काठमाडौँ । एप्पलले संयुक्त राज्य अमेरिकामा आईफोन उत्पादन गरेको खण्डमा मूल्य निकै बढ्न सक्ने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वभर अन्धाधुन्ध किसिमले कर लगाएपछि अमेरिकी उपभोक्ताहरूले कपडादेखि इलेक्ट्रोनिक्ससम्मका उत्पादनहरूमा उच्च मूल्यवृद्धि भोग्नुपर्ने जोखिम देखिएको हो ।

एक प्रमुख प्राविधिक विश्लेषकले आईफोन अमेरिकामा बनाइएमा मूल्य लगभग तीन हजार ५०० अमेरिकी डलर (करिब ४ लाख ८५ हजार रुपैयाँ) सम्म पुग्न सक्ने चेतावनी दिएका छन् । वेडबुश सेक्युरिटिजका प्राविधिक अनुसन्धान प्रमुख ड्यान आइभ्सले सीएनएनसँगको कुराकानीमा अमेरिकामा निर्मित आईफोनको मूल्य हालको मूल्य (एक हजार डलर) भन्दा तीन गुणा बढी हुन सक्ने बताएका छन् ।
यसका लागि एसियामा रहेको उच्च जटिल उत्पादन इकोसिस्टमलाई अमेरिकामा स्थापित गर्नुपर्ने छ । उनका अनुसार एप्पललाई आफ्नो आपूर्ति शृङ्खलाको १० प्रतिशत मात्र अमेरिकामा सार्नकै लागि पनि लगभग ३० अर्ब अमेरिकी डलर (करिब ४१ खर्ब ५२ अर्ब रुपैयाँ) लगानी र तीन वर्षको समय लाग्नेछ ।
आईफोनका पाटपुर्जाहरूको निर्माण र एसेम्बलको काम दशकौँदेखि एसिया क्षेत्रमा हुँदै आएको छ । अमेरिकी कम्पनीहरूले मुख्यतया सफ्टवेयर विकास र उत्पादन डिजाइनमा ध्यान केन्द्रित गरेका छन्, जसले उच्च मुनाफा दिन्छ ।

दोस्रो पल्ट अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको उदय भएदेखि एप्पलको शेयरको मूल्य लगभग २५% ले घटेको छ । किनभने चीन र ताइवानमा निर्भर यसको विस्तारित आपूर्ति शृङ्खलामाथि नयाँ कर नीतिको संशय छ । लगभग ९०% आईफोन चीनमा एसेम्बल हुँदै आएका छन् ।
ताइवानमा मुख्यतया आईफोनमा प्रयोग हुने चिपहरू उत्पादन हुने गरेका छन् भने यसको स्क्रिन प्यानल दक्षिण कोरियाली कम्पनीहरूले आपूर्ति गर्छन् । केही अन्य कम्पोनेन्टहरू पनि चीनमा बन्छन्, र एसेम्बल पनि प्रायः त्यहीँ गरिन्छ ।
गत फेब्रुअरीमा एप्पलले आगामी चार वर्षभित्र अमेरिकामा ५०० अर्ब डलर (६ सय ९२ खर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको थियो । जुन ट्रम्प प्रशासनले चीनमाथि लगाएको ट्यारिफबाट बच्न तथा आफ्नो उत्पादन चीन बाहिर विस्तार गर्ने उसको प्रयास हो ।
आपूर्ति शृङ्खला जहाँ छ, त्यहीँ रहे पनि आईफोनको मूल्य बढ्न सक्ने प्राविधिक विश्लेषकहरूको औँल्याएका छन् । रोसेनब्ल्याट सेक्युरिटिजले जनाए अनुसार यदि एप्पलले उच्च करको सम्पूर्ण लागत ग्राहकमाथि थोपरेको खण्डमा आईफोन ४३% सम्म महँगो हुन सक्छन् ।
काउन्टरपोइन्ट रिसर्चका उपाध्यक्ष नील शाहले आईफोनको मूल्य लगभग ३०% ले बढ्न सक्ने अनुमान गरेका छन् । तर यो कुरा आईफोन कहाँ बनेका छन् भन्ने कुरामा निर्भर हुने हुनको विश्लेषण छ ।
एप्पलले यसअघि चीनबाट भारत र ब्राजिलमा आफ्नो उत्पादन आधार विविधीकरण गर्न खोजीरहेको थियो । कम्पनीले फोनको लागत कम राख्न कर अवरोध कम भएका देशहरूमा मुख्य कम्पोनेन्ट उत्पादन सार्न सक्छ । ट्रम्प प्रशासनले भारतमा २६% कर लगाएको छ । जबकि ब्राजिलमा १०% मात्र कर लगाइएको छ ।
पछिल्लो अध्यावधिक: चैत २८, २०८१ ११:२३
सामाग्री श्रोत :
टेक पाना