काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले काम गर्न नसकेर राजीनामा दिएको आरोप लगाएका छन् । शुक्रबार बुटवलमा आयोजित पार्टीको जागरणसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।
यस्तै प्रधानमन्त्री ओलीले सरकार आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेकाले प्रदर्शन आवश्यक नहरेको बताए । तर शिक्षकहरूले आफ्ना मात्रै इन्ट्रेस हेरेर नहुने भन्दै राष्ट्रिय हित कसरी हुन्छ राष्ट्रको क्षमता के छ ? त्यो पनि बुझ्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ, मैले अस्ति पनि भनेको आन्दोलनमा गइराख्न आवश्यक थिएन । ऐन पहिलादेखि रोकिएर बसेको छ, त्यसलाई हामी तुरुन्त ल्याउछौं भनेका छौं । उपयुक्त ढंगले ऐन ल्याउछौं, आफ्नामात्रै इन्ट्रेस हेरेर, आफ्ना मात्रै हितहरू हेरेर हुँदैन । राष्ट्रिय हित कसरी हुन्छ राष्ट्रको क्षमता के छ ? राष्ट्रिय अर्थतन्त्रको स्थिति के छ र सरकारले अहिले के गर्न खोजिरहेको छ भन्ने बुझेर मात्रै यस्ता कुराहरुको समाधान खोज्नुपर्छ ।’

उनले भावनामा बगेर समस्याको समाधान नहुने पनि जिकिर गरेका छन् । सरकार हरेक समस्याको समाधान गर्न चाहिरहेको कुरा शिक्षकहरुले पनि बुझ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘तपाईंहरूका पीर-मर्का हटाउन चाहान्छ, तपाईंहरूका समस्या समाधान गर्न चाहन्छ, तपाईंहरूले पनि बुझ्नु पर्यो नि ! त्यसैले म आग्रह गर्न चाहन्छु समस्या छन्, ती समस्या समाधान गर्नको लागि नै अहिलेको सरकार बनेको हो । त्यसैले आन्दोलनमा गइराख्नुपर्ने कुनै आवश्यकता छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ