काठमाडौं– परोपकार प्रसुति तथा सरुवा रोग अस्पतालमा सिमुलेशन ल्याब सेवाको सुरुवात गरेको । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ल्याब उद्घाटन गर्दै अस्पतालले नेपालकै प्रसुति सेवाको नेतृत्व गर्ने बताए।

‘स्वस्थ बच्चा जन्मिए मात्रै देशका लागि काम गर्न सक्ने अवस्था हुन्छ,’ मन्त्री पौडेलले भने, ‘सातै प्रदेशमा उक्त ल्याब सेवालाई विस्तार गरिन्छ। प्रसुती उपचारका क्षेत्रमा थप बजेट व्यवस्था गरिनेछ।’ प्रसुति सेवा दिने अस्पतालको क्षमता विकास गर्न सके मात्तृ मृत्युदर घटाउन सकिने उनको धारणा थियो । यद्यपि पछिल्लो समय नेपालले मात्तृ मृत्युदरको क्षेत्रमा हांसिल गरेको उपलब्धीको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा भइरहेको उनले बताए।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले चाँडै नै ठुलो संख्यामा जनशक्तिको माग लोकसेवा मार्फत् गर्ने मन्त्री पौडेलको आश्वासन थियो। मन्त्री पौडेलले भने, ‘स्वास्थ्य मन्त्रालयले सुरु गरेको हेलो हेल्थमा प्रसुती रोग अस्पतालका सेवाका बारेमा एकदमै कम गुनासो आउने गरेको छ।’ आगामी दिनमा अस्पतालमा अझै व्यवस्थित हुनेमा मन्त्री पौडेलको विश्वास व्यक्त गरे।
के हो सिमुलेशन ल्याब सेवा, यसका फाइदा के-के छन्?

सिमुलेशन ल्याब एक प्रयोगशाला हो,जसले सिमुलेशनमा आधारित वास्तविक परिदृष्यहरु कल्पना गरी सिकाउने वातावरण सृजना गर्छ। ल्याबले देशैभरका मातृ शिशु उपचारमा काम गर्ने जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता प्रदान गर्नेछ।विभिन्न जिल्लाबाट सिजेरिसेक्सन तालिम, डेलिभरी तालिम,फेमिली तथा प्लानिङ तालिमका लागि आउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई सिमुलेशन ल्याबले फाइदा हुनसक्ने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्।
‘हाल बाहिर सिकाउने तथा सिजेरिसेक्सन र डेलिभरी मात्रै हुन्थ्यो, सिनियर स्वास्थ्यकर्मीको नेतृत्वमा गरिँदै आइएको थियो, यसमा ल्याबमा बिरामीलाई जस्तै गरी सिजेरिसेक्सन तालिम स्वास्थ्यकर्मीले दिइने गरिन्छ’, उनले भने, ‘यस्तो अवस्थामा बिरामाीलाई हुने जोखिम कम हुन्छ जसकारण मातृ मृत्युदर समेत घट्छ।’
जसले विभिन्न स्वास्थ्य संकायका विद्यार्थी जस्तै नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइमा विरामीहरुलाई कुनै जोखिम नपारी वास्तविक जीवनका परिस्थितीजन्य अनुभवहरु मार्फत् आफ्नो क्लिनिकल र निर्णय लिने सीपहरुलाई बलियो बनाउने अवसरहरु प्रदान गर्दछ। ल्याबमा जीवित मानिस नभएपनि मानिसमा हुने हरेक संवेदनासहितको अभ्यास गर्न मिल्ने अवस्था रहन्छ । नेपालमा चिकित्सा क्षेत्रको अन्य विधामा यस प्रकारको अभ्यास सुरु भइसकेको भएपनि प्रसुती क्षेत्रमा भने यो पहिलो पटकको अभ्यास हो।
तालिममा निपूर्ण भइसकेका स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गर्न पाउने भएकोले सेवाको गुणस्तरीयता बढ्न जान्छ। यसले मात्तृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्न र सिमुलेशन प्रयोगशालाको महत्व रहेको छ।
२०१६ साल भदौं १७ गते ४० बेडबाट सुरु भएको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले हाल ४१५ बेडको स्वीकृति पाएको छ।मुलुकको एक मात्रै प्रसुती सेवामा केन्द्रीय अस्पतालको रुपमा काम गरिरहेको तथा बिरामीहरुको सहजताका लागि हाल ४ सय ८९ बेडमा सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक डा अधिकारी बताउँछन्।
हाल अस्पतालले प्रसुती सेवाको रेफरल केन्द्रका रुपमा वार्षिक २२ हजार भन्दा बढी डेलिभरी गराउँदै आएको छ। बिरामीको अत्याधिक चाप रहेको अवस्थामा पुरानो भवनमा रहेको गाइनोकोलोजी सेवालाई कुपन्डोलस्थित नयाँ भवनबाट सुरु गरिने उनले बताए। हाल उक्त भवनबाट सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा तथा नर्सिङ बिद्यार्थीहरुलाई छात्रावासको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ