
काठमाडौं – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ।
शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित हासिल गरेको हो।
चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको छ।
कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ४४ रन बनाए। क्विन्टन डिककले २३ रन बनाए। अजिन्क्या रहाने २० तथा रिंकु सिंह १५ रनमा अविजित रहे। चेन्नईका अन्शुल कमबोज र नूर अहमदले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो।

चेन्नईका शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।
राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रनमा आउट हुँदा अन्य ब्याटर क्रिजमा जम्न सकेनन्। कोलकाताका सुनील नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्रै १३ रन खर्चिए।
हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीको नाममा समान एक विकेट रह्यो।
यस जितपछि ६ खेलमा ६ अंक भएको कोलकाता अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने ६ खेलमा २ अंक मात्र भएको चेन्नई नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ


















