काठमाडौँ । सुनसरीस्थित डिभिजन वन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘#१८०० ह्याकर (#1800 HACKER) भनेर चिनाउने उक्त समूहले हालै डिभिजन वन कार्यालयको वेबसाइट (dfosunsari.koshi.gov.np/) ह्याक गरी त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली नाचिरहेको एआई निर्मित भिडिओ र अश्लील गीतसहितको अडिओ र विभिन्न आपत्तिजनक सन्देश पोस्ट गरेको हो ।

वेबसाइटको मुख्य पेज खोल्दा ‘NEPAL ZINDABAD’, ‘1800 HACKER FUCKED YOUR SITE, DEAR ADMIN $’, ‘MAFIYA OG GANG | WAH WAH’ जस्ता टेक्स्ट देखिन्छ । ह्याकरले वेबसाइटको कमजोर सुरक्षा प्रणालीप्रति व्यङ्ग्य गर्दै ‘Don’t Hate Me Hate Your Security!’ लेखेको छ ।
साथै साइबरस्पेसमा बदला लिने आशयको धम्कीपूर्ण सन्देश राखिएको छ ।
सामान्य सरकारी सूचना र जानकारी हुनुपर्ने वेबसाइटमा प्रधानमन्त्री ओली नाचिरहेको एआई-सिर्जित भिडिओ र अश्लील शैलीको गीत देखेपछि प्रयोगकर्ताहरू अन्योलमा परेका छन् ।

यस घटनाबारे डिभिजन वन कार्यालय सुनसरीका एक अधिकारीले भर्खरै जानकारी पाएको बताएका छन् । उनले कार्यालयसँग वेबसाइट सुरक्षाका लागि पर्याप्त जनशक्ति नरहेको बताउँदै ह्याकिङको विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको र वेबसाइटलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास जारी रहेको सुनाए ।
पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १४:३
सामाग्री श्रोत :
टेक पाना