२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

वडा अध्यक्षलाई पोलमा बाँधेर बनाइएको टिकटक भाइरल, के हो वास्तविकता ?

काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा वडा अध्यक्षको लवजलाई मिमिक्री गरिएको छ । भिडिओमा वडा अध्यक्ष बनेका पात्र र अन्तर्वार्ता लिने व्यक्ति देखिन्छन् ।

अन्तर्वार्ताकारले वडा अध्यक्षलाई विभिन्न आरोप लगाउँछन् । तर वडा अध्यक्षको भूमिकामा रहेका व्यक्ति भने शालीन भएर वास्तविकता बोलिरहेको जस्तो देखिन्छन् । उनको लवज, बोल्ने शैली, उनले दिने जवाफलाई लिएर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ वास्तविक नै ठानेका छन् । तर, अन्तर्वार्ता लिने व्यक्ति गौरव जोशीले ती भिडिओ व्यङ्ग्यात्मक भएको प्रष्टीकरण दिँदै आएका छन् ।

वडा अध्यक्ष पात्रसँग भएको अन्तर्वार्ताको एउटा क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा पत्रकारको भूमिकामा रहेका व्यक्ति सोध्छन्, “तपाईं साँच्चिकै जनप्रतिनिधि हो ?”

वडा अध्यक्ष पात्र जवाफ दिन्छन्, “वडा अध्यक्ष हो । जनप्रतिनिधि नाइँ अँ । वडा अध्यक्ष हुँ । (जनप्रतिनिधि होइन । वडा अध्यक्ष हुँ ।)”

पत्रकार भूमिकाका व्यक्तिः वडा अध्यक्षको मतलब के हुन्छ ?

वडा अध्यक्ष पात्रः वडामा जान्या । साइन अर्न्या । (वडामा जाने अनि साइन गर्ने)

पत्रकार भूमिकाका व्यक्तिः जनतालाई प्रष्ट रूपमा बताउनुहोस् कि तपाईं निर्वाचित भएर वडा अध्यक्ष हुनुभएको हो ?

वडा अध्यक्ष पात्रः चुनावमा ब ? चुनावमा भयौं अँ । साइन गद्या अँ । उनार कागजमा ।

यही अडिओ प्रयोग भएको अर्को एक क्लिप अहिले भाइरल भइरहेको छ । भिडिओमा एक वृद्ध पुरुष पोलमा बाँधिएको देखिन्छन् । सो भिडिओमा माथि उल्लेख भएको अडिओ राखिएको छ । भाइरल भइरहेको सो भिडिओमा ती व्यक्ति वडा अध्यक्ष भएको दाबी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्सपेक्टर लालबहादुर सुनारले बिजुलीको पोलमा बाँधिएको देखिने व्यक्ति वडा अध्यक्ष नै भएको बताए ।

“दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुलबहादुर कार्की हुनुहुन्छ उहाँ,” इन्सपेक्टर सुनारले टेकपानासँग भने, “२६ चैत राति ३–४ जनाले बाँधेर भिडिओ बनाएका रहेछन् । त्यो भिडिओ उनीहरूले कतै शेयर गरे । अनि त्यही भिडिओमा टिकटकको अडियो राखेर भाइरल गरियो ।”

वडा अध्यक्ष कार्कीले २७ चैतमा कार्यालयमा गएर बाँधेर कुटपिट गर्नेहरू विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा घटनामा संलग्न तीन जना पक्राउ परेको इन्सपेक्टर सुनारले जानकारी दिए ।

पक्राउ पर्नेमा स्थानीय ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल र १९ वर्षीय विशाल खड्का रहेका छन् । अर्का एक जना भने फरार छन् ।

भाइरल भइरहेको भिडिओमा वडा अध्यक्ष रातको समयमा परस्त्रीसँग बसेकाले स्थानीयले फेला पारेको र उनलाई सबक सिकाउन पोलमा बाँधेको दाबी गरिएको छ । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १६:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट