काठमाडौँ । एकातिर देशभरका स्कुलहरूमा भर्खरै परीक्षा सकिएर विद्यार्थीहरू छुट्टीको रमाइलोमा व्यस्त छन्, कोही मामाघर त कोही घुमफिरमा । तर पोखराका ११ वर्षीय रायन रवि ढकालको छुट्टी भने अलि फरक छ । उनी खेल्न र रमाइलो गर्न त पक्कै भुल्दैनन् । तर उनको दिनचर्यामा एउटा यस्तो काम थपिएको छ, जसले धेरैलाई अचम्मित पार्न सक्छ- उनी राष्ट्रिय आविष्कार केन्द्रको आईसीटी ल्याबमा ‘इन्टर्न’ गर्दैछन् !

भर्खरै कक्षा ५ को परीक्षा दिएर बसेका यी कलिला प्रोग्रामरले पोखरास्थित राष्ट्रिय आविष्कार केन्द्रको आईसीटी इनोभेसन ल्याबमा इन्टर्नशिप गर्न थालेको ६ महिना भइसक्यो । यो कुनै सामान्य कम्प्युटर कक्षा होइन । यहाँ रायनले आविष्कार केन्द्रकै लागि महत्त्वपूर्ण सफ्टवेयर बनाइरहेका छन् । उनले केन्द्रको खर्च व्यवस्थापन गर्ने ‘एक्सपेन्स ट्र्याकर’ बनाउँदैछन्, एचटीएमएल फाइललाई पीडीएफमा र पीडीएफलाई एचटीएमएलमा बदल्ने टुल बनाइसकेका छन् । अनि वेबसाइटहरूको भित्री इन्जिन (ब्याकइन्ड र कोर लजिक) मा पनि काम गरिरहेका छन् ।
कक्षा १ देखि नै कोडिङ यात्रा
रायनका बुबा डा. रवि ढकाल (जो आफैँ गण्डकी मेडिकल कलेजका एसोसिएट प्रोफेसर तथा हाडजोर्नी विशेषज्ञ हुन्) का अनुसार रायनले कोडिङको दुनियाँमा पाइला टेकेको त कक्षा १ बाटै हो । सुरुमा अरू बच्चा जस्तै युट्युबमा भुलिने रायनलाई बुबा रविले नै कोडिङका सामान्य अनलाइन कक्षातिर डोऱ्याएका थिए ।

एकपटक बाटो देखाएपछि रायन आफैँ यसमा हराउन थाले । कक्षा ३ पुग्दा त उनी आफैँ अनलाइन कोर्स खोज्दै, सिक्दै गर्न थालिसकेका थिए । युडेमी जस्ता प्लेटफर्मका कोर्स भ्याए । युट्युब र अन्य स्रोतबाट ज्ञान बटुले ।
आविष्कार केन्द्रसम्मको यात्रा
छोराको यो अद्भुत प्रतिभा देखेर डा. रविलाई साथीहरूले यत्तिको क्षमतालाई खेर फाल्न नहुने, कुनै प्लेटफर्म दिनुपर्ने सुझाव दिए । अनि करिब ६ महिनाअघि उनी रायनलाई लिएर आविष्कार केन्द्र पुगे । त्यहाँ ५-६ जना विशेषज्ञले रायनको अन्तर्वार्ता लिए र उनको क्षमता देखेर इन्टर्नको रूपमा स्वागत गरे ।
होमवर्क सकेर ल्याबमा काम, क्विजमा पनि अब्बल
अहिले रायन स्कुलको होमवर्क सकेर बचेको समय ल्याबको प्रोजेक्टमा लगाउँछन् । छुट्टीको बेला त उनी ल्याबमै पुगेर सिनियर इञ्जिनियरहरूसँगै काम गर्छन् । छोराको प्रगति देखेर बुबा रवि दंग छन् । भर्खरै माइक्रोसफ्ट एआई फेस्टले आयोजना गरेको क्विजमा २०० जना प्रतिस्पर्धीलाई पछि पार्दै रायन प्रथम भएर ५० डलरको भौचर जितेको खबर सुनाउँदा उनी फुरुङ्ग थिए ।
अभिभावकलाई सन्देश
डा. रवि भन्छन्, “बच्चाहरू भनेको आलो काँचो माटो हुन् । तपाईँहरूले सानोमा जे कुरामा उनीहरूलाई लगाउनुहुन्छ त्यही कुरामा उनीहरूको चासो बढ्दै जान्छ । उनीहरूको दिमाग पनि तेजिलो हुन्छ र जिज्ञासु पनि हुन्छन् । नयाँ कुरा चाडै सिक्न सक्छन् ।” रिल्स र भिडिओ गेममा भुलाउनु भन्दा जीवन उपयोगी सीप सिकाउन अभिभावकले सोच्नुपर्ने उनको सुझाव छ ।
गण्डकी प्रदेश सरकार र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा तीन वर्षअघि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले स्थापना गरेको यो आईसीटी ल्याबले रायन जस्ता प्रतिभाहरूलाई हुर्काएर नेपालमै सूचना प्रविधिको केन्द्र बनाउने र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको युट्युब च्यानलमा सार्वजनिक भिडिओ र डा. रवि ढकालसँग कुराकानीको आधारमा यो सामग्री तयार पारिएको हो ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १८:२५
सामाग्री श्रोत :
टेक पाना