काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई लिएर सामाजिक सञ्जालमा ट्रोल र मिम बनाएकोमा आपत्ति जनाएका छन् । चैत १५ गतेको राजावादी आन्दोलनपछि सम्पर्कविहीन प्रसाईंले बुधबार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उक्त भिडिओ सन्देशमा प्रसाईंले आफूलाई ‘जोकर’ र ‘मुर्गा प्रसाईं’ भनेर ट्रोल र मिम बनाएको देख्दा अचम्म लागेको प्रतिक्रिया दिएका छन् । “खास गरेर धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने कुरा, मलाई जोकर बनाउने कुरा आए । दुर्गा प्रसाईं, मुर्गा प्रसाईं भनेर जुन हिसाब किताबका कुराहरू आए । ती देखेर मलाई अचम्म लाग्यो,” उनले भनेका छन् ।
उनले अगाडि थपे, “म साथीहरूलाई के भन्न चाहन्छु भने हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा भनेको पनि एउटा व्यक्तिले नै सुरु गर्ने हो । र, यस्ता अप्ठ्यारा कुराहरू एउटा व्यक्तिबाटै सुरु हुन्छ र एउटा व्यक्तिबाटै विचार हुन्छ ।”
प्रसाईंले चैत १५ गतेको घटनाबारे पनि बोलेका छन् । आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोजे पनि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि कार्यक्रम बिथोलिएको उनको आरोप छ ।

चैत १५ को प्रदर्शनअघि सरकारसँग डटेर लड्ने र कतै नभाग्ने बताएका प्रसाईं घटनापछि एकाएक सम्पर्कविहीन भएका थिए । यही विषयलाई जोडेर उनी फरार भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल र मिमहरू बनेका थिए ।
प्रसाईंको सचिवालयले सार्वजनिक गरेको ८ मिनेट ३० सेकेन्डको भिडिओमा पृष्ठभूमि हटाइएको (ग्रिन स्क्रिन प्रयोग गरिएको) देखिन्छ । यसअघि उनले मन्दिर अगाडि बसेर खिचेको भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौँमै रहेको दाबी गरेका थिए । तर, भिडिओको पृष्ठभूमिमा देखिएको मन्दिर नेपालको नभएको भन्दै विभिन्न सञ्चारमाध्यमहरूले उनी भारत पुगेको हुनसक्ने अड्कल गरेका थिए ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८१ २०:५९
सामाग्री श्रोत :
टेक पाना