काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्नो नयाँ शाखा खोल्ने भएको छ । भोलि (चैत २९) मा एक समारोहका माझ कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले यस केन्द्रको उद्घाटन गर्ने भएका छन् ।

यसलाई नास्टले सूचना तथा सञ्चार प्रविधि विशिष्टिकृत अनुसन्धान केन्द्र नाम दिएको छ । नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालका अनुसार यो केन्द्र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अनुसन्धानमा केन्द्रित रहनेछ । केन्द्रमा अनुसन्धानकर्ता तथा कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढिसकेको उनले बताए ।
यस शाखाको व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारको सहभागिता रहने डा. ढकालले बताए । नेपाल सरकारको समेत आर्थिक सहयोगमा स्थापना भएको यो केन्द्रले कर्णाली प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने नास्टको अपेक्षा छ ।
यससँगै नास्टले सातै प्रदेशमा शाखा विस्तारको काम पूरा गरेको छ । यसअघि नास्टले सुदूरपश्चिमको महेन्द्रनगर, बागमतीको भरतपुर, मधेशको महोत्तरी, गण्डकीको कास्की, लुम्बिनीको दाङ र कोशीको धरानमा शाखा स्थापना गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १४:४०
सामाग्री श्रोत :
टेक पाना