्छ । त्यसपछि हरेक पटक दर्ता नवीकरण गराउँदा भने १० डलर नै लाग्नेछ । यो भन्दा अगाडि ड्रोन दर्ता गराउन र दर्ता नवीकरण दुवैमा १० डलर मात्रै लाग्ने व्यवस्था रहेको थियो ।

“राम्रो नियतले राम्रोसँग ड्रोन सञ्चालन गर्ने व्यक्तिलाई समस्यामा पार्नका लागि भन्दा पनि बदनियत पूर्वक १० डलर तिरेपछि ड्रोन उडाउन पाइ हालिन्छ, तिर्दिउँ भन्ने सोच राख्नेहरूलाई निरुत्साहन गर्न यस्तो निर्णय लिइएको हो,” उनी थप्छन् ।

“यसले कसैलाई गाह्रो पार्ने भन्दा पनि अनावश्यक कामका लागि पनि दर्ता गराउन आउने मान्छेहरूलाई नियन्त्रण गर्छ भन्ने हाम्रो विश्वास हो ।” प्राधिकरण ड्रोन प्रविधिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यता लिएर अगाडि बढेको जिकीर उनले गरे । 

नागरिक उड्डयन प्राधिकरणबाट पनि यो समस्या समाधान नभए प्रधानमन्त्रीको समेत ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाउने सङ्घको योजना छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १७:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट