काठमाडौँ । एटी अलर्टको नामबाट फिशिङ लिङ्क पठाएर डिजिटल वालेट ह्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित बुढालाई मङ्गलबार कालिमाटीबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले ‘द अलर्ट’, ‘एटी अलर्ट’नामबाट सर्वसाधारणलाई अकाउन्ट सस्पेन्ड हुन लागेको भन्दै फिशिङ लिङ्क पठाएका थिए । उक्त लिङ्क क्लिक गरेर आफ्नो विवरण राख्ने डिजिटल वालेट प्रयोगकर्ताको अकाउन्टको एक्सेस लिएर ती वालेटमा भएको रकम ‘पशुपति ग्लोबल इनोभेसन प्रालि’को मर्चेन्ट खातामा पठाउँथे ।
यसरी उनले चार हजार बढी इसेवा प्रयोगकर्ताको एक करोड दुई लाख रुपैयाँ बढी चोरी गरेको प्रहरीको आरोप छ । उनीमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय एटी अलर्ट, द अलर्टका नामबाट प्रयोगकर्तालाई फिशिङ लिङ्क पढाउने गरेको भन्दै डिजिटल वालेट कम्पनीले प्रयोगकर्तालाई सचेत गराएका थिए । साइबर ब्युरोले पनि विभिन्न नामबाट एसएमएसमा आउने फिशिङ लिङ्क क्लिक नगर्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।

फिशिङ लिङ्कबाट कसरी डिजिटल वालेटको रकम चोरी हुन्छ भन्ने विषयमा टेकपानाले एउटा लेख नै तयार छ । उक्त लेख पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १६:५७
सामाग्री श्रोत :
टेक पाना