२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

टेकपाना फ्याक्टचेक: पर्वतकी विष्णुको नभई भारतको नदीमा बगेकी जाजरकोटकी विन्दुको हो भाइरल भिडिओ

 

काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जालमा टिकटक बनाउने क्रममा एक महिलालाई नदीले बगाएको भिडिओ भाइरल भइरहेका छन् । भिडिओमा एक महिला नदीको किनारबाट बिचतिर गइरहेकी देखिन्छिन् । यत्तिकैमा उनी चिप्लिएर नदीमा लड्छिन् र बग्न थाल्छिन् । त्यसपछि एक बालिका “मम्मी” भन्दै आत्तिएर चिच्याउँछिन् । 

भाइरल उक्त भिडिओहरूको अधिकांश स्टाटसमा लेखिएको छ, “कालीगण्डकीमा स्नान गरिसकेपछि भिडिओ बनाउने क्रममा चिप्लिदा पर्वतको महाशीला गाउँपालिका-५ घर भई पोखरा बस्ने ३५ वर्षीय विष्णु पन्त यसरी बगेकी थिइन् ।”

तर टेकपानाले तथ्य जाँच गर्दा उक्त भिडिओ विष्णु पन्तको नभइ जाजरकोटको कुशे गाउँपालिका घर भएकी बिन्दु सिंहको रहेको र उक्त घटना नेपालमा नभई भारतमा घटेको पाइएको छ । 

दाबी 

मङ्गलबारदेखि सामाजिक सञ्जालमा पर्वतकी विष्णु पन्तलाई कालीगण्डकी नदीमा बगाएको भिडिओ दाबी गर्दै सार्वजनिक भएका छन् । मङ्गलबार दिउँसो ४:५२ मा हंश राज नामक फेसबुक पेजमा पर्वतको महाशीलाकी ३५ वर्षीय विष्णु माझीको मृत्यु भएको दाबी गर्दै भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ यो सामाग्री तयार पार्दासम्म पाँच लाख ३३ हजार पटकभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् हंश राजको नामबाट सार्वजनिक भिडिओ र त्यसको आर्काइभ लिङ्क । 

एमपी प्याकुरेल नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले मङ्गलबार दिउँसो २ बजे महाशीला गाउँपालिका ५ की विष्णु पन्तको मृत्यु भएको भन्दै भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओले यो सामाग्री तयार पार्दासम्म १ लाख ६६ हजार भ्युज, पाइसकेको थियो । उक्त भिडिओ र त्यसको आर्काइभ लिङ्क हेर्नुहोस् ।  

पर्वतको महाशीला गाउँपालिकाकी विष्णु पन्तलाई बगाएको दाबी गर्दै फेसबुकमा मात्र नभएर युट्युब र टिकटकमा पनि भिडिओ राखिएका छन् । टिकटकमा राखिएका भिडिओहरू यहाँ यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ । यस्तै युट्युबमा राखिएको भिडिओ हेर्न यहाँ, यहाँ, यहाँ यहाँ क्लिक गर्नुहोस् । 

तथ्यजाँच 

सामाजिक सञ्जालमा दाबी गरिएको जस्तो भाइरल भिडिओ महाशीला गाउँपालिकाकी विष्णु पन्तको हो वा होइन भनेर टेकपानाले तथ्यजाँच गरेको छ । भिडिओको विभिन्न कि-फ्रेमहरू निकालेर भिडिओ कहिले पहिलो पटक राखिएको थियो भनेर खोज्यौँ । यसरी खोजी गर्ने क्रममा उक्त भिडिओ हालसालै सामाजिक सञ्जालमा राखेको पाइयो । 

त्यसपछि भिडिओमा दाबी गरिएको जस्तै पर्वतको महाशीला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष  चन्द्रबहादुर मल्ललाई सम्पर्क गर्‍यौँ । मल्लले आफ्नै वडाकी विष्णु पन्तको मोदी बेनीको त्रिवेणीमा स्नान गर्ने क्रममा ढुङ्गामा चिप्लिएर कालीगण्डकीमा बगेको समाचार साँचो भएको बताए । मङ्गलबार साँझ टेकपानाले सम्पर्क गर्दा उनी पन्तकै अन्तिम दाहसंस्कार सक्काएर घर फर्किँदै थिए ।  

वडाध्यक्ष मल्लका अनुसार दुई छोरासमेत रहेकी पन्त श्रीमानसँगै पोखरा बस्दै आएकी थिइन् । उनी नयाँ वर्षको दिन दिदी र दुई छोराहरूसँग मोदी बेनीमा स्नान गर्न पुगेकी थिइन् । स्नान गरिसकेपछि एउटा ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर नदीमा बगेको मृतकका छोराले आफूलाई जानकारी दिएको उनले सुनाए ।  

उनले मृतकका छोराको भनाई उद्धृत गर्दै भने, “ममीले ढुङ्गा माथि उभिएर फोटो खिच्दै हुनु हुन्थ्यो । फोटो खिच्दा खिच्दै खुट्टा चिप्लिएर ‍लड्नु भयो । मलाई समात्न खोज्दै हुनु हुन्थ्यो । ‍म पनि लड्न खोज्दा ठुली ममीले मलाई तान्नुभयो । ममी बगेर तल पुग्नुभयो । तल पुगेपछि एकछिन त ढुङ्गा समात्नु भएको थियो । अनि त्यसपछि बगेको बग्यै हुनुभयो ।” 

पन्त बगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बलले उनको खोजी कार्य गरेको थियो र सोही दिन उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रवक्ता तथा प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । 

उनका अनुसार शवको पोस्टमार्टम गरेर मङ्गलबार नै परिवारलाई जिम्मा लगाइएको थियो ।  सापकोटाले भने, “उहाँका श्रीमान् योग प्रशिक्षक पनि हुनु हुँदो रहेछ । श्रीमान् श्रीमती नै धर्मकर्ममा बढी नै ध्यान दिने भएकाले विभिन्न तीर्थस्थलमा पुगेर स्नान गर्नुहुँदो रहेछ । उहाँ भिडिओ बनाउन भन्दा पनि धर्मकर्मकै लागि त्यहाँ स्नान गर्न जानुभएको हुनुपर्छ ।”

टेकपानाले मृतक पन्तको बारेमा बुझ्दा वडाध्यक्ष मल्ललाई भाइरल भिडिओ पनि उपलब्ध गराएको थियो । तर, मल्लले भाइरल भिडिओ पन्तको नभएको स्पष्ट पारे । “कालीगण्डकीमा बगेर उहाँको मृत्यु भएको हो, तर भिडिओमा भएकी महिला उहाँ होइन ।” मृतक पन्तलाई चिनेपनि भाइरल भिडिओमा बगेको देखिने महिलालाई भने आफूले चिन्न नसकेको उनले बताए । 

त्यसपछि भाइरल भिडिओ कहाँको हो भनेर खोज्न थाल्यौँ । त्यसै क्रममा फेसबुकमा “रंगदर्पण” नामक फेसबुक पेजले मंगलबार साँझ ६ बजे जाजरकोटको भिडिओलाई पर्वतको भिडिओ भन्दै सार्वजनिक गरेकोमा क्षमा मागेको स्टाटस हालेको भेटियो । उक्त पेजले भाइरल भिडिओ जाजरकोटको कुशे गाउँपालिका वडा नं २ को भएको दाबी गरेको छ । हेर्नुहोस् “रंगदर्पण” को भिडिओ । 

त्यसपछि हामीले जाजरकोटको कुशे गाउँपालिका वडा नं २ का वडाध्यक्ष मानबहादुर सिंहलाई सम्पर्क गर्‍यौँ । वडाध्यक्ष सिंहले भाइरल भिडिओ आफ्नै वडाकी बिन्दु सिंहको रहेको पुष्टि गरे । 

उनले भिडिओमा देखिएकी सिंहको घर र माइतीघर पनि आफ्नै वडामा पर्ने जानकारी दिए । उनले भने, “सामाजिक सञ्जालमा भिडिओ देखेर नै हामीले उहाँको दुर्घटनाबारे थाहा पाएका थियौँ ।”

उनका अनुसार विन्दुका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । उनी श्रीमान्‌सँगै सपरिवार पछिल्लो ५ वर्षदेखि काठमाडौँ बस्दै आएकी थिइन् । एक निजी विद्यालयमा शिक्षकको रूपमा समेत काम गर्थिन् । 

उनका अनुसार सिंहका माइती तर्फका दाजुहरू भारतमा बस्दै आएका छन् । उनी पनि नयाँ वर्षमा आफन्तसँग भेटघाट गर्न भारत पुगेकी थिइन् । 

नयाँ वर्षको दिन उनी ११ वर्षकी छोरीसहित उत्तरकाशीको भागीरथी नदी बग्ने मणिकर्णिका घाटमा घुम्न पुगेकी थिइन् । सोही घाटमा भिडिओ बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् । सिंह बेपत्ता भएको समाचार भारतीय अनलाइन मिडिया पञ्जाब केसरीले पनि लेखेको छ ।  यस्तै सिंहको खोजी कार्य भइरहेको र हालसम्म उनको अवस्थाबारेमा पत्ता लागि नसकेको उल्लेख गरिएको छ । 

दाबी 

पर्वतकी विष्णु पन्तलाई कालीगण्डकी नदीले बगाएको दाबी गर्दै महिला नदीमा चिप्लिएको भिडिओ भाइरल । 

दाबीकर्ता 

हंश राज, एमपी प्याकुरेलसहित फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडिओमा नदीमा बगेकी महिला पर्वतको महाशीला गाउँपालिका वडा नं ५ की विष्णु पन्तको नभई भारतको उत्तरकाशीमा बगेर बेपत्ता भएकी जाजरकोटकी विन्दु सिंहको हो ।

निष्कर्ष

नयाँ वर्षको दिन (सोमबार) पर्वतको मोदीबेनी र भारतको उत्तरकाशीमा गरी दुई महिलाहरू नदीमा बगेका थिए । तर सामाजिक सञ्जाल प्रयोकर्ताले भने भारतमा बगेर बेपत्ता भएकी जाजरकोट कुशे गाउँपालिका वडा नं २ की विन्दु सिंहको भिडिओ राख्दै मोदी बेनीको त्रिवेणीमा बगेर मृत्यु भएकी विष्णु पन्तको भन्दै प्रचार गरेका हुन् ।  

प्रतिक्रिया 

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउन सक्नु हुनेछ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट