
नेपालगञ्ज (बाँके)। बाँकेको राप्ती नदीमा डुबेर आज एक युवतीको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनका अनुसार गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो। ‘माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षिकासँगै डुबेका थिए। उनीहरूको सकुशल उद्धार गरिएको छ’, उनले भने।
दिक्षिकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो। मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर हटेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको अतिरिक्त करबाट स्मार्टफोन, कम्प्युटर सहितका उपकरणलाई छुट दिएको हो ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै यी सामानहरूलाई विश्वका अधिकांश देशहरूमा लगाएको १० प्रतिशत कर र चिनियाँ सामानमाथि लगाएको थप करबाट छुट दिने घोषणा गरेको छ ।
ट्रम्प प्रशासनको यस कदमले अमेरिकी प्रविधि कम्पनीहरूले चीनमा निर्मित सामानमा करका कारण ग्याजेटको मूल्य आकासिने डर हटेको छ । छुट पाएका सामानमा स्मार्टफोन, कम्प्युटरसहित अन्य इलेक्ट्रोनिक उपकरण, सेमिकन्डक्टर, सोलार सेल, मेमोरी कार्डलगायत परेका छन् । यी छुटहरू गएको ५ अप्रिलदेखि लागु हुने बीबीसीले जनाएको छ ।
विश्लेषकहरूका अनुसार यदि करको मूल्य उपभोक्तामाथि सरेको भए अमेरिकामा आईफोन र अन्य ग्याजेटको मूल्य तीन गुणासम्म महँगो हुने खतरा थियो । विश्लेषक ड्यान आइभ्सले यो निर्णयलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि तत्कालका लागि ठुलो राहत भनेका छन् ।
यसअघि एप्पलले भारतबाट १५ लाख आईफोन अमेरिकामा ढुवानी गरेको थियो । ट्रम्पको यो निर्णयले अमेरिकी बजारमा इलेक्ट्रोनिक उपकरणको मूल्य नियन्त्रणमा रहने अपेक्षा गरिएको छ ।
एप्पलले आफ्ना अधिकांश आईफोन चीनमै उत्पादन गर्दै आएको र हाल भारत र भियतनामलाई नयाँ उत्पादन केन्द्र बनाउने तयारी गरिरहेको छ । ट्रम्प प्रशासनले अन्य देशहरूलाई ९० दिनका लागि उच्च करबाट छुट दिएको बताइएको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ २३:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– बबरमहलमा शनिबार भएको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको परिचय नखुलेका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौ। ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेको छ। दशरथ रंगशालामा आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले परासिजत गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको हो।
आजको खेलकोे २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलकोे ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे। आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो। ललितपुर साबिक विजेता टोली हो।
लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ। जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्यो। बुटवल तालिकाको पुछारमा छ।
सामाग्री श्रोत :
एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले तीन तहका सरकारबीच समन्वय गरी उद्यम दर्ता र कर तिर्नको लागि एकद्वार प्रणाली लागू गर्न सुझाव दिएको छ । आयोगले तीन तहको सरकारी संरचना भए पनि समन्वय र एकीकृत सूचना प्रणालीको अभावमा व्यवसायीहरूले धेरै झन्झट बेहोर्नुपरेको औँल्याएको छ ।
आयोगले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो । प्रतिवेदनमा तीन तहको आफ्नो क्षेत्र अनुसार रकम उपलब्ध हुनेगरी कर संकलन एकद्वार प्रणालीबाट गरेर पछि कर बाँडफाँट गर्दा व्यवसायीहरूलाई धेरै ठाउँमा कर तिर्नुपर्ने झन्झट कम हुने उल्लेख छ ।
“देशमा आर्थिक क्रियाकलाप र व्यवसाय समग्रमा बढेमा राजस्व संकलन बढी प्रदेश र स्थानीय तहमा आउने राजस्व बाँडफाँडको हिस्सा बढ्ने र संघले दिने वित्तीय समानीकरण अनुदान पनि बढ्ने हुँदा स्थानीय तहले जवरजस्त ढंगले व्यवसायहरूलाई नकारात्मक असर पर्ने गरी करहरू नलगाउने,” प्रतिवेदनमा भनिएको छ ।
आयोगका अनुसार, तीन तहका सरकारबीच समन्वयको अभावमा व्यवसायीहरूलाई कर तिर्न र दर्ता गर्न झन्झट भएको छ । एकद्वार प्रणाली लागु भएमा व्यवसायीहरूले एकै ठाउँबाट कर तिर्न र दर्ता गर्न सक्नेछन् ।
आयोगले स्थानीय तहले जबरजस्त ढंगले व्यवसायहरूलाई नकारात्मक असर पर्ने गरी कर नलगाउन पनि सुझाव दिएको छ । यसो गर्दा व्यवसायिक वातावरण बिग्रिन सक्ने र राजस्व संकलनमा समेत असर पर्ने आयोगको ठहर छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ २२:३९
सामाग्री श्रोत :
टेक पाना
दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो। प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसंगीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ।
आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ। आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासंघले काठमाडौं उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ।
अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा÷आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ। आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन्। साथै, स्थानीय कलासंस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलन सुरु गरेको दशौँ दिन भयो। महासंघले सरकारले खास कुरा सुनेको छैन भन्ने लागे पनि नआत्तिकन आन्दोलनलाई उचाइमा पुर्याउन साथ, सहयोग र समर्थनका लागि आह्वान गरिरहेको छ।
आज दशौँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, ‘दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र ! भन्ने लाग्न सक्छ, नआत्तिनुस् उपलब्धि हुने क्रममा छ। हामीले यहाँ आए र कराएको सरकारले हेरेको छ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्, तपाईंहरूको मेहनत निरर्थक हुँदैन। आन्दोलन लम्बिन सक्छ तर थाक्ने र भाग्ने नगर्नुस्।’
धनुषाका शिक्षक सञ्जीवकुमार यादवले पेसागत हकहितका लागि बाध्यताले आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिए। उनले भने, ‘हामीहरूको एउटै माग मुद्दा भनेको सरकार र शिक्षक संगठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो।’
आन्दोलनमा सहभागी काभ्रेका शिक्षक कृष्णप्रसाद उप्रेतीले नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको प्रतिक्रिया दिए। ‘आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तोहात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ’, उनले भने।
शिक्षक महासंघ खोलुखुम्बुका अध्यक्ष डण्डीकुमार खतिवडाले सरकारसँग विसं २०८० असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाए। उनले भने, ‘अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आएकाले यस पटक उधारो नभई परिणाम हात पारेर मात्र फर्कने प्रण गरेका छौँ।’
शान्तिपूर्ण भनिए पनि काठमाडौंको मूल सडकमै आन्दोलन गरिएकाले राजधानीको यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा भने दिनहुँ समस्या भइरहेको छ। साथै, सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ।
आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन्।
सामाग्री श्रोत :
शिक्षक आन्दोलनः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण विवरण आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा निःशुल्क सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, सेवा प्राप्त गर्ने स्थान र आवश्यक कागजातको विस्तृत जानकारी उपलब्ध गराएको हो ।
सरकारले आधारभूत उपचार सेवाका साथै मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र जलन उपचार जस्ता जटिल रोगहरूको उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यी सेवाहरू प्राप्त गर्न आवश्यक कागजात र सेवा उपलब्ध हुने स्थानको जानकारी वेबसाइटमा राखिएको मन्त्रालयले जनाएको छ ।
“नागरिकले प्राप्त गर्ने उपचार सेवा सबैको पहुँच र जानकारीमा होस् भन्ने हाम्रो चाहना हो,” स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने, “सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुनेगरी वेबसाइटमा सार्वजनिक गरेका छौं ।”
यसअघि मन्त्री पौडेलले संघीय अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा शुल्क सम्बन्धी विवरण वेबसाइट र अस्पतालमा सबैले देख्ने गरी राख्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार अधिकांश अस्पतालहरूले यस्तो विवरण वेबसाइटमा राखेका छन् ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ २१:०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताले दिवंगत पत्रकार सुरेश रजकका परिवारलाई भेट गरेका छन् । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनको फोटो/भिडियो खिच्ने क्रममा रजकको जलेर मृत्यु भएको थियो ।
रजकको निवास ताहाचलमा अध्यक्ष लिङदेनसहित बागमती प्रदेशका सभामुख भुवन पाठकलगायतको टोली पुगेको थियो ।
अध्यक्ष लिङदेनले पार्टीको बैठकबाटै घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने निर्णय गरेको बताए । संसद् र सडकबाट समेत यो विषय उठाइरहेको र निरन्तर उठाइरहने उनको भनाइ थियो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रजकका परिवारले सहिद घोषणा गर्नुपर्ने माग राखेको जानकारी गराएका छन् । ‘सुरेशका परिवारले उनलाई सहिद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने कुरा उठाएको छ,’ उनले उल्लेख गरेका छन् ।
चैत १५ मा नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतले नेतृत्व गरेको राजावादी प्रदर्शनकारीले तीनकुनेको घरमा आगो लगाउँदा एभीन्युज टीभीका पत्रकार रजकको त्यही जलेर मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनले पनि ज्यान गुमाएका थिए । पत्रकार रजकले घरभित्रबाट प्रदर्शनको फोटो/भिडियो खिचिरहेका बेला बाहिरबाट घरमा आगो लगाइएको थियो ।
उक्त घटनापछि सुवेदीलाई प्रहरीले घरबाट निस्किन दिएको छैन भने प्रसाईंलाई भारतबाट पक्राउ गरेर ल्याइएको छ । प्रदर्शनमा नेतृत्व गर्ने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई प्रहरीले चैत १५ मा नै पक्राउ गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
तानसेन (पाल्पा)। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताएका हुन्।
अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए। ‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ। अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउछौँ। त्यसको तयारीमा सरकार लागिरहेको छ’, उनले भने।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए। यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो।
फरक प्रसंगमा अर्थमन्त्री पौडेले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताए। उनले भने, ‘बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे।
सामाग्री श्रोत :
अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल