काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)ले नियमित गरिरहेको राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको ११औं संस्करण सुरु भएको छ। बिहिबार द सोल्टी होटेल, काठमाडौंमा उक्त सम्मेलनको सुरुवात गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गरेकी हुन्। उद्घाटन सत्रमा बोल्दै मन्त्री भट्टराईले अध्ययन र अनुसन्धान नै नीति निर्माणको आधारशिला रहेको बताइन्। उनले भनिन्, ‘वैज्ञानिक तथ्यमा आधारित नीति र निर्णयले मात्रै विकास दीगो हुन्छ। तथ्य, प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा नीति निर्माण भयो भने प्रभावकारी हुन्छ।’ सम्मेनलनले अनुसन्धानको महत्व उजागर गर्नुका साथै त्यसप्रति लाग्ने प्रेरित गर्ने उनले बताइन्। योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले आफू हरेक सम्मेलनमा सहभागी हुँदै आएको उल्लेख गर्दै अनुसन्धानकर्ताका लागि राम्रो प्लेटफर्म भएको उल्लेख गरे। यसपल्ट जलवायु परिवर्तनलाई विषयमा बनाइएको उनले खुशी प्रकट गरे। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, योजना आयोगका सदस्य डा आरपी बिच्छा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आफ्ना भनाइ राखेका थिए। यसपल्ट सम्मेलनको मुल नारा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको छ। म्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने बताइएको छ। जसमा भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागीता रहनेछ। यस सम्मेलनलाई पारदर्शी बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुतिकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्र्याक्ट हरु प्राप्त भएका छन्, जसमध्ये साइन्टिफिक कमिटीले निर्धारण गरेको मापदण्डको आधारमा ८७ वटा मौखिक प्रस्तुतिकरण (र ११५ वटा पोस्टर प्रस्तुतिकर का लागि छनोट गरिएको बताइएको छ। साथै २६ जना आमन्त्रित र २ जना किनोट स्पिकरले सम्मेलनको मुल नारामा केन्द्रित भएर विशेष प्रस्तुति दिनेछन्।सम्मेलनमा स्वास्थ्य अनुसन्धानका १४ वटा विधाहरुमा उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्डद्वारा सम्मानित गरिने समेत जानकारी दिइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

